पेरिस, फ्रान्स / जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा फ्रान्सबासी नेपालीहरूले पेरिसमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्। आइतबार साँझ, आइफल टावर अगाडिको प्लास द टोकेदारो मा दिवंगत आत्माहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा पेरिसमा बसोबास गर्ने नेपाली समुदाय र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै, विशेष गरी नयाँ विद्यार्थीहरूले भोग्नुपर्ने समस्याहरूलाई सामूहिक एकता र सहकार्यबाट समाधान गर्नुपर्ने आवाज समेत उठाइयो।
गीतकार किरण के.सी.ले आफ्नो मन्तव्यमा, “अब फेरि देशले सन्तान गुमाउन नपरोस् र नेपाल आमाको सधैं जय होस्,” भन्दै सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए।
कार्यक्रम सञ्चालिका निलम नेपालले सबै दलगत स्वार्थभन्दा माथि उठेर एक नेपालीका रूपमा बाँच्नुपर्ने आवश्यकता औंल्याइन्। सोही अवसरमा कवि प्रसान्त उप्रेतीले आफ्नो भावुक कविता “अब नपत्याउ है आमा” वाचन गर्दा सहभागीहरूको आँखा रसाएका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्।
फोटो बिनोद खकुरेल
प्रतिक्रिया