विश्वमा बढ्दो द्वन्द्व, युक्रेन–गाजा युद्ध र तीव्र भू–राजनीतिक तनावका कारण सन् २०२४ मा हतियार उद्योगले इतिहासकै सबैभन्दा ठूलो आम्दानी रेकर्ड दर्ज गरेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी)को नयाँ रिपोर्टले देखाएको छ। पहिलो पटक एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्स पनि शीर्ष १०० रक्षा कम्पनीहरूको सूचीमा ७७औँ स्थानमा प्रवेश गरेको उल्लेखनीय तथ्य बाहिर आएको छ।
सिपरीअनुसार विश्वका शीर्ष १०० हतियार तथा रक्षा सेवा प्रदायक कम्पनीहरूको संयुक्त वार्षिक आम्दानी ५.९ प्रतिशतले बढेर ६७९ अर्ब डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो। युक्रेन युद्ध, गाजाको द्वन्द्व, क्षेत्रीय तनाव र सैन्य खर्चमा भएको तीव्र वृद्धि यसको मुख्य कारण मानिएको छ। माग धान्न धेरै कम्पनीहरूले उत्पादन क्षमता विस्तार गरेका छन्, नयाँ संयन्त्र स्थापना गरेका छन् वा प्रतिस्पर्धी कम्पनीहरू अधिग्रहण गरेका छन्।
अमेरिकी कम्पनीहरूको दबदबा यस वर्ष पनि कायम रह्यो—शीर्ष १०० मध्ये ३९ कम्पनी अमेरिकाकै छन्। तिनको संयुक्त राजस्व ३३४ अर्ब डलर पुगेको छ, जसले कुल आम्दानीको आधाभन्दा बढी हिस्सा ओगट्छ। विगतका वर्षझैँ, लकहीड मार्टिन पहिलो, आरटीएक्स दोस्रो र नथ्रोप ग्रुमन तेस्रो स्थानमा रहे।
रूसबाहेक युरोपेली मुलुकहरूको हतियार आम्दानीमा उल्लेख्य १३ प्रतिशत वृद्धि दर्ता भयो। जर्मनीका राइनमेटाल, थिसेनक्रुप, हेनसोल्ड्ट र डिलजस्ता कम्पनीहरूले ३६ प्रतिशतको वृद्धि हासिल गरेर संयुक्त राजस्व करिब १४.९ अर्ब डलर पुर्याए। यीमध्ये डिलले युक्रेनलाई अत्याधुनिक आईआरआईएस–टी हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराएको उल्लेख छ।
रूस–युक्रेन युद्धले दुवै देशका रक्षा उद्योगलाई पुनर्गठित गरेको छ। युक्रेनको सरकारी रक्षा कम्पनीले ४१ प्रतिशत वृद्धि हासिल गर्दा, प्रतिबन्ध र उपकरण अभावका बाबजुद रूसका रोस्टेक र युनाइटेड शिपबिल्डिङ कर्पोरेसनले २३ प्रतिशत वृद्धि गर्दै ३१.२ अर्ब डलर आम्दानी गरे। निर्यात सुस्ताए पनि घरेलु मागले रूसी उत्पादनलाई उकासेको सिपरीको निष्कर्ष छ।
इजरायलका रक्षा उद्योगहरूले गाजा युद्धलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय आलोचना बीच पनि उल्लेखनीय १६ प्रतिशतको वृद्धि दर्ता गरेका छन्। विपरीत रूपमा, चीनको रक्षा उद्योग आन्तरिक तनाब, भ्रष्टाचार मुद्दा र स्थगित ठेक्काका कारण १० प्रतिशतले संकुचित भएको छ। जापान र दक्षिण कोरियामा वृद्धि भए पनि एसिया–ओसियानिया समग्रमा बिक्री १.२ प्रतिशतले घट्दै १३० अर्ब डलरमा झरेको छ।
