राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसांसद र पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेर अलग भएको सार्वजनिक घोषणा गरेकी छिन्। आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले पार्टी छाडेको जानकारी दिँदै भनिन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु। मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोस्, म पार्टी छोडेँ।”
श्रेष्ठको यो वक्तव्यले रास्वपा अध्यक्ष रवि लामिछानेको नेतृत्वमाथि असन्तोष प्रष्ट्याएको छ। उनले लामो समयदेखि पार्टीले देशभन्दा माथि पार्टी र नेतालाई राख्न थालेको आरोप लगाउँदै आलोचना गर्दै आएकी थिइन्, तर त्यो सुन्ने कोही नभएको उनको गुनासो छ। पार्टीभित्र गल्ती स्वीकार्ने संस्कार नहुँदा आलोचकलाई “मिडिया ट्रायल” गर्ने प्रवृत्तिप्रति पनि उनले आक्रोश प्रकट गरिन्।
श्रेष्ठले अन्य ठूला दलका नेताहरूलाई समेत चेतावनी दिँदै, “कांग्रेस, एमाले लगायतका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्—आजको संकट तपाईंहरूको नेतृत्वकै कारण हो। नेताहरूलाई पूजामा रमाउनु बन्द गर्नुपर्छ। कि हटाउनुहोस्, कि हट्नुहोस्,” भन्दै नेतृत्व परिवर्तनको आह्वान गरिन्।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल परेपछि रास्वपाले निरन्तर उनको बचाउ गर्दै आएको थियो। लामिछाने कारागार बाट कैदीहरु संगै कृते कागज खडा गरि भागे पछि देशभर आलोचना चर्किएको थियो। त्यसपछि विभिन्न कारागारमा हुलदंगा र आगजनी भई १० जनाको मृत्यु र १३ हजारभन्दा बढी कैदी भागेका थिए। लामिछानेले पुनः कारागार फर्किए पनि, पार्टी नेतृत्वको आचरण र रवैया सुमनाको असन्तुष्टि बढाउने मुख्य कारण बनेको देखिन्छ।
श्रेष्ठले अघिल्लो वर्ष सहमहामन्त्री पदबाट राजीनामा दिँदा समेत पार्टीभित्र निर्णय नहुनु र व्यक्तिगत लाञ्छनाले पीडित बनाइएको आरोप लगाएकी थिइन्। बारम्बार राजीनामा गर्न खोज्दा लामिछानेविरुद्धका कानुनी मुद्दा र राजनीतिक विवादका कारण प्रक्रिया रोकिने गरेको उनले बताएकी थिइन्।
उनले स्पष्ट पार्दै भनिन्, “मैले आज पार्टी छाडेँ। अहिलेको प्राथमिकता आन्दोलनका उपलब्धीलाई संस्थागत बनाउनु हो। सरकारमा जानुको कुनै कुरा छैन।” उनले जेन–जी आन्दोलनबाट आएको जनमतलाई स्थायी परिणाममा बदल्ने काममा सक्रिय रहने संकेत दिइन्। तर नयाँ दल बनाउने वा अन्य समूहसँग सहकार्य गर्नेबारे भने उनले तत्काल निर्णय नगरेको बताइन्।
यस घटनाले रास्वपाको आन्तरिक विवाद, नेतृत्वको शैली, र लामिछानेमाथिको प्रकरणले उत्पन्न गरेको संकटलाई झनै उजागर गरेको छ। सुमना श्रेष्ठको विदाइसँगै रास्वपा र मुलुकको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ तरंग आएको देखिन्छ।
प्रतिक्रिया