अमेरिकी प्रतिनिधि सभामा महिनौँदेखि चलिरहेको आन्तरिक विवादपछि आजै चर्चित जफ्री एप्स्टिनसम्बन्धी गोप्य फाइल सार्वजनिक गर्ने प्रस्तावमाथि मतदान हुन सक्ने संकेत देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा यस विधेयकलाई हरियो झण्डा दिएपछि रिपब्लिकन पार्टीभित्र अझै तहल्का मच्चिएको छ।
यस विधेयकलाई रिपब्लिकन सांसद थोमस म्यासी र डेमोक्रेट सांसद रो खन्नाले मिलेर अगाडि बढाउँदै आएका थिए। तर, ट्रम्प र पार्टी नेतृत्वले लामो समयदेखि यसलाई सदनको एजेन्डामा आइपुग्न नदिने कोसिस गर्दै आएका थिए। गत हप्तासम्म राष्ट्रपति कार्यलयका अधिकारीहरूले कोलोराडोकी सांसद लरेन बोएबर्टलाई फाइल सार्वजनिक गर्ने समर्थन फिर्ता लिन दबाब दिएका थिए, तर उनले आफ्नो धारणा बदलेनन्।
ट्रम्पले म्यासीदेखि लिएर मार्जोरी टेलर ग्रीन समेत धेरै रिपब्लिकन सांसदलाई यस मुद्दा उठाएको भन्दै खुलेर आलोचना गरेका थिए। तर, प्रतिनिधि सभामा मतदान पारित हुने निश्चित जस्तै देखिएपछि उनले आफ्नो धारणा पूर्ण रूपमा परिवर्तन गर्दै अब रिपब्लिकनहरूले विधेयक पारित गर्नुपर्ने बताएका छन्।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सेनेटले पनि विधेयक अघि बढाउन सक्ने र पारित भएमा आफूले हस्ताक्षर गर्ने बताए। विधेयक पारित भएमा न्याय विभागलाई ३० दिनभित्र एप्स्टिनसम्बन्धी सबै फाइल सार्वजनिक गर्नुपर्नेछ।
ट्रम्पले यद्यपि फाइल सार्वजनिक नगर्ने चाहना आफूले कहिल्यै राखेको थिएन भन्दै “यो मुद्दाले पार्टीको सफलताबाट ध्यान हटाउन नचाहेको मात्र हो” भने। राष्ट्रपति चाहन्थे भने कानूनी प्रक्रियाबिनै फाइल सार्वजनिक गर्न सक्थे, तर उनले कांग्रेस जे गर्न चाहन्छ, त्यो गर्न दिन्छु भने।
प्रतिनिधि सभामा यो मुद्दा ल्याउन ‘डिस्चार्ज पेटिसन’ नामको विधि प्रयोग गरिएको थियो, जसले नेतृत्वको अनुमतिबिनै कुनै विधेयकलाई मतदानमा ल्याउन बाध्य पार्छ। गत हप्ता एरिजोनाकी नवनिर्वाचित सांसद एडेलिटा ग्रिजाल्वाले २१८औँ हस्ताक्षर गर्दै पिटिसन सफल बनाएकी थिइन्। उनको सपथग्रहण सात हप्ता ढिला भएको थियो, जसलाई डेमोक्रेटहरूले स्पिकर माइक जोन्सनले मतदान रोक्नका लागि गरिएको मनसायका रूपमा आरोप लगाएका थिए।
यसैबीच गत हप्ता हाउस ओभरसाइट समितिमा रहेका केही रिपब्लिकन सदस्यहरूले हजारौँ पृष्ठको नयाँ एप्स्टिन फाइल सार्वजनिक गरे। डेमोक्रेटहरूले तीनवटा इमेल सार्वजनिक गरेपछि समितिका अध्यक्ष जेम्स कोमेरले थप व्यापक कागजात सार्वजनिक गरे, जसले २०१९ मा मृत्यु हुनु अघि एप्स्टिन र ट्रम्पबीचको सम्बन्धबारे नयाँ प्रश्न खडा भएको छ।
मतदानअघि सांसद म्यासी र रो खन्नाले एप्स्टिनका पीडित र परिवारका सदस्यहरूसँग क्यापिटल हिलमा फेरि भेटघाट गर्दै छन्। उनीहरूले यति समयदेखि यसको पारदर्शिता नै दोषीलाई पूर्ण रूपमा जवाफदेही बनाउनको एकमात्र उपाय हो भन्दै आएका छन्।
पीडितहरूले शुक्रबार कांग्रेसलाई लेखेको पत्रमा एप्स्टिन र उनकी दीर्घकालीन सहयोगी घिस्लेन म्याक्सवेलसँग सम्बन्धित सबै फाइल सार्वजनिक गर्न आग्रह गरेका छन्। म्याक्सवेल अहिले टेक्सासको कारागारमा मानव तस्करीको सजाय काटिरहेकी छन्। पत्रमा भनिएको छ—“एप्स्टिन र म्याक्सवेलका अपराधहरूले न्याय प्रणालीको दोहोरो रूप देखाए— जहाँ धनी र शक्तिशाली व्यक्तिहरू सजायबाट उम्कन्छन्।”
प्रतिक्रिया