रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतमा इन्धन आपूर्तिको “निरन्तर र अविछिन्न प्रवाह” सुनिश्चित गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नरेन्द्र मोदी नेतृत्वको दिल्लीलाई रुसको तेल खरिद तत्काल रोक्न दवाब दिइरहेका बेला पुटिनको भारत भ्रमणले अन्तर्राष्ट्रिय कूटनीतिक चर्चा फेरि तातिएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा पुटिनले ऊर्जा सहकार्यलाई दुवै देशको दीर्घकालीन हितका रूपमा चित्रित गरे। अमेरिकाले युक्रेन युद्धमा रुसलाई आर्थिक रूपमा सघाएको आरोप लगाउँदै भारतीय तेल आयातमाथि अतिरिक्त २५ प्रतिशत शुल्क लगाएको पृष्ठभूमि पनि यसै भेटघाटसँग जोडिएको छ।
यसबीच पुटिन–मोदी वार्तापूर्व नै दुवै पक्षले महत्वपूर्ण सहकार्य सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। मोदीले सम्झौताले व्यापार, जहाज निर्माण, ध्रुवीय जलमार्गमा भारतीय नाभिक प्रशिक्षण, नयाँ जलमार्गमा लगानी, नागरिक आणविक ऊर्जा तथा महत्वपूर्ण खनिज क्षेत्रमा सहयोग विस्तार हुने बताएका छन्। साथै रूसमा दुई नयाँ भारतीय कन्सुलेट खुल्ने र पर्यटक भिसाका नयाँ योजनाहरु लागू हुने घोषणा गरिएको छ।
प्रेस वक्तव्यमा कुनै ठूलो सैन्य सौदा—जस्तै लडाकु विमान वा रक्षा प्रणालीका ‘मेगा डिल’—घोषणा नभए पनि दुवै नेताले व्यापार वृद्धिलाई केन्द्रमा राख्दै अनेकौं सहकार्य कार्यक्रम अघि सारे। पुटिनले पछिल्लो वर्षमा ६० अर्ब डलरभन्दा माथि रहेको द्विपक्षीय व्यापारलाई आगामी वर्षहरूमा १०० अर्ब डलरसम्म पुर्याउने लक्ष्य दोहोर्याए।
यो उल्लेखनीय छ कि भारत–रूस व्यापारको ठूलो हिस्सा सस्तो मूल्यमा पाइने रूसी कच्चा तेलमै निर्भर छ। अमेरिकाले नयाँ प्रतिबन्धपछि केही भारतीय कम्पनीहरूले रूसी तेल आयात घटाउन थालेका छन्। तर ऊर्जा आपूर्ति निरन्तर राख्नेबारे पुटिनको प्रतिवद्धताले भारत–रूस सम्बन्ध अझै स्थिर रहेको संकेत गरेको छ।
यसैबीच अमेरिकी दवाबका कारण भारत–अमेरिका सम्बन्धमा उत्पन्न चिसोपनलाई चीनका सरकारी सञ्चारमाध्यमहरूले विशेष रूपमा प्रकाश पारेका छन्। चीनका विशेषज्ञहरूको भनाइअनुसार भारतका लागि रूसी ऊर्जा आपूर्ति पूर्ण रूपमा छोड्नु “कठिन” छ, किनकि भारतको ऊर्जा सुरक्षाका लागि रूस अझै अपरिहार्य स्रोत हो। ग्वान्चा र ग्लोबल टाइम्सले उद्धृत गरेका विज्ञहरूले अमेरिका तथा पश्चिमबाट लगाइने प्रतिबन्धले रूस–भारत सम्बन्ध तोड्न नसक्ने दाबी गरेका छन्।
फुदान विश्वविद्यालयका दक्षिण एसिया विज्ञ लिन मिन्वाङका अनुसार पुटिनको भारत यात्रा प्रतीकात्मक रूपमा महत्वपूर्ण छ—२०२२ पछि रूसले उच्चस्तरीय सहकार्य चाहँदै आएको भए पनि भारतले सम्बन्धलाई अत्यन्त मितव्ययी शैलीमा अघि बढाएको थियो। उनका अनुसार “रूस वर्षौँदेखि भारतको विदेश नीतिको ‘स्ट्राटेजिक सुरक्षा जाल’ जस्तै बनेको छ”, तर बदलिँदो विश्व शक्तिसन्तुलनले दुवै मुलुक कहाँसम्म नजिकिँदै जाने हो भन्ने अनिश्चितता भने कायम छ।
पत्रकार सम्मेलनमा दुवै नेताले प्रश्नोत्तर नगरे पनि महत्वपूर्ण नीतिगत संकेत स्पष्ट देखियो। मोदीले युक्रेन युद्धबारे भारत प्रारम्भदेखि नै शान्तिको पक्षमा उभिएको उल्लेख गर्दै दिगो समाधान खोज्ने प्रयासलाई स्वागत गरे। भारत भविष्यमा पनि योगदान दिन तयार रहेको उनले दोहोर्याए।
ऊर्जा सुरक्षाबारे पुटिनले रूस भारतलाई अविच्छिन्न इन्धन पठाइरहन प्रतिबद्ध रहेको बताए। उनले भारतमा निर्माणाधीन ‘फ्ल्यागसिप’ आणविक ऊर्जा परियोजनामा रूसको प्राविधिक तथा वित्तीय सहयोग निरन्तर रहने खुलाए। साथै ‘रूस टुडे (RT)’ टेलिभिजन भारतमा सञ्चालन हुने घोषणा गर्दै पुटिनले यसले “उद्देश्यपूर्ण तथा तथ्यपूर्ण जानकारी” मार्फत भारतीय जनतालाई रूसबारे बुझ्न मद्दत गर्ने बताए।
दुवै नेताले ब्रिक्ससहितका बहुपक्षीय संयन्त्रमार्फत विदेश नीतिमा सहकार्य गर्दै “न्यायपूर्ण” र “बहुध्रुवीय” विश्वव्यवस्था निर्माणमा संयुक्त भूमिकाको पनि प्रतिवद्धता प्रकट गरे।
अमेरिकी शुल्क, रूसी ऊर्जा आपूर्ति, युक्रेनयुद्धको कूटनीति र वैश्विक शक्ति प्रतिस्पर्धाको जटिल पृष्ठभूमिमा सम्पन्न मोदी–पुटिन भेटलाई भारत–रूस सम्बन्ध स्थायित्वतर्फ उन्मुख रहेको संकेतका रूपमा अन्तर्राष्ट्रिय विश्लेषकहरूले हेरिरहेका छन्।
प्रतिक्रिया