गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन सरकार निरन्तर सक्रिय रहेको दाबी गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत् विभिन्न समूहहरूले धर्ना, जुलुस र प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधिमा स्वार्थ समूहले घुसपैठ गरी अस्थिरता फैलाउन सक्ने चेतावनी दिएको छ।
सरकार जेन-जी आन्दोलनको भावनालाई आत्मसात् गर्दै आगामी फागुन २१ मा तय भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। त्यहीअनुसार निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत-साधनको व्यवस्था, राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर संवाद भइरहेको जानकारी मन्त्रालयले सार्वजनिक गरेको छ।
विज्ञप्तिमा भनिएको छ “आफ्नो माग राख्दा जनताको मौलिक अधिकार कुण्ठित हुन नदिई, सार्वजनिक र राष्ट्रिय सुरक्षालाई खल्बल्याउने काम नगरी, साम्प्रदायिक सद्भाव तथा राष्ट्रिय हितको प्रवर्द्धनमा सबैले सहयोग पुर्याउन आवश्यक छ।”

यता, काठमाडौँ माइतीघरमा भेला भएका जेन-जी कार्यकर्तामाथि प्रहरीले गरेको पक्राउपछि आन्दोलनकारीहरूले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् जेन-जी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण रूपमा भेला भएका साथीहरूलाई गिरफ्तार गर्नु सरकारको दमनकारी प्रवृत्ति भएको आरोप लगाइन्।
उनले भनिन्, “जेन-जीको बलमा बनेको सरकारले त्यही जेन-जीमाथि दमन गरिरहेको छ। थुनिएका साथीसाथीहरू तुरुन्त रिहा नहुँदा हामी बाध्य भएर नयाँ र कडा कदम चाल्नेछौँ। हामी पछि हट्दैनौँ।”
भोजपुरका सागर तामाङले पनि सरकारले जेन-जी अभियानलाई नै रोक्ने षड्यन्त्र गरिरहेको दाबी गर्दै भने, “हामीलाई एकजुट हुन नदिने प्रयास असफल हुनेछ। हाम्रो माग पूरा नहुँदासम्म आन्दोलन रोकिँदैन।”
नेतृत्व तहमा जेन-जीलाई कमजोर पार्ने र विभाजन गराउने खेल भइरहेको आरोप उनीहरूको छ। उनीहरूका अनुसार— शहीदको बलिदान, घाइतेहरूको पीडा र आन्दोलनको मूल भावना नै प्रतिविम्बित हुने व्यवस्था अबिलम्ब कार्यान्वयन गर्नुपर्नेछ।
सरकार र आन्दोलनकारी बीच पुनः तनाव बढेको सन्देशसहित राजधानीमा राजनीतिक वातावरण फेरि तातिएको छ। दुवै पक्षले ‘एक-अर्काले दमन र असहयोग गरिरहेको’ आरोप लगाइरहेका बेला निर्वाचन नजिकिँदै जाँदा सहमतिका सम्भावना कता पुग्छन् भन्ने जिज्ञासा चुलिएको छ।
प्रतिक्रिया