२१ सेप्टेम्बरका दिन अन्तराष्ट्रिय शान्ति दिवस विश्वका विभिन्न मुलुकहरुमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आव्हान गरे अनुरुप सन् १९८२ देखि यो दिवस मनाउन थालिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाउँदै आएको यो दिवस सन् २००२ देखि सेप्टेम्बर २१ का दिन मनाउन सुरु गरिएको हो ।
शान्ति सबैको साझा चाहना हो । यो शान्ति कसरी प्राप्त हुन सक्दछ ? भन्ने विषयमा मानव समाजको उत्पत्ति भएयता नै विभिन्न चिन्तन र मनन हुँदै आएको पाइन्छ । वैदिक तथा आध्यात्मिक दर्शन देखि माक्र्सवादमा आधारित द्वन्द्वात्मक भौतिकवादी दार्शनिक चिन्तन सम्म आईपुग्दा पनि शान्ति सबैको साझा प्रश्न नै बनेको छ । शान्तिदर्शन कहाँ छ ? भनेर खोज्दै जाँदा अन्ततः त्यो दर्शनको प्रणेताका रुपमा नेपालको लुम्बिनीमा जन्मनु भएका गौतमबुद्धद्वारा प्रतिपादित बौद्धदर्शनमा भेटिन्छ ।
गौतमबुद्धले प्रतिपादन गरेका चार आर्यसत्य र आर्य अष्टाङ्ग मार्गको सार तत्वलाई बुझ्दै मानव समाजमा कार्यान्वयन गर्न सकेमा विश्वशान्ति हुन सक्दछ भन्ने वैज्ञानिक र बलियो आधार भेटिन्छ । विश्वशान्ति दिवसका सन्दर्भमा संयुक्त राष्ट्रसंघलगायतका विश्वका विभिन्न मुलुकहरुले बौद्धदर्शनलाई विश्वका जनजनको मनमा सञ्चारित गर्नु आवश्यक देखिन्छ । गौतमबुद्धले शील (सदाचार), समाधि (चित्त एकाग्रता) र प्रज्ञा (बुद्धि – विवेक) ले शान्ति ल्याउँछ । सम्यक दृष्टि (ठीक समझदारी), सम्यक संकल्प (ठीक नियत र सोचाइ), सम्यक वचन (ठीक बोली) ले समाजमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् ।
शान्ति भनेको कसैलाई कुनै काम गर्नका लागि अवरोध नभइकन स्वतन्त्रपूर्वक कार्य गर्न पाउने वातावरण हो । यसमा मधुरता, भाइचारा सम्बन्ध रहेको हुन्छ । जहाँ वैरभावले काम गरेको हुँदैन । संसारका सबै मानिसहरू सुख तथा शान्ति चाहन्छन् र यस संसारमा मानिसहरूले जे–जति कार्यहरू गरिरहेका छन् त्यसको एकमात्र लक्ष्य शान्ति र सुखका लागि हो भन्ने देखिन्छ । विश्वका सबै राष्ट्रहरू मिलेर पनि विश्वमा शान्ति स्थापना गर्नु पर्दछ । शान्ति समृद्धि, सिर्जना र विकास एक अर्काका परिपूरक छन् ।
मानव समाजमा सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् । मानवीय जीवनमा मन र विचारको अन्तद्र्वन्द्व भइरहन्छ । मनले स्वतन्त्र विचरण गर्न खोज्छ । यसलाई लगाम लगाएर हिँडाउने काम विचारले गरेको हुन्छ । मानव सभ्यताको विकास पनि विचारको सञ्चारकै कारण हुँदै आएको हो । विचार पनि विविध प्रकारका हुन्छन् र रहेका छन् । विविध विचार मध्ये समाजमा शान्ति स्थापनाका लागि गौतम बुद्धका विचार महत्वपूर्ण रहेका छन् । विश्वमा शान्तिको चर्चा गर्दा बौद्ध धर्म–दर्शनलाई निकै महत्वका साथ लिने गरिन्छ । बौद्ध दर्शनको मूल आधार समाजमा मैत्री, सद्भाव, सहिष्णुता, समझदारी र समभावका आधारमा शान्ति स्थापना गर्नु मै रहेको छ ।
मनोपुब्बंगम धम्मा, मनोसेट्टा मनोमया ।
मनसा चे पदुट्टेन, भासति वा करोति वा,
ततो नं दुक्खमन्वेति चक्कं व वहतो पदं । ।
अर्थातः मन सबै प्रवृतिको अगुवा हो । मनबाट नै विभिन्न खालका इच्छाहरू उत्पन्न हुन्छन् । कुनै दूषित मनबाट कार्य गरिन्छ भने पापकर्म भएको हुन्छ । त्यसले दुःख निम्त्याउँछ । गाडीको चक्का जसले चलाउने जिम्मा प्राप्त गरेको छ, जसले चलाउँछ उसकै आधारमा चलेको हुन्छ । यसको अर्थ हो, मन शुद्ध हुनुप¥यो, शुद्ध मनले गरेको काम मात्र कल्याणकारी हुन सक्छ । गौतम बुद्धका यी उपदेशहरू शान्तिका लागि अत्यन्तै उपयोगी देखिन्छ ।
