खुट्टा त मेरा आफ्नै हुन्
जुत्ता अरुकै भिरेर के भाे ?
ऐना घरकै हो
हेर्याे अनुहार मेरै देखिन्छ
काया कुरुप छ
अरुको होइन आफ्नै हो।
आफ्नै गाला चिथोरेर औषधि खोज्न
हिडेको म
घर जलाएपछि
निधार भरी खरानी घसेको छु
र
भीक्षा माग्न हिडेको छु।
रगतका छिर्काहरुले
भरिएको
कमण्डलु झुण्ड्याएर
दौडिरहेको छु म
परिचयको कात्रोमा
देशको शव बोकेर
वास खोज्न मात्रै भौतारिरहेको छु म ।
खै म के भएँ ?
कसरी भएँ ?
म आफ्नु बाहेक
सबैको भएँ ।
चिताग्निमा सुत्दै गर्दा
आफ्नै हातले
आफैलाई
मुखाग्नि दिनुपर्ने हो कि?
थाहा छैन
त्यसबेला
म के हुन्छु र
कसको हुन्छु ?

प्रतिक्रिया