चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मात्रै युनाइटेड अरब इमिरेट्स (यूएई) मा ९३ जना नेपाली कामदारले ज्यान गुमाएका छन्। यूएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा यी सबैको मृत्यु पुष्टि भएको हो। साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीले यूएईमा प्राण गुमाए, जसमा सबै जना वैदेशिक रोजगारीका सिलसिलामा उक्त देश पुगेका थिए। दूतावासको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ नेपाली कामदारले ज्यान गुमाएका थिए, जसअनुसार औसतमा प्रत्येक महिना २६ जना नेपालीको मृत्यु हुन्थ्यो। त्यसमुनिको आर्थिक वर्ष २०८०/८१ मा भने २३१ जना नेपालीले ज्यान गुमाएका थिए। यूएईमा नेपाली कामदारहरूको मृत्युका प्रमुख कारणहरूमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोग र अन्य आकस्मिक स्वास्थ्य समस्या प्रमुख रूपमा देखिएका छन्।


प्रतिक्रिया