विश्वशान्तिका लागि पनि मानिसको मन शान्तिको पक्षमा हुनु पर्छ तव मात्र शान्ति स्थापना हुन्छ । विश्वमा विभिन्न स्वार्थ, अज्ञानता र विवेकहीनताका कारणले नै हिंसा र युद्धका घटनाहरू बढ्दै गएको देखिन्छ । पछिल्लो समयमा हिंसा र युद्धलाई रोक्ने र विश्वशान्ति स्थापना गर्ने उद्देश्यले नै राष्ट्रहरू बीच आपसी सहयोगको अभिवृद्धि गर्नका लागि अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना भएको छ । त्यसैका लागि सन् १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना र सन् १९४८ मा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा गरिएको छ । यस्तै सन् १९५० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित शान्तिका लागि एकता प्रस्ताव विशेष रूपले उल्लेखनीय छ ।
अहिंसात्मक जीवन पद्धतिले शान्ति स्थापनामा योगदान पु¥याउँछ । हिंसाको आरम्भ नहुनु नै शान्तिको आधार हो । शान्ति सिर्जनाको आधार शत्रुता विनाको अवस्था हो । मानिसहरू भयरहित अवस्थामा जीवनयापन गर्न पाउनु नै शान्ति हो । तनावरहित जीवन, सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् । प्रथमतः शान्ति मानिसको मनमा स्थापित भएको हुनु पर्छ । यही आधारमा शान्ति अङ्कुरित भई क्रमशः अगाडि बढेको हुन्छ । शान्तिले उज्यालोको सङ्केत गर्छ । यसका लागि सत्चरित्र र संस्कारको पनि आवश्यकता पर्दछ । शान्ति संस्कृतिको निर्माण,सुशासन र कानुनी शासन,मानव अधिकारको प्राप्ति, संरक्षण र सम्मान आवश्यक पर्दछ । समानता, स्वतन्त्रता, विवेक सम्मत आचरण र व्यवहार, न्याय सद्भाव र सहिष्णुता शान्तिका लागि अपरिहार्य तत्व हुन् ।
शान्तिका लागि मनुष्य र समस्त प्राणीजातिले आश्रय लिइरहेको पृथ्वी पनि सुरक्षित र शान्त रहिरहनु पर्छ । पृथ्वीसँग जोडिएका अन्य ग्रह, ब्रम्हाण्डीय चट्टान र नक्षत्रहरू बीच टकारावको स्थिति उत्पन्न हुन गयो भने पनि शान्तिका लागि गम्भीर समस्या उत्पन्न हुन्छ । मानिसको उत्पत्ति भए यता जीवनयापन, उत्पादन र विकासका नाममा पृथ्वी माथि भएको दोहन र अतिक्रमणले पारेको नकात्मक प्रभावका कारण त्यसले निम्त्याउने वातावरणीय सङ्कटले पनि शान्तिका लागि नकारात्मक असर पार्दछ ।
मानिसले पृथ्वी र वायुमण्डललाई क्षतविक्षत र प्रदूषित गर्दा शान्तिका लागि निकै ठूलो खतरा उत्पन्न भइरहेको छ । पृथ्वी, सागर र आकाशको कुनै पनि भागलाई क्षतविक्षत बनाउँदा अशान्तिको स्थिति सिर्जना हुन्छ । यसका लागि मानिस समयमै सजग हुनु आवश्यक देखिन्छ । भूकम्प लगाएतका प्रकृति प्रकोपले मानव–सभ्यतामाथि नै सङ्कट उत्पन्न हुन्छ । अझ त्यसमा पनि मानव जातिले आपसी स्वार्थका कारण आणविक युद्ध वा विनाश निम्त्याएर पृथ्वीको सुन्दरता र विविधतालाई नष्ट गर्ने हो भने शान्तिका लागि यो भन्दा ठूलो विडम्बना अरु केही हुन सक्दैन ।
त्यसैले प्रकृतिको विनास र क्षयीकरण हुनबाट जोगाउनु पर्दछ । प्रकृति र मानव सभ्यता माथि नै ठूलो नोक्सानी पुग्ने गरी हुने आणविक हातहतियारको प्रयोगलाई रोक्नु पर्दछ । शान्तिका लागि वाधक तत्वको रूपमा रहेका आर्थिक, राजनीतिक एवम् सामाजिक भेदभाव, शोषण, दमन र अत्याचार हुनु हुँदैन । सबैलाई मानव–अधिकार प्राप्त भएको हुनु पर्दछ । स्वतन्त्रता प्राप्त हुनु पर्दछ । जातीय भेदभाव हुनु हुँदैन । समान अवसर प्राप्त हुनु पर्दछ । चरम गरिबी, भोकमरी र अराजकताको स्थितिबाट समाजलाई मुक्त गर्न सक्नुपर्दछ । समग्रमा अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरू, पृथ्वी, जल थल र आकाश, अन्तराष्ट्रिय, क्षेत्रीय, देश, समाज र विभिन्न समुदाय, परिवार र व्यक्तिमा शान्ति हुनु पर्दछ । पछिल्लो समयमा नेपालमा उत्पन्न जेनजी आन्दोलन र यसले सिर्जना गरेको राजनीतिक तरङ्गलाई पनि शान्तिको प्रश्नसंग जोडेर बुझ्नुपर्ने हुन्छ । यसका आन्तरिक र वाह्यकारण के हुन ् ? यसको वस्तुगत विश्लेषण हुनु जरुरी छ । यो घटनालाई बोद्धदर्शनको आलोकमा विश्लेषण गर्दै शान्तिपूर्ण निकास खोज्नु आवश्यक छ । सूचना प्रविधिको चमत्कारिक विकास र प्रयोगले विश्वमा तुरुन्तै प्रभाव पार्ने हुँदा यसमा सञ्चारमा शान्ति सिद्धान्तको प्रयोगमा जोड दिनु आवश्यक देखिन्छ ।
भवतु सब्ब मंगलम् ।

प्रतिक्रिया