केहि समय पहिले मैले डनिङ–क्रुगर प्रभावको बारेमा लेखेको थिए। उक्त कुरालाइ एक सरल उदाहरणबाट बुझाएको थिए। आज म त्यहि प्रभावको अर्को चरण अथवा त्यसैसँग गहिरो रूपमा जोडिएको अर्को विषय ग्रान्डियोसिटी सिन्ड्रोम को बारेमा केहि कुरा गर्न चाहन्छु।
ग्रान्डियोसिटी सिन्ड्रोम भनेको सरल शब्दमा, जीवनमा आफुले आर्जन गरेको आफ्नो वास्तविक उपलब्धिभन्दा आफूलाई धेरै ठूलो र विशेष ठानिने अवस्था हो।
यसको सुरुवात प्रायः डनिङ–क्रुगर प्रभाव जस्तै सानो ज्ञान वा सफलतापछि आउने अत्यधिक आत्मविश्वासबाट हुन्छ।
तर यो भावनाको गहिरो प्रभाव लामो समयसम्मको बेवास्ता, अपमान वा आत्मसम्मानको कमी भोगेको व्यक्तिमा, अचानक ध्यान र प्रशंसा पाएपछि प्रवल रूपमा देखिन थाल्छ।
यो बास्तवमा साँचो आत्मविश्वास होइन, किनभने साँचो आत्मविश्वास बिस्तारै सिकाइ र अरुबाट पाइएको सकारात्मक प्रतिक्रियालाइ आत्मसाथ गर्दै अघिबढ्दै जादा स्वत निर्माण हुन्छ।
यसको उदाहरणहरु प्रयाप्त रूपमा हामी वरिपरि नै देख्न सकिन्छ ।
जस्तै पूर्वी नेपालका एक नेताले आफू आगामी प्रधानमन्त्री बन्ने दाबी गर्छन्, तर यथार्थ धरातल—राजनीतिक संरचना, राष्ट्रिय पहुँच, अनुभव र जनसमर्थन—सबैबाट उनको दाबी कोसौ टाढा छ। ठूलो सपना देख्नु र महत्वाकांक्षी हुनु गलत होइन, तर जब त्यो महत्वाकांक्षाले यथार्थसँगको बास्तविक सम्बन्ध गुमाउँछ, त्यसपछि त्यो भावना ग्रान्डियोसिटीमा परिणत हुन्छ।
यो किन हुन्छ ?
यसलाई बुझ्ने प्रयास गरौ ।
यसको जरा हाम्रो मस्तिष्कको कार्यप्रणालीमा गाडिएको छ र मस्तिष्कको संरचनाले यो भावना जन्माउने कार्यमा ठूलो भूमिका खेल्छ।
हामीलाई थाहा छ कि बाहिरबाट आएको सबै संकेत (सुनाइएको प्रशंसा, देखिएको समर्थन) पी एन एस हुदै सबैभन्दा पहिले मस्तिस्कको थालामस नामक “रेले स्टेसन” मा पुग्छन्। यहाँबाट ती संकेतहरुले दुई बाटो लिनुपर्ने हुन्छ : छिटो भावनात्मक बाटो (लिम्बिक प्रणाली) को बाटो वा ढिलो तार्किक बाटो (प्रीफ्रन्टल कर्टेक्स) तर्फको बाटो। हाम्रो मस्तिस्कले स्वाभाविक रुपमा उर्जा बचाउन चाहन्छ र हत्तपत्त (लिम्बिक प्रणाली) को बाटो तयगर्छ। जब प्रशंसा बारम्बार आउँछ, मस्तिष्कले सोच्नेभन्दा पहिला महसुस गर्न थाल्छ र भावनात्मक बाटो सक्रिय हुन्छ। उक्त सक्रिय भएको भावना वा अनुभवलाई बेसल ग्याङ्लियाले लक गरिदिन्छ र अटोपाइलटमा परिणत गरिदिन्छ।
स्मरण रहोस बेसल ग्याङ्लिया मस्तिष्कको बानी र स्वचालित व्यवहार बनाउने केन्द्र हो। एकपटक यो “आफूलाई ठूलो देखाउने” व्यवहार यहाँ बसेपछि, व्यक्तिले सोचेर होइन, स्वतः नै आफूलाई महान् ठान्न थाल्छ किनकि त्यो बानी अटोपाइलटमा गैसक्यो ।