युरोप हतियार उत्पादनको ‘नयाँ केन्द्र’ बन्दै गएको निष्कर्षसँगै अन्तर्राष्ट्रिय संस्था ग्रिनपिसले युरोपमा पुनःशस्त्रीकरणको तीव्र लहर देखिएको चेतावनी दिएको छ। धेरै महत्त्वपूर्ण खनिज, विशेषतः चीनमा निर्भर ‘रेयर अर्थ’ को अभावले युरोपेली उत्पादन अवरुद्ध हुने जोखिम पनि सिपरीले उल्लेख गरेको छ। विज्ञहरूले विश्वव्यापी रेकर्ड सैन्य खर्चले पृथ्वी गलत दिशातर्फ कुदिरहेको र सुरक्षा–शान्ति यस बाटोबाट सम्भव नहुने चेतावनी दिएका छन्।
यसैबीच, भारत–रुस सम्बन्ध युक्रेन युद्धपछि अभूतपूर्व तनावमा परेको पृष्ठभूमिमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नयाँदिल्ली पुगेका छन्। २०२१ यता उनको यो भारतप्रतिको पहिलो आधिकारिक यात्रा हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रूसी तेल आयात घटाउन कडा दबाब दिँदै ५० प्रतिशतसम्म आयात कर वृद्धि गरेपछि नयाँदिल्ली–मस्को सम्बन्धमा नयाँ संवेदनशीलता थपिएको छ। हालैका तथ्याङ्कले भारतको रूसी तेल खरिद केही घट्दो संकेत देखाए पनि भारत अझै रूसको ठूलो तेल ग्राहककै सूचीमा पर्छ—वार्षिक कच्चा तेल आयातको ३६ प्रतिशतभन्दा बढी रूसबाटै आउँछ।
रक्षा क्षेत्रमा भारत रूसको दीर्घकालीन ग्राहक भए पनि पछिल्ला वर्षहरूमा वैकल्पिक स्रोततर्फ मोडिएको छ। अमेरिका, फ्रान्स, इजरायलका हतियार खरिद बढ्दै गएको र घरेलु उत्पादनसमेत विस्तार हुँदै गएको पृष्ठभूमिमा भारतीय निर्भरता क्रमशः घट्दै गएको तथ्य सिपरीले देखाउँछ—सन् २००९–१३ को ७६ प्रतिशत रूसी भाग सन् २०१९–२३ मा झर्दै ३६ प्रतिशतमा सीमित भएको छ।
एस–४०० हवाई रक्षा प्रणालीका बाँकी दुई युनिट पश्चिमी प्रतिबन्धका कारण झुण्डिएको अवस्थामा रूसले भारतसँग एस–५७ लडाकू विमान सह–उत्पादन प्रस्ताव अघि सार्ने अपेक्षा गरिएको छ। व्यापारमा पनि रूस भारतको चौथो ठूलो साझेदार बनेको छ, तर ९० प्रतिशतभन्दा बढी व्यापार तेल र इन्धनमा केन्द्रित रहँदा आर्थिक असन्तुलन बढेको विश्लेषकहरूको टिप्पणी छ।
युक्रेन युद्धमा भारतले रूसको प्रत्यक्ष आलोचना नगर्ने कूटनीतिक ‘सन्तुलन’ नीति कायम राखिरहेको छ। चीनसँगको भू–राजनीतिक चुनौती, अमेरिकासँगको रणनीतिक साझेदारी र रूससँगको ऐतिहासिक सम्बन्धबीच भारत आफ्नो ‘रणनीतिक स्वतन्त्रता’ जोगाइराख्न प्रयासरत छ।
विश्लेषक प्रवीण डोन्टीका शब्दमा—भारतका लागि रूससँगको साझेदारी केवल परम्परा होइन, दीर्घकालीन रणनीतिक स्वायत्तताको आधार पनि हो, र यही नै भारतको विदेश नीतिको मूल तत्व हो।
प्रतिक्रिया