वाशिङ्टन डीसी, अगस्ट २६, २०२६ / अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका Federation of International Journalist, America (FIJA) ले नेपालमा, विशेषगरी रसुवा क्षेत्रबाट सुरु भएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत, उपचार र पुनर्स्थापनाका काममा सम्पूर्ण पक्ष एकजुट हुन आग्रह गरेको छ।
FIJA अमेरिकाले बुधबार वाशिङ्टन डीसीबाट जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता र सम्पर्कविहीनहरूको सकुशल उद्धारको कामना गरिएको छ।
नेपाल अहिले गम्भीर राष्ट्रिय विपद्को सामना गरिरहेको उल्लेख गर्दै FIJA ले सरकार, प्रतिपक्ष, सबै राजनीतिक दल, संघ–संगठन, नागरिक समाज, सञ्चारमाध्यम, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका नेपालीलाई राजनीतिक मतभेदभन्दा माथि उठेर पीडितको उद्धार र राहतमा हातेमालो गर्न आह्वान गरेको छ।
“यो फोहोरी राजनीति गर्ने, आरोप–प्रत्यारोप गर्ने वा विपद्लाई राजनीतिक लाभका लागि प्रयोग गर्ने समय होइन,” विज्ञप्तिमा भनिएको छ। अहिलेको पहिलो प्राथमिकता पीडितको जीवन रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार, विस्थापितको सुरक्षित व्यवस्थापन र वास्तविक पीडितसम्म राहत पुर्याउनु हुनुपर्ने FIJA को भनाइ छ।
कठिन परिस्थितिमा उद्धार कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, उद्धारकर्मी तथा स्वयंसेवकहरूको भूमिकाको प्रशंसा गर्दै FIJA ले सबै राजनीतिक दल, संघ–संगठन र नागरिकलाई सुरक्षा निकायसँग समन्वय गरेर उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
संस्थाले राहत वितरण पारदर्शी, व्यवस्थित र निष्पक्ष हुनुपर्नेमा पनि जोड दिएको छ। सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त सहयोग वास्तविक पीडितसम्म समयमै पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता र स्वयंसेवकलाई उद्धार, राहत तथा पुनर्स्थापनाका काममा रचनात्मक रूपमा परिचालन गर्नुपर्ने बताइएको छ।
नेपाल सरकारले विपद्को अवस्थामा सहयोगका लागि अपिल गरिरहेका बेला FIJA अमेरिकाले विश्वभर रहेका नेपाली, नेपाली संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा नेपालका मित्रहरूलाई आफ्नो क्षमताअनुसार आधिकारिक र विश्वसनीय माध्यमबाट सहयोग गर्न अनुरोध गरेको छ।
विपद्का बेला गलत सूचना र अपुष्ट विवरण फैलिन सक्ने भन्दै FIJA ले सञ्चारमाध्यम तथा पत्रकारहरूलाई मृतक, बेपत्ता, घाइते तथा क्षतिको तथ्यांक आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ। पीडित र उनीहरूका परिवारको मानवीय संवेदनशीलता र गोपनीयताको सम्मान गर्न पनि संस्थाले सञ्चारकर्मीहरूको ध्यानाकर्षण गराएको छ।
“यो पीडा सिंगो नेपालको पीडा हो। उद्धारमा जुटौं, राहतमा जुटौं, पीडितलाई साथ दिऔं। Help Nepal. Pray for Nepal,” विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमा FIJA अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया