बेलायतका प्रधानमन्त्री कियर स्टार्मर ले अफगानिस्तानमा बेलायती सेनाको भूमिकाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दिएको अभिव्यक्तिलाई “अपमानजनक र अत्यन्तै निन्दनीय” भएको बताएका छन्। प्रधानमन्त्री स्टार्मरले ट्रम्पको टिप्पणीले बेलायती सैनिक, पूर्वसैनिक र उनीहरूको परिवारको भावनामा गहिरो चोट पुगेको स्पष्ट पारेका छन्।
सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री स्टार्मरले भने, “यदि मैले यस्तो शब्द प्रयोग गरेको भए वा यस्तै किसिमले बोलेको भए, म निश्चय नै माफी माग्थेँ।” उनले अफगानिस्तान युद्धमा सहभागी बेलायती सैनिकहरूको त्याग र बलिदानप्रति आफू सधैँ ऋणी रहने पनि बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणीपछि बेलायतभर पूर्वसैनिक, सैनिक परिवार तथा विभिन्न राजनीतिक दलका नेताहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्। सन् २००१ मा सेप्टेम्बर ११ को आतङ्कवादी हमलापछि नाटोको सामूहिक सुरक्षा प्रावधान सक्रिय भएपछि बेलायतले अमेरिकासँगै अफगानिस्तानमा सैन्य अभियानमा सहभागिता जनाएको थियो। उक्त युद्धका क्रममा ४५७ जना बेलायती सैनिकले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए।
अफगानिस्तानमा सेवा गरेका पूर्वसैनिक कर्पोरल एन्डी रिडले ट्रम्पको टिप्पणीलाई “अत्यन्तै असम्मानजनक” भनेका छन्। त्यस्तै, सन् २००९ मा अफगानिस्तानमा ज्यान गुमाएका एक बेलायती सैनिककी आमाले ती अभिव्यक्तिलाई “मन तोड्ने र आत्मा नै आहत बनाउने” प्रतिक्रिया दिएकी छन्।
ट्रम्पको टिप्पणीबारे उठेका प्रश्नहरूमा ह्वाइट हाउसले भने नाटोमा अमेरिकाले गरेको योगदानतर्फ औँल्याउँदै युरोपेली राष्ट्रहरूले आफ्नो सुरक्षाको जिम्मेवारी बढाउँदै लैजान सहयोग गरिरहेको दाबी गरेको छ।
यस विषयमा पोल्यान्डका रक्षा मन्त्री भ्लादिस्लाभ कोसिन्याक–कामिश ले पनि कडा प्रतिक्रिया जनाएका छन्। उनले अफगानिस्तानमा पोल्यान्डेली सेनाको योगदानलाई “कम आँक्न नहुने” स्पष्ट पारे। अफगानिस्तान अभियानमा ३३ हजारभन्दा बढी पोल्यान्डेली सैनिक र सैन्य कर्मचारी सहभागी भएका थिए, जसमा ४३ सैनिक र एक जना नागरिक कर्मचारीले ज्यान गुमाएका थिए।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै मन्त्री कोसिन्याक–कामिशले भनेका छन्, “पोल्यान्ड सधैँ जिम्मेवार र भरपर्दो मित्र राष्ट्र रहँदै आएको छ, रहिरहेको छ र रहिरहनेछ। सुरक्षा खतरामा पर्दा हामी त्यसको रक्षा गर्न सधैँ अग्रपंक्तिमा उभिन्छौँ।” उनले पोल्यान्डेली सेना नाटोका मित्र राष्ट्रहरूसँग हातेमालो गर्दै अफगानिस्तान, इराकलगायत विभिन्न अन्तर्राष्ट्रिय मिसनमा सक्रिय रहेको पनि स्मरण गराए।
प्रधानमन्त्री स्टार्मरले अफगानिस्तान युद्धमा ज्यान गुमाएका ४५७ बेलायती सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस, बलिदान र सेवाको कहिल्यै अवमूल्यन हुन नहुने बताए। “ती सैनिकहरूले स्वतन्त्रता, अन्तर्राष्ट्रिय सुरक्षा र हामीले विश्वास गर्ने मूल्यहरूको रक्षा गर्दै जीवन गुमाए वा गम्भीर घाइते भए,” उनले भने, “उनीहरूको त्याग कहिल्यै बिर्सन सकिँदैन।”
प्रतिक्रिया