‘प्रजातन्त्रमा जनता किंकत्र्तविमूढ मुकदर्शक हुँदैनन्’ बीपी कोइरालाको यो भनाइ सार्वकालिक महत्वको रहेको छ । जनतालाई दास वा लास सम्झने र आफूलाई मालिक बनेको सपना देख्नु शिव शर्माको सातु सपना जस्तै हो । तर, पार्टीमा अनुशासनका कारण दास नहुनेहरूले लास भइरहेको देखिन्छ । वैध-अवैध जेजस्तो भए पनि, गणितीय हिसाबले जालझेल भए पनि, जाली वा सही हस्ताक्षर रहेका भए पनि, यो संक्षिप्त समयमा र राष्ट्रिय निर्वाचनको मुखमा निहुँ खोज्ने काम किन भयो भन्ने प्रश्न उठे पनि अहंकार र तीव्र गतिको महत्वाकांक्षा देखिए पनि, वरिष्ठहरूको बाटो छेक्दै, संघर्षका पर्यायहरूको अपमान गर्दै दौडे पनि अन्ततः नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनको निर्णयका आधारमा नयाँ सभापतिदेखि कार्य समितिसमेत निर्वाचित भएको छ र यसलाई निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ । अब अदालतको निर्णय आउने प्रतीक्षा रहेको अवस्था छ ।
(क) कांग्रेसमा कृष्ण र वारवरिकको खोजी :
महाधिवेशनले कांग्रेसको जीवनमा ००९ को जस्तो र ०५९ को जस्तै गरी चिरा परेको स्पष्ट देखिन्छ । कांग्रेसको जीवनमा आएको ०७२ को जस्तो आठ रेक्टल स्कलको भूकम्पको धक्काले कांग्रेसका करिब तीस लाख मतदाता, नौ लाख हाराहारीका सदस्यहरू, आठ–दश लाख शुभेच्छुकहरू सबैले यो अवस्था उत्पन्न गर्ने जिम्मेदारमाथि बहस गरिरहेका छन् । एकपक्षले शेरबहादुर देउवा र अर्को पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई प्रत्यक्ष दोष दिइरहेका छन् । महाभारत युद्धमा दुवैतर्फका योद्धामाथि हिंस्रक प्रहार गर्ने र मार्ने व्यक्ति एउटै कृष्णमात्रै थियो भन्ने ज्ञान भएका वार्वरिक अहिलेको युगमा अवतरित भएको छैन । त्यसैकारण नेपालको राजनीति, सरकार परिवर्तन, प्रणाली परिवर्तन, ठूला आन्दोलनको परिणाम मात्रै हामी नेपालीको ज्ञानचक्षुमा अंकित भएर बस्ने गरेको छ । हामी गर्व र गौरवकासाथ आफू परिवर्तनको औजार भएको अभिलेख तयार गरिरहेका हुन्छौं ।
(ख) पर्नु हुन्न लोकतन्त्रको चुरोमा चिरा :
यसै पृष्टभूमिमा मैले नेपाली कांग्रेसको विग्रह, यसमा देखिने गरेको विभाजन र अहिले परेको चिरालाई सूक्ष्म अध्ययन गर्दैछु । यस्तो अध्ययन अरूले पनि गरिरहेको हुनुपर्छ । तर निष्कर्ष जस्तो होला अहिले एउटा सत्य स्वीकार गर्नुपर्ने हुन्छ : नेपालको प्रजातान्त्रिक आन्दोलनको मियो र वर्तमान सन्दर्भमा राष्ट्रको चुरोजस्तो रहेको नेपाली कांग्रेसको यो चिरा र धर्साहरूका कारण सबै राष्ट्रभक्त, देशभक्त, लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूमा अनौठो चिन्ता देखिँदैछ । राष्ट्रवादी शक्ति भनेर बीपी कोइरालाले बारम्बार आफ्नो घाँटी राजासँग जोडिएको भने पनि बीपीवादीहरूले त्यसलाई बिर्सेर आफ्नोमात्रै घाँटीले देश थेग्न कोसिस गरिरहेको अवस्था छ । यसैकारण कांग्रेसको घाँटी भाँच्चिने हो कि ? घोप्टिने हो कि र देशको भार गर्लम्म हुने हो कि भन्ने चिन्ता सबैका मनमा उठेको हुनुपर्छ । यद्यपि बहुदलीय व्यवस्थामा कुनै दलमा मतभेद हुनु वा नहुनुको अर्थ हुँदैन । मन नलाग्नासाथ, मतभेद हुनासाथ, अन्याय र अविवेकको व्यूह तोड्न जो पनि जुन समयमा पनि उत्सुक हुन्छ । हुनुपर्छ । तर त्यो उत्सुकताले सिंगै घर ध्वस्त हुने, समाजलाई भताभुंग बनाउने, देशलाई र राज्यप्रणालीमा नै आघात पार्ने भयो भने के गर्ने ? अहिले कांग्रेसमा देखिएको मतभेद र परेको चिराले उठाएको प्रश्न हो यो ।
(ग) मतभेदको उत्कर्ष कारण :
मतभेदको कारण : भदौ २३ र २४ को अप्रत्यासित हिंसा र अराजकताले निम्त्याएको देश विघटनको सुनामी उत्कर्ष कारण हो । तर त्योभन्दा पहिले शासकीय गठबन्धन, त्यसमा कांग्रेसको असन्तुलित सहभागिता, सरकारबाट भएका कतिपय विवादास्पद कामहरू, महत्वकासाथ उठेका अनेक काण्डहरू र तिनमा गरिएको ढाकछोपको प्रयास, अन्तर्राष्ट्रिय राजनीतिको रूपमा देखिएका नवीन आयामहरू, सभापति पक्षले आफूलाई स्वयम्भू ठान्ने अहंकार, स्थापित पारिवारिक सञ्जाल, निकटस्थहरूको स्वभाव, नियुक्तिहरूमा देखिने गरी भएको आर्थिक चलखेल, बलेसीकुरुवाहरूको प्रभाव आदि अनेक पक्षहरू शासकीय पक्षका कमजोरी नै मतभेदको मुख्य कारण रहेको देखिन्छ । अर्कोतर्फ तत्काल शासकीय शीर्षस्थानमा पुग्नै पर्ने चिन्तनले विकास गरेको अवसरवाद, उपयोगितावाद र अहंकार समवेत स्वरूपले विवादको आयातनमा वृद्धि गरेको देखिन्छ । जरामा बसेर पानी र मल राख्ने मालीभन्दा पनि टुप्पामा पुगेर फल टिप्ने र खानेहरू महान् हुन् भन्ने सोच र व्यवहार नयाँ भनिएकाहरूमा प्रभाकारी रूपमा देखिएपछि उत्पन्न मतभेद, अवस्थाको समाधान के हुनसक्छ होला ? यो प्रश्न आजको मूलमा रहेको छ । त्यसमा पनि दुई महिनासम्म देउवा पक्षले बैठक लम्ब्याएको अर्थ त लाग्छ तर दुई महिनापछि लगत्तै शासकीय नेतृत्वदेखि पार्टी नेतृत्वको खिचडी खाने निश्चित हुँदाहुँदै थापा समर्थकहरू र स्वयं थापा पक्षले किन यति हतार गरेको हो ? नबुझिने भाषा भएको छ किन ? कांग्रेसको आन्तरिक जीवनमा मात्रै होइन नेपालको लोकतन्त्र र राष्ट्रको अस्मितासँग पनि समान रूपमा यो प्रश्न मूलमा रहेको छ ।
(घ) किशुनजी जस्तो हुने कि गिरिजाप्रसाद जस्तो ?
उल्लिखित दुवै प्रश्नको समाधान के हुनसक्छ होला । हिजोका दिनमा मैले बहसका क्रममा देउवालाई सम्बोधन गर्दै दुई प्रसंग उठाएको थिएँ : पहिलो थियो ०५१ साउन १२ गतेको कृष्णप्रसाद भट्टराई जस्तो हुने कि ०५९ असार पहिलो हप्ताको गिरिजाप्रसाद कोइराला जस्तो हुने ? यदि भट्टराई जस्तो भएर पार्टी जोगाउने हो भने : विशेष महाधिवेशनको नाममा जम्मा भएका पार्टीका सदस्यहरू र शुभेच्छुकहरू माझ पुग्ने र आफूले पाएको पछिल्लो पीडासहित आजको राजनीतिक अवस्था, आवश्यकता र पार्टी एकताका लागि पूर्ण विमर्श गर्ने । केन्द्रीय समितिका सबै सदस्यहरूलाई पनि सहभागी गराउने । यदि कृष्णप्रसाद जस्तो नभएर गिरिजाप्रसाद जस्तो हुने हो भने अनुशासन, निष्काशन र विभाजनसम्मको राजमार्ग खुला गर्ने । जे गर्ने हो तत्काल गर्ने । अर्कोतर्फ विशेष महाधिवेशनका पक्षधरलाई पनि पर्याप्त प्रश्नहरू थिए । महाधिवेशनले पार्टीमा चिरा परेमा वा पूरै विभाजन भएमा पार्टी सभापति हुन कठिन छैन तर जनताको समर्थन जुटाउने हैसियत अन्त्य हुन्छ र प्रधानमन्त्री हुने सपना भित्तोमा झुण्डिनेबाहेक केही हुने छैन । पार्टीमाथिको नियन्त्रण र जनतामाथिको प्रभाव दुई फरक विषय हुन् ।
