अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष मिर्जाना स्पोल्जारिकले गाजाको अवस्था ‘नर्कभन्दा पनि खराब’ भइसकेको टिप्पणी गरेकी छन्। बीबीसीका संवाददाता जेरेमी बोवेनसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, “फिलिस्तिनी जनतालाई मानवीय गरिमा नै खोसिएको छ, र अन्तर्राष्ट्रिय मानवीय कानुनहरू पनि निष्क्रिय हुँदै गएका छन्।”
गाजामा आज सबै राहत वितरण केन्द्रहरू बन्द छन्। इस्रायली सेनाले ती स्थानहरूतर्फ जाने बाटाहरूलाई “सैनिक युद्धक्षेत्र” घोषणा गरेपछि अवस्था अझ भयावह बनेको हो।
यसैबीच मंगलबार एक राहत केन्द्र नजिकै इस्रायली गोलीबारीमा कम्तीमा २७ जना फिलिस्तिनीको मृत्यु भएको स्थानीय हमास-समर्थित प्रशासनले जनाएको छ। यो गाजा ह्युमनिटेरियन फाउण्डेशन (GHF) द्वारा सञ्चालित राहत केन्द्रको नजिकै भएको तेस्रो प्राणघातक घटना हो यो साताभित्रै।
इस्रायली रक्षा बल (IDF) ले भनेको छ कि उनीहरूको सैनिक टोलीले निर्दिष्ट मार्गबाट “विचलित हुँदै अगाडि बढ्ने” व्यक्तिहरूलाई संदिग्ध ठानेर गोली चलाएको हो।
यसैबीच खान युनुसस्थित एक विद्यालयमा शरण लिएर बसेका मानिसहरूलाई लक्षित गरी गरिएको इस्रायली हवाई आक्रमणमा थप १२ जना फिलिस्तिनी मारिएका छन्, हमास-सम्बद्ध सिभिल डिफेन्स एजेन्सी र स्थानीय अस्पताल स्रोतको भनाइ उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ।
हाल इस्रायलले बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजामा प्रवेश गर्न अनुमति नदिएकोले घटनाको स्वतन्त्र पुष्टि गर्न कठिन भइरहेको बताइएको छ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले संसदमा गाजाको अवस्थाबारे बोल्दै इस्रायलको हालको सैन्य कारबाही र बस्ती विस्तारलाई “असह्य र आपत्तिजनक” भनेका छन्।
उनले मानवीय सहायता रोकिएकोप्रति पनि कडा आपत्ति जनाउँदै भने:
“हामी युद्धविराममा फर्कनुपर्छ, बन्धकहरू रिहा हुनुपर्छ, र गाजामा शीघ्र र पर्याप्त मात्रामा सहायता पुग्नुपर्छ।”
इस्रायलमाथि थप प्रतिबन्धलगायतका उपायबारे पनि सरकार विचार गरिरहेको उनले जनाए।
गाजा सहरका महरान खोदरले रोयटर्ससँग भने:
“हामी सुरक्षित हुने आशामा उत्तरबाट यहाँ आएका थियौं, तर अहिले त पालभित्र सुत्नेहरू पनि बाँच्न सक्नेमा शंका छ।”
उनी थप्छन्, “हामी भोकले मरिरहेका छौं, माथिबाट बम खसिरहेको छ, बच्चाहरू कंकालजस्ता देखिन थालेका छन्।”
अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष मिर्जाना स्पोल्जारिकले बीबीसीसँगको अन्तर्वार्तामा भनिन्:
“गाजामा भइरहेको अवस्थाले सबै कानुनी, नैतिक र मानवीय मापदण्ड नाघिसकेको छ।”
उनले भनिन्, “फिलिस्तिनीहरूबाट मानवीय गरिमा खोसिएको छ। जेनेभा सन्धि भंग भइरहेको छ। युद्धमा कुनै पनि पक्षलाई मानवता उल्लंघन गर्न छुट छैन।”
गाजास्थित नासेर अस्पतालका निर्देशक डा. मारवान शफिक अल-हम्सले बीबीसीलाई भने:
“हामीसँग २५ बेड थियो, अहिले ४२ बिरामी छन्। उनीहरूलाई रगत चाहिएको छ, तर हामीसँग छैन।”
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार गाजालाई महिनामा कम्तीमा ४,५०० युनिट रगत आवश्यक पर्छ, तर मार्चसम्ममा त्यो संख्याको १०% मात्र उपलब्ध थियो।
खान युनुसस्थित नासेर अस्पतालकी गर्भवती महिला मलाक ब्रेस भन्छिन्:
“डाक्टरहरूले भनेका छन् मेरो बच्चाको जीवन अब ईश्वरको हातमा छ।”
कुपोषण, तनाव र स्वास्थ्य सुविधाको अभावका कारण असामयिक गर्भपतन, समयपूर्व जन्म र मातृ मृत्यु दरमा व्यापक वृद्धि भएको छ।
गाजा ह्युमनिटेरियन फाउण्डेशन (GHF) को राहत वितरण केन्द्र नजिक इस्रायली सेनाको गोली लागेर मंगलबार कम्तीमा २७ जना मारिए।
प्रत्यक्षदर्शी मुहनाद अबेद भन्छन्:
“गोली प्रत्यक्ष लागिरहेको थियो, कोही बाहिर निस्कनै सकेनन्। हाम्रो छिमेकी घाइते भए। हामीले सडकमा मृत शरीरहरू देख्यौं।”
इजरायलमा यहूदी र अरब नागरिकहरूको संयुक्त समूह ‘Standing Together’ ले तीन दिने शान्तिमय मार्च थालेको छ।
समूहले गाजामा सहयोग पुगोस् भन्ने उद्देश्यसहित टेल अभिभाटबाट केरम शालोम नाकासम्मको यात्रा गर्दैछ।
अमेरिकी राष्ट्रपति ट्रम्पकी प्रेस सचिव करोलिन लेभिटले BBC लाई ‘हमासको शब्द प्रयोग गरेको’ भन्दै आरोप लगाएकी थिइन्।
BBC ले कडा प्रतिक्रिया दिँदै भन्यो:
“हामीले कुनै समाचार हटाएका छैनौं। दिनभर प्राप्त तथ्यांकअनुसार रिपोर्ट अद्यावधिक गर्नु सामान्य पत्रकारिता अभ्यास हो।”
प्रतिक्रिया