केपी ओलीज्यू, तपाईं निर्वाचनअघि नै विदेश भाग्नुस्। चुनाव सकिनासाथ तपाईंलाई नेपाली जनताले जेल हाल्छन्। जेलमै मर्नु पीडादायक हुन्छ, त्यसैले तपाईं भागिहाल्नुस्।
वास्तवमा म केपी ओलीलाई माया गर्ने मान्छे नै हुँ, हिजो पनि गर्थें र आज पनि गर्छु। त्यसैले उहाँलाई राम्रो सुझाव दिनु मेरो कर्तव्य हो। ओली बा! तपाईं अब यो राजनीतिको जञ्जालबाट चाँडै बाहिरिनुस् र उतै ताप्लेजुङको घर मर्मत गरेर राधिका आमालाई लिएर शान्तिसँग बस्नुस्। किनकि जनता तपाईंलाई साह्रै घृणा गर्छन्। धेरै जिद्दी बूढो नबन्नुस्। अब तपाईंसँग तपाईंको अहंकार बाहेक केही पनि बाँकी छैन। यसपालि झापा ५ मा तपाईंले जित्नका लागि ठूलै धाँधली गर्नुपर्छ, किनकि त्यहाँ यसपालि करोडौँ युवाका आत्मा तपाईंसँग चुनाव लड्न आइपुगेको छ। उसको नाम बालेन हो। यदि तपाईंले मेरो सल्लाह नमानेर जबरजस्ती गर्नुभयो भने देउवाको भन्दा साह्रै निर्मम स्थिति तपाईंको हुनेवाला छ। रिसाएका जनताले तपाईंलाई मुअम्मर गद्दाफी बनाउँछन्। चिमोटी चिमोटी मार्छन्, गद्दाफीलाई जस्तै। उसले त तपाईंले भन्दा पनि धेरै गरेको थियो। मरुभूमिका बीचबाट नहर ल्याएर जनताको खेत र घाँटी भिजाएको थियो। उसले तपाईंले भन्दा धेरै चिल्ला सडक बनाएको थियो, त्यो पनि विदेशीको एक रुपियाँ ऋण बिना। तर पनि उसलाई जनताले नै मारे, तिनै जनताले जसलाई उसले पानी पिलाएको थियो, किनकि ऊ मान्छेको सम्मान गर्दैनथ्यो। माफियाको लम्पट, अहंकारी र आफ्ना झुण्डमुण्डलाई पोस्ने, बौद्धिकलाई उल्लु ठान्ने, आफूलाई कदर गर्नेहरूलाई एकीकृत नगरी नोकर ठान्ने खालको थियो। मैले के भन्नुपर्छ र उसको बारेमा? तपाईंले पढेकै हुनुपर्छ।
शेख हसिनाको नाम पनि त सुन्नुभयो नि? यिनले पनि विकास दिएकी थिइन्, तर पार्टीलाई कम्पनी र देशलाई बिर्ता बनाइन्। परिणाम देखिहाल्नुभयो। हो, तपाईंले पार्टीलाई प्रहरी संगठनजस्तो बनाउनु भएको छ, सबै रोलक्रम। तपाईं नमरी अर्को आउनै नपाउने, जिल्ला अध्यक्ष नमरी अर्को जिल्ला अध्यक्ष हुनै नपाउने भएपछि बाहिरकाले भन्दा भित्रैकाले तपाईंलाई ढाल्नुपर्ने हुन्छ। इतिहासमा तपाईंले पढ्नुभएको होला—छोराले बाबु काटेको, कारण यही हो। छोरो बूढो भइसक्दा पनि बाबु सत्ता छोड्नै मान्दैन। अनि काट्नु बाहेक छोरासँग विकल्पै हुँदैन। वास्तवमा जनता तपाईंसँग बदला लिन चाहन्छन्। त्यसैले म तपाईंको शुभचिन्तक भएकाले भन्दैछु—केपी ओलीज्यू, तपाईं निर्वाचनअघि नै विदेश भाग्नुस्। चुनाव सकिनासाथ तपाईंलाई नेपाली जनताले जेल हाल्छन्। जेलमै मर्नु पीडादायक हुन्छ, त्यसैले तपाईं भागिहाल्नुस्।
तपाईंको शुभचिन्तक
पुण्यप्रसाद प्रसाई
बालेनको चुनाव क्षेत्र, झापा ५

प्रतिक्रिया