काठमाडौं। विदेशमा उच्च शिक्षा लिन जाने नेपाली विद्यार्थीको बढ्दो खर्चले देशको सेवा खातामा दबाब थपिएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्म आइपुग्दा खुद सेवा आय ४१ अर्ब ५५ करोड रुपैयाँले घाटामा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २९ अर्ब ४७ करोडको घाटाभन्दा उल्लेख्य रूपमा बढी हो। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार सेवा खाताभित्र भ्रमण आय सामान्य रूपमा बढे पनि व्यय तीव्र गतिमा बढ्दा समग्र घाटा गहिरिएको हो। समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड पुगेको छ भने भ्रमण व्यय ४.२ प्रतिशतले बढेर एक खर्ब पाँच अर्ब ५६ करोड रुपैयाँ नाघेको छ। यसमध्ये शिक्षासम्बन्धी खर्च मात्र ६७ अर्ब ४७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५६ अर्ब ७७ करोडको तुलनामा ठूलो उछाल हो।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढ्दै १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धि दर ४.२ प्रतिशत मात्र थियो। पुस महिनामै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको पुसको तुलनामा निकै उच्च हो। वैदेशिक रोजगारीतर्फ जाने प्रवृत्ति पनि बलियो देखिएको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ६ हजार नाघेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजारभन्दा बढी पुगेको छ।
समीक्षा अवधिमा इक्विटीमार्फत आठ अर्ब १७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन गत वर्षको सोही अवधिभन्दा बढी हो। यससँगै शोधनान्तर स्थिति पाँच खर्ब एक अर्ब रुपैयाँभन्दा बढी बचतमा पुगेको छ। अमेरिकी डलरमा पनि शोधनान्तर बचत तीन अर्ब ५४ करोड पुगेको देखिन्छ। विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बलियो बनेको छ। २०८२ असारमा २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको सञ्चिति पुसमा बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यसले २१ महिनाभन्दा बढीको वस्तु आयात र १८ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमतामा पुगेको केन्द्रीय बैंकले जनाएको छ।
पुस महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ५.४१ प्रतिशतको तुलनामा झन्डै आधा हो। खाद्य तथा पेय पदार्थ समूहमा मूल्य घट्दा (ऋणात्मक मुद्रास्फीति) गैर–खाद्य तथा सेवा समूहमा भने ३.८१ प्रतिशतको वृद्धि देखिएको छ। प्रदेशगत रूपमा मधेस र कोशी प्रदेशमा मुद्रास्फीति तीन प्रतिशतभन्दा माथि देखिएको छ भने कर्णाली र सुदूरपश्चिममा न्यून स्तरमा सीमित छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति २.४८ प्रतिशत रहेको छ।
छ महिनामा निर्यात ४३.८ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। भारत र अन्य मुलुकतर्फको निर्यातमा उल्लेख्य वृद्धि भए पनि चीनतर्फको निर्यात भने तीव्र रूपमा घटेको छ। भटमास तेल, अलैंची, पाम तेल, जुटका सामान र जुत्ताचप्पलको निर्यात बढेको देखिन्छ। यस अवधिमा आयात १४.२ प्रतिशतले बढ्दै नौ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। भारत, चीन र अन्य मुलुकबाट आयात क्रमशः बढ्दो क्रममा रहे पनि कुल व्यापार घाटा अझै गहिरिँदै सात खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया