क्यालिफोर्निया, जुलाई १ / नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को १७औं कार्यसमितिका लागि सम्पन्न अधिवेशनबाट प्रितेश कार्की नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा यज्ञ नेपाल, उपाध्यक्षमा पशुपति कँडेल, महासचिवमा दीपक दाहाल, र कोषाध्यक्षमा सुवास शाह ठकुरी निर्वाचित भएका छन्।
सन् १९९४ मा स्थापना भएको न्यान्स अमेरिकामा रहेका नेपाली संघ-संस्थामध्ये सबैभन्दा पुराना संस्थामध्ये एक हो। यस पटक कार्यसमिति सदस्यमा मोहन कार्की, सुनिता धिताल, सुरेश भट्ट, रेनु खनाल लम्साल, शिला दवाडी, र अवनीश खड्का निर्वाचित भएका छन्। विधान अनुसार एक सचिव र एक सह-कोषाध्यक्षसहित बाँकी पदमा मनोनयनमार्फत समिति गठन हुनेछ।
अधिवेशनको उद्घाटन कार्यक्रममा रिचमण्ड सिटीका मेयर इडुआर्डो मार्टिनेजले नेपाली समुदायको एकता र सक्रियता प्रशंसनीय भएको उल्लेख गर्दै सिटी सरकार नेपाली समुदायसँग सहकार्य गर्न तयार रहेको बताए। उनले हालै खरिद गरिएको नेपाली कम्युनिटी सेन्टरको लागि एक हजार अमेरिकी डलर सहयोग पनि प्रदान गरे।
नवनिर्वाचित अध्यक्ष प्रितेश कार्कीले नेपाली समुदाय र सिटी सरकारबीच सहकार्य गरी सामुदायिक सेवा तथा सहायता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै, अधिवेशनबाट पारित एजेण्डाहरूमा कम्युनिटी सेन्टरको मूल उद्देश्य विपरीत नजानेगरी हिन्दु र बौद्ध मन्दिर स्थापना, जेष्ठ नागरिक सहायता कार्यक्रम, हालै खरिद गरिएको केन्द्रको ऋण चुक्ता गर्ने (पेड अफ) जस्ता महत्वपूर्ण प्रस्तावहरू रहेका छन्। महासचिव दीपक दाहालले यसबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया