
काठमाडौं / नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित आमसभामार्फत पार्टी सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरे । ‘सुशासन र समुन्नतिका लागि नेपाली कांग्रेसको प्रतिज्ञापत्र’ नाम दिइएको उक्त दस्ताबेजमार्फत कांग्रेसले आफूलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक रूपमा प्रस्तुत गरेको दाबी गरे । जनकपुरमा आयोजित प्रतिज्ञा सभामा घोषणापत्रको संक्षिप्त अंश सार्वजनिक गरिएको र विस्तृत दस्ताबेज बिहीबार राष्ट्रिय सभागृहमा सार्वजनिक गरिने पार्टीले जनाएको छ । सो कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम रहेको कांग्रेसले बताएको छ ।
घोषणापत्रमा गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ विद्रोहलाई आत्मसात गरिएको उल्लेख गरिएको छ । कांग्रेसले संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण गर्ने र वित्तीय अनुशासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ । संविधान संशोधनका लागि सबै राजनीतिक दल र सरोकारवालासँग राष्ट्रिय संवाद गर्ने, प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्ने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव प्रतिज्ञापत्रमा समेटिएको कांग्रेसले जनाएको छ । मन्त्री, सांसद र उच्च पदस्थ पदाधिकारीहरूले शपथ लिनुअघि आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ । २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरिने पनि कांग्रेसले बताएको छ ।
मन्त्रिपरिषद्का निर्णयलाई समेत अख्तियारको छानबिन दायरामा ल्याउने गरी भ्रष्टाचार निवारण ऐन संशोधन गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ । निर्वाचन प्रणालीमा सुधार गर्दै आरक्षित निर्वाचन क्षेत्र प्रणाली अपनाउने प्रस्ताव गरिएको र एक क्षेत्र एकपटक मात्रै आरक्षित हुने अभ्यास गरिने बताइएको छ । सभालाई सम्बोधन गर्दै सभापति थापाले अब कसैले राज्यसँग प्रश्न सोधेकै भरमा गोली खानु नपर्ने देश बनाउने बताए । “अब कसैले प्रश्न सोधेकै भरमा गोली खानु पर्दैन, कसैले नकाब लगाएर सिंहदरबार जलाउनु पर्दैन,” उनले भने ।
उनले किसानले मलका लागि लाइन बस्न नपर्ने अवस्था बनाउने र सार्वजनिक सेवा लिँदा घुस दिनु नपर्ने व्यवस्था गर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताए । आगामी पाँच वर्ष कांग्रेसका प्रत्येक सदस्यले प्रतिज्ञापत्रअनुसार काम गर्ने दाबी गर्दै उनले प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने वातावरण निर्माण गर्ने बताए । सहकारी, मिटरब्याज र लघुवित्त समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले सहकारी ठगहरूलाई तह लगाउने चेतावनी दिए । मधेसमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने र पाँच वर्षभित्र क्रिकेट रंगशाला निर्माण गर्ने योजना रहेको उनले बताए ।
उपसभापति विश्वप्रकाश शर्माले देश कठिन परिस्थितिमा रहेको भन्दै यस्तो बेला देशलाई सम्हाल्न सक्ने शक्ति आवश्यक रहेको बताए । “यो बेला कसलाई जिताउने भन्ने होइन, देशलाई कसले सम्हाल्न सक्छ भन्ने मुख्य प्रश्न हो,” उनले भने । पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान व्यवस्था जोगाउन कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताए । निर्वाचनमार्फत जनप्रतिनिधि निर्वाचित गरेर लोकतान्त्रिक शासन सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
सभापति थापाले ‘टिम नेपाल’ अवधारणा अघि सार्दै सबै राजनीतिक दल, प्रदेश, स्थानीय तह, निजी क्षेत्र र नागरिकलाई समेटेर अघि बढ्नुपर्ने बताए । “देश बनाउन सबै चाहिन्छ,” उनले भने ।
यसैबीच, पार्टीको निर्णयविरुद्ध काम गरेको आरोपमा नेपाली कांग्रेस कपिलवस्तुले पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायसहित १९ जनालाई कारबाहीका लागि सिफारिश गरेको छ । बागी उम्मेदवारी दिएका आशिष शर्मासहितलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिश गरिएको कांग्रेसले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । रास्वपाले विधि–विधानविपरीत चलेको आरोप लगाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन प्रस्तुत गरेको छ । जसमा सम्मानित जीवन, रोजगारी सृजना, किसान सशक्तीकरण, स्वास्थ्य र शिक्षामा सहज पहुँच, सुशासन तथा स्वाभिमानी नेपाल निर्माणका लक्ष्य समेटिएका छन् । निर्वाचनपछि सरकार बनेमा प्रतिज्ञापत्रअनुसार काम गर्ने कांग्रेसले जनाएको छ ।












प्रतिक्रिया