Updated
जंगीअड्डाबाहिर असन्तुष्टि र नाराबाजी
भदौ २५ गते काठमाडौं उपत्यकामा जारी जेनजी आन्दोलनले नयाँ मोड लिएको छ। सोमबार र मंगलबारको हिंसात्मक प्रदर्शनपछि मृत्यु हुनेको संख्या ३० पुगेको आधिकारिक जानकारी बाहिरिएको छ।
बुधबार दिउँसो नेपाली सेनाको जंगीअड्डाबाहिर युवाहरू