उनीहरूले अन्धकार झुपडीमा
हरीयो बाँसमा बाँधेको
त्यो मृत्त शरीर होइन —
मेरो मरेको चेतना हो
उनीहरूले अनकन्टार आँगनमा
उधारो कात्रोले छोपेको
त्यो नग्न लास होइन —
मेरो दूषित इमान हो
जीवनको यो विन्दुमा
म बल्ल आफूलाई चिन्दैछु:
मैले मेरो खुशीका लागि
कति आशहीनलाई लास बनाएछु
मैले मेरो सुखका लागि
कति दीनहीनलाई दफनाइ दिएछु
म विस्तारै बुझ्दैछु
आफूलाई चिन्दैछु
म महापापी रहेछु — प्रायश्चित गर्दैछु
हो,
मैले झुपडी-झुपडीका चोक्टा चुसेको छु
मैले बार-बार न्यायको तराजु भाँचेको छु
मैले हरीयो पहाडको माटो खाएको छु
मैले सुन्दर बाढीको बाटो खाएको छु
मेरा पापका डोबहरू बल्ल देखिँदैछन्
ती कहिले भूत बनेर
झुपडीबाट अट्टहास गर्दछन्
ती कहिले प्रेत बनेर
झ्यालखानाबाट गिजाइ रहन्छन्
हिजोआज मलाई कहिले
बाढीले लछारेको भान हुन्छ
कहिले
पहिरोले पुरेको आभास हुन्छ
म एकान्तमा बरबराउँछु
मौनतामा चिच्याउँछु
पुसको सिरेटोमा म गर्मीले छटपटाउँछु
बैशाखको धूपमा कठ्याङ्ग्रिएर काँप्दछु
मेरै महलभित्र म त्रस्त छु
मेरै बगैँचामा म बेचैन छु
मसँग सबै छ — तर केही-केही छैन
मसँग सबै छन् — तर कोही-कोही छैन
म सबैको बीचमा
शून्य-शून्य भएको छु
प्रायश्चितको कुण्डमा नुहाएर
म पवित्र होइन — पागल भएको छु
बल्ल आफूलाई चिन्दैछु — म महापापी रहेछु!
४ भदौ २०८२
20 August 2025
प्रतिक्रिया