प्रवासमा रहनु भएका नेपालीहरूमा समर्पित कविता
देशभित्र अटाइन
जितेको युध्दमा हार मैले स्विकार्न मानिनँ
आँखा चिम्लेर संसार देख्दैछु छु भन्न जानिनँ
मुन्धुमी सम्झिदै बस्छु सिली नाच्न म आइनँ
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ !!
मारुनी लय बिर्सेर भैरवी राग गाउँछु
ज्यूँदै मरेर सल्केको चिता तापी रमाउँछु
स्वाभिमान गुमाएर नाङ्गै पौडिन जानिन
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ !!
,कोइली गीत गाउन्नन् चिल कौवा कराउँछन्
घरमा वृध्दका खोकी रित्ता कोठा बजाउँछन्
स्नेहले सुम्सुम्याएको लोरी सुनिन्न गाउँमा
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ !!
झुल्दैनन् धानका बाला तोरी फुल्दैन गाउँमा
छातीमा देशको माया पैताला मुगलानमा
भकारी रित्तियो थैली च्यातिँदै छ दिनौदिन
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ !!
ऐसेलु स्वाद सम्झिन्छु सम्झिन्छु वन काफल
नृत्य मयूरको सम्झी आँखामा बग्दछन् जल
लालीगुराँसका थुङ्गा स्यूरी फुर्किन पाइनँ
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ !!
काम खोजेर बेकामी झल्लु बिल्ला लगाउँछु
भोकको ओखती खोज्दा गोलीको स्वाद पाउँछु
नेपाली गर्भ बोकेर सुत्केरी हुन जानिनँ
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ
पानी सम्झिन्छु झर्नाको तिर्खामा किन्छु बोतल
मोहिनी सपना सम्झी विपना हेर्छु खाडल
नेपाली बोल्न बिर्सेर दोभाषे खोज्न जानिन
भान्छा फोहर भो मेरो देशभित्र अटाइनँ
प्रतिक्रिया