त्यसपछि जस्तो सुकै आलोचना आएपनि, थालामसले त्यसलाई छान्न थाल्छ र प्रशंसा मात्र भित्र पठाउँछ जसले अटोपाइलटमा परिणत भएको बानीलाई Reinforce गरिदिन्छ। यो अवस्था भावनाको केन्द्र (लिम्बिक प्रणाली) हाबी हुदै तर्कको केन्द्र (प्रीफ्रन्टल कर्टेक्स) लाइ कमजोर पारिएको अवस्था हो।परिणामस्वरूप, व्यक्ति आलोचना सुन्न चाहदैन ,सुन्दैन, असहमति स्वीकार्दैन र आफू गलत हुन सक्छ भन्ने विचार कहिल्यै गर्दैन।
सिग्मण्ड फ्रायडले यसलाई भित्री घाउ ढाक्न बनाइएको आत्मरक्षाको ढोंगी छवि भने, अल्फ्रेड एड्लरले यसलाई “कमजोरी महसुस गरेको क्षतिपूर्ति” भनेर व्याख्या गरे।
दैनिक जीवनमा, यो त्यो व्यक्तिमा देखिन्छ जो बारम्बार आफ्नो महानता घोषणा गर्छ—वास्तवमा उ शक्तिशाली हुदैन तर उसलाई साधारण देखिने डरले पिरोली रहेको हुन्छ। आधुनिक समाज, विशेष गरी सार्वजनिक जीवन र नेतृत्व क्षेत्रमा, यस्ता भावनालाइ बढावा दिने वातावरण बनिरहेको छ ।
सामाजिक सञ्जाल र मञ्चहरूमा गरिने ठूलो स्वर र विभिन्न किसिमका दावीले मान्छेको ध्यान तुरुन्तै खिचीदिन्छ। फेरी केहि जमात यस्तो कुरालाई ठुलो बनाइदिन झुटो प्रसंसाको फुल वर्षाउछन।
यस्ता व्यक्तिहरूको कुरा दैनिक सुन्दै गर्दा , ग्रान्डियोसिटी सिन्ड्रोम भएको व्यक्तिले त्यसै झुटो प्रसंसा लाइ नै उपलब्धि ठान्छन।
त्यसपछि तिनीहरुले धेरै बोल्छन्, कम सुन्छन्, र काम गर्नु अगाडि नै जितको घोषणा गर्छन्।
इतिहासले बारम्बार देखाएको छ कि साँचो नेता शान्त रूपमा, धैर्यपूर्वक धरातलमा टेकेर आफ्ना कामहरु गर्छन्।
ग्रान्डियोस नेता ठूला ठुला दाबी गर्छन्, र अन्ततः यथार्थले तिनीहरुला बढारि दिन्छ।
अन्त्यमा, ग्रान्डियोसिटी कुनै अचानक उत्पन्न हुने ब्यबहार होइन। यो मस्तिष्कभित्र थालामसबाट सुरु भएको संवेदी संकेत, डोपामिनको पुरस्कार प्रणाली र बेसल ग्याङ्लियामा लक भएको व्यवहारको जटिल श्रृंखला हो। यसबाट बच्न र सन्तुलित आत्मविश्वास कायम गर्न, प्रीफ्रन्टल कर्टेक्सलाई—हाम्रो तर्क र यथार्थ जाँचको केन्द्रलाई—सधैं सक्रिय राख्नु जरुरी छ। यसको अर्थ हो– प्रतिक्रिया स्वीकार गर्नु, आलोचनालाई सिकाइको अवसरको रूपमा हेर्नु, र बोल्दै वा निर्णय गर्दा यथार्त को धरातल नछोड्नु।
#GrandiositySyndrome #ग्रान्डियोसिटी_सिन्ड्रोम #LeadershipPsychology #नेतृत्व_मनोविज्ञान #BrainBehavior #मस्तिष्क_व्यवहार #ConfidenceVsArrogance #आत्मविश्वास_विरुद्ध_घमण्ड #NeuroscienceInsights #स्नायु_विज्ञान_जानकारी

प्रतिक्रिया