नेपाली चलचित्र ‘माग्ने राजा’ : निर्देशक ऋषि लामिछानेको नयाँ यात्रा
काठमाडौं । नेपाली चलचित्र उद्योगमा आफ्नो अलग पहिचान बनाएका निर्देशक लामिछाने फेरि दर्शकमाझ नयाँ कृति लिएर आएका छन्। सिनेमा ‘माग्ने राजा’ मार्फत ८ वर्षपछि उनले फेरि पर्दामा नयाँ सपना उतारेका छन्।
निर्देशक लमिछाने नेपाली फिल्म उद्योग र टेलिसिरियल क्षेत्रमा एक सफल र सम्मानित नाम मानिन्छन्। दशकौँदेखि उनी निर्देशनमा सक्रिय रहँदै आएका छन्। चलचित्र होस् वा टेलिसिरियल, उनको निर्देशन शैलीमा सधैं मौलिकपन, सामाजिक यथार्थ र जीवनका गहिरा भावहरू झल्किन्छन्। धेरै लोकप्रिय टेलिसिरियल तथा चलचित्र निर्देशन गरेर दर्शकको मन जितिसकेका उनले अहिले ‘माग्ने राजा’लाई आफ्नो जीवनकै महत्त्वपूर्ण अध्यायका रूपमा प्रस्तुत गरेका छन्।
लामिछाने भन्छन् : “८ वर्षपछि मैले फेरि एउटा सपना पर्दामा उतारेँ। यी वर्षहरूमा मैले धेरै चलचित्र र सिरियल बनाएँ, तपाईंहरूको माया पाएँ, तर ‘माग्ने राजा’ मेरो लागि नयाँ जन्मजस्तै भएको छ। आज मलाई पहिलो फिल्म बनाएको दिनजस्तै छातीमा धड्कन चलेको छ।”
उनले चलचित्र बनाउनको यात्रा सजिलो नभएको पनि उल्लेख गरेका छन्। “कहिले आँसुले अक्षर बगायो, कहिले असफलताले पाइलाहरू रोके, तर विश्वास कहिल्यै मरेन। मलाई विश्वास थियो, कहिले न कहिले तपाईंहरूको मन छोइने कथा फेरि जन्मिन्छ। आज त्यो कथा जन्मिसकेको छ। मैले मेरो परीक्षा दिइसकेको छु, अब रिजल्ट तपाईंहरूको हातमा छ।”
आजदेखि चलचित्र ‘माग्ने राजा’ देशका विभिन्न शहरका हलमा प्रदर्शनमा आएको छ। निर्देशक लामिछानेका अनुसार यो केवल एउटा फिल्म मात्र नभई उनको जीवनका गहिरा मनोभावहरूको प्रतिबिम्ब हो।
“यो फिल्ममा हरेक संवादमा तपाईंहरूको अनुहार भेटिन्छ, हरेक दृश्यमा तपाईंहरूको आशा र मायाको प्रतिविम्ब हुन्छ,” उनले भने।
उनले दर्शकलाई आग्रह गरेका छन् : “अब तपाईंहरूको पालो हो। टिजर र ट्रेलरमा जुन माया दिनुभयो, त्यसरी नै अलिकति कष्ट गरेर हलसम्म पुगिदिनुहोस्। फिल्म हेरिदिनुहोस्। तपाईंहरूको त्यो सानो कष्ट मेरो लागि संसारकै ठूलो खुसी हुनेछ। आफ्ना साथीभाइ र परिवारलाई पनि साथ लिएर हलमा जान प्रेरित गर्नुहोस्। तपाईंहरूको एउटा टिकट, एउटा शब्द र एउटा प्रतिक्रिया नै मेरो लागि संसार बराबर हुनेछ।”
निर्देशक ऋषि लामिछानेलाई विश्वास छ – यदि दर्शकको साथ पाइयो भने ‘माग्ने राजा’ पर्दामा मात्र होइन, नेपाली दर्शकको हृदयमा पनि अमर हुनेछ।
‘माग्ने राजा’लाई हेर्ने दर्शकहरूको समर्थन नै यस चलचित्रलाई सफलताको उचाइमा पुर्याउने निर्णायक शक्ति बन्नेछ।
प्रतिक्रिया