म आस्वस्त थिएँ : विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको तह छुने छैन । दुई युवा नेताहरू जो महामन्त्री थिए ती मध्ये थापाले पार्टी विभाजन हुने भएमा म विष पिउने छु र शर्माको कथन थियो : विभाजन हुने भएमा म अधिवेशनको हलबाट बाहिरिने पहिलो व्यक्ति हुनेछु । तर नियतिलाई यसो गर्न मन्जुर थिएन र अन्ततः कंग्रेसमा चिरा पर्यो । अर्थात् देउवा पक्षको अनुदार सोच र थापा पक्षको महत्वाकांक्षी प्रयासले कांग्रेसमा चिरा परेको छ । यो चिरालाई कुन सुपरग्लुले टाल्ने हो कि नयाँ सिर्जना गर्ने हो ? आठदशकको इतिहासमा कांग्रेस गम्भीर मोडमा पुगेको छ । पार्टी एकता गर्ने, सबैलाई समेट्ने जिम्मा हिजोका दिनमा शेरबहादुर देउवासँग थियो अब थापा र सहयोगीमा त्यो जिम्मा पुगेको छ । गगन थापालाई यही नै मेरो प्रश्न हो : किशुनजी जस्तो हुने कि गिरिजाप्रसाद जस्तो ? अर्थात् अब उदार र लचिलो हुने थापा र प्रतिष्ठाको नाक रगेड्न छाड्नुपर्ने देउवाको अवस्था भएको छ । मैले केही दिनअघि भनेको थिएँ : देउवा नारायणस्थानबाट तल बाँसवारीसम्म झरुन् र थापाहरू भृकुटीमण्डपबाट बाँसवारीसम्म पुगुन् । माओवादी र बहुदलवादीका बीचमा सहमति हुन्छ, हमास र इजरायलका बीचमा सम्झौता हुन्छ, अनेक युद्ध र कलहको समाधान संवादको टेबुलमा हुन्छ भने कांग्रेसका बीचमा किन एउटै टेबुलको समाधान हुँदैन र ? हुन्छ ।
निर्वाचन सम्मुख छ, विरासत लामो छ, लोकतन्त्रदेखि देश र जनताप्रतिको जिम्मेदारी छ भने यो नाकको लडाइँमा किन अल्झिने ? यथार्थमा आदर्श, सिद्धान्त, कार्यक्रम, नीति, रणनीति समान हुनेहरूका बीचको मतभेद जगत हँसाईबाहेक केही हुँदैन ।
(ङ) समाधानका केही सूत्र :
मलाई लाग्छ यसबेला : थापा पक्ष बढी जिम्मेदार हुनुपर्छ र देउवालाई सम्मानित नेताको स्थानमा राख्ने, उहाँका वरिष्ठतम् सहयोगीहरूको स्थान पार्टीभित्र उचित रूपमा तय गर्ने, निर्वाचनमा दुवै पक्ष बसेर उम्मेदवार चयन गर्ने, निर्वाचनको परिणामका आधारमा नेतृत्व निर्धारण गर्ने वा अन्य दलसँग सहकार्यको नीति बनाउने, आगामी वैशाखमा निश्चित गरिएको नियमित महाधवेशन सम्पन्न गर्ने र मिलेर आयोजक समिति बनाउने र त्यसमा स्वस्थ र मैत्रीवत् प्रतिस्पर्धा गर्ने अन्य भागवण्डा र अंशवण्डाका विषयहरूलाई टुंगोमा पुर्याउन दुवै पक्षका शीर्ष नेताहरूका एक समन्वय समिति गठन गर्ने र मतभेदहरू निराकणको प्रयास गर्ने । यसबेलासम्म एकअर्कावरुद्ध गालीगलौज र तीतो आलोचना नगर्न सदस्यहरूलाई स्पष्ट निर्देशन दिने । तत्कालका केही समाधानका सूत्रहरू हुन् । वादेवादे जायते तत्वबोध : भन्छन् । तर वादेवादे पनि एकालापमा हुनसक्दैन । दुवै पक्षले जिम्मेदारीका बीचमा अहंकार, उग्र महत्वाकांक्षा, जयपराजयको गन्थन, विधि र नियमका चुकुल लगाउन स्थगित गर्न सकेमा कांग्रेसका बीच पुनः लय मिल्नसक्छ होला । बाहिर बसेर अक्षर र शब्दको खेती गर्नेहरूले भन्ने धेरै कुरा भए पनि आज यत्ति नै ।
प्रतिक्रिया