देश नभएको होइन, छ !
नक्सामा पनि प्रष्ट छ
तर
देशमा नेता, नेता जस्ता छैनन्,
भाषणमा देश बोकेर हिँड्छन्,
व्यवहारमा स्वार्थको भारी बोक्छन्,
जनताको नाम जपिरहन्छन्,
तर जनताकै घाउमा नुन छर्किन्छन्।
देशमा पुलिस, पुलिस जस्ता छैनन्,
कानुनको रक्षा गर्ने हात
कहिलेकाहीँ आदेशको कैदी बन्छ,
निर्दोषको आँसु देख्दैन,
शक्तिशालीको छायाँदेखि डराउँछ।
देशमा न्यायाधीश, न्यायाधीश जस्ता छैनन्,
तराजु त अदालतमा झुन्डिएको छ,
तर न्यायको वजन
कहिले पैसा,
कहिले पहुँच,
कहिले प्रभावले बदलिदिन्छ।
देशमा जनता पनि जनता जस्ता छैनन्,
गलत देखेर चुप लाग्छन्,
अन्याय देखेर मुख फर्काउँछन्,
आफ्नो मान्छेले गल्ती गरे
गल्तीलाई पनि सही ठान्छन्,
अर्काको मान्छेले सही गरे
सहीलाई पनि गलत भन्छन्।
अनि, नेपाली, नेपाली जस्ता भएनन्,
भाषामा नेपाल छ,
मनमा समूह छ,
झण्डामा एकता छ,
व्यवहारमा विभाजन छ।
कोही जात खोज्छ,
कोही दल खोज्छ,
कोही सत्ता खोज्छ,
कोही अवसर खोज्छ,
तर
देश खोज्ने मान्छे
किन यति थोरै भए ?
यहाँ इमानदारलाई मूर्ख भनिन्छ,
चाकरी गर्नेलाई चलाख,
सत्य बोल्नेलाई शत्रु,
झुट बेच्नेलाई नेता,
प्रश्न गर्नेलाई विद्रोही,
र लुट्न जान्नेलाई सफल भनिन्छ।
विद्यालयले अक्षर सिकायो,
तर चरित्र सिकाउन सकेन,
कानुनले धारा बनायो,
तर अनुशासन बनाउन सकेन,
राजनीतिले सपना बाँड्यो,
तर देश बनाउन सकेन।
अराजकता आकाशबाट झरेको होइन,
विदेशीले बोकेर ल्याएको पनि होइन,
यो त, हाम्रै मौनतामा उम्रिएको हो,
हाम्रै स्वार्थमा हुर्किएको हो,
हाम्रै सम्झौतामा बलियो भएको हो।
नेताले बिगारे, हामीले ताली बजायौँ।
कर्मचारीले लुटे, हामीले बाटो खोज्यौँ।
न्याय बिक्यो, हामी चुप बस्यौँ।
सत्य हार्यो, हामी तमासा हेरिरह्यौँ।
अनि आज सोध्छौँ,
यस्तो अराजक देश कसले बनायो ?
उत्तर खोज्न टाढा जानु पर्दैन,
ऐनामा एकपटक, आफ्नै अनुहार हेरे पुग्छ।
देश केवल नेताले बिगारेको होइन,
केवल व्यवस्थाले बिगारेको होइन,
केवल अदालत, पुलिस
वा कर्मचारीले बिगारेको होइन
जहाँ गलतलाई गलत भन्न डराइयो,
जहाँ स्वार्थलाई सिद्धान्त बनाइयो,
जहाँ मौनतालाई बुद्धिमानी ठानियो,
त्यहीँबाट देश बिग्रिन थाल्यो।
अब पनि समय छ नेता नेता जस्ता बनून्,
पुलिस पुलिस जस्ता बनून्,
न्यायाधीश न्यायाधीश जस्ता बनून्,
जनता जनता जस्ता बनून्,
र सबैभन्दा पहिले नेपाली, नेपाली जस्ता बनून्।
किनकि देश नक्साले मात्र बन्दैन,
झण्डाले मात्र बन्दैन,
राष्ट्रगानले मात्र बन्दैन
देश बन्छ
चरित्रले,
जिम्मेवारीले,
न्यायले,
इमानले,
र एकअर्कालाई
नेपाली सम्झिने मनले।
त्यसैले फेरि सोधौँ
यस्तो अराजक देश कसले बनायो ?
र यसपटक
उत्तर अरूलाई होइन,
पहिले आफैलाई दिऔँ।
अराजक देश कसले बनायो ?
प्रतिक्रिया