आजको समाजमा पुरस्कार, सम्मान र अभिनन्दन भन्ने शब्दहरू दिनप्रतिदिन सस्तो र हल्का बन्दै गएको देखिन्छ। यिनको वास्तविक अर्थ र मूल्य बुझ्न छोडिएको छ। विगतमा यी शब्दहरूले व्यक्तिको जीवन योगदान, संघर्ष र साधनाप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा आफ्नो स्थान जमाएका थिए। तर आज त्यो गरिमा धमिलिँदै गएको छ।
सम्मान भनेको कुनै व्यक्तिको प्रतिभा, परिश्रम वा समाजका लागि दिएको योगदानको पहिचान हो। यसले पाउने व्यक्तिलाई मात्र होइन, दिने संस्थालाई पनि गौरव दिलाउँछ। तर, अहिले पुरस्कार–सम्मान निवेदन मागेर दिने, पैसाको लेनदेनमा किनेर लिने वा कसैको दबाबमा बाँड्ने वस्तु जस्तो बनेको छ। जब यसरी वितरित गरिन्छ, त्यसबेला न त पाउनेलाई गर्व हुन्छ न त दर्शकलाई विश्वास। बरु समाजमा ‘यो पनि किनेर ल्याएको हो’, ‘यो पनि मागेर पाएको हो’ भन्ने अविश्वास मात्र पैदा हुन्छ।
आजकल कतिपय कार्यक्रम आयोजकहरू आफैं भन्छन्—“सम्मान नदिने हो भने कार्यक्रममा कोही आउँदैन।” यो सोच नै गलत छ। कार्यक्रमको मूल आत्मा भनेको विषयवस्तु, सिर्जना र योगदान हो; पुरस्कार मात्र लोभ्याउने चिज होइन। जबसम्म कार्यक्रमले आफ्नो मौलिकता र उद्देश्यलाई प्रष्ट देखाउँदैन, त्यस्तो कार्यक्रममा पुरस्कार बाँड्दा पनि त्यसले ठूलो अर्थ राख्दैन।
७५ वर्ष नाघेका एक वरिष्ठ कलाकारले भन्नुभयो, “यो कलाको सम्मान होइन, अपमान हो।” यो भनाइ केवल व्यक्तिगत आक्रोश मात्र होइन, सम्पूर्ण कलाक्षेत्रकै वेदना हो। पुरस्कार–सम्मान तब मात्र अर्थपूर्ण हुन्छ जब त्यो सही व्यक्तिलाई सही योगदानका आधारमा दिइन्छ। अन्यथा यो औपचारिकतामा सीमित हुन्छ र कलाको गरिमामाथि चोट पुर्याउँछ।
जब पुरस्कार–सम्मानको मूल्य गुम्छ, तब समाजमा पनि गलत सन्देश जान्छ। युवा पुस्ताले यो सोच्न थाल्छ—“पुरस्कार लिन संघर्ष गर्नु पर्दैन, माग्न वा किन्न सकिन्छ।” यसले सिर्जनात्मक यात्रालाई निरुत्साहित गर्छ र साँचो मेहनत गर्नेहरूलाई निराश बनाउँछ।
१. पारदर्शिता: पुरस्कार चयन प्रक्रिया पारदर्शी हुनुपर्छ। जसले योगदान गरेका छन्, तिनको नाम खुलेर प्रस्तुत हुनुपर्छ।
२. स्वतन्त्र निर्णायक मण्डल: राजनीतिक, व्यक्तिगत वा आर्थिक प्रभावभन्दा टाढा रहने स्वतन्त्र निर्णायक समिति हुनुपर्छ।
३. योगदानको मूल्याङ्कन: पुरस्कार–सम्मान जीवन योगदान, सृजनशीलता, समाजसेवा र निरन्तर साधनामा आधारित हुनुपर्छ।
४. संख्या होइन, गुणस्तर: वर्षमा सयौँ पुरस्कार वितरण गर्नुको सट्टा थोरै तर प्रतिष्ठित सम्मान दिनु नै उपयुक्त हुन्छ।
मेरो यो टिप्पणी कुनै विशेष संस्था वा व्यक्तिलाई लक्षित होइन। यो नेपालमा मात्र होइन, अमेरिका र अन्य देशमा पनि देखिएको प्रवृत्तिको चर्चा हो। व्यक्तिगत रूपमा कसैसँग गुनासो छैन, तर सत्य उजागर गर्नु र सबैको ध्यानाकर्षण गर्नु मेरो पेशागत धर्म हो। अब समय आएको छ—पुरस्कार, सम्मान र अभिनन्दन आफैं लाज मान्ने अवस्थाको अन्त्य गरौँ। यसको वास्तविक मूल्य फर्काऔँ, यसको गरिमा जोगाऔँ। सही योगदान गर्ने व्यक्तिलाई योग्य ठाउँमा राखौँ र यसलाई सस्तो नबनाऔँ।
प्रतिक्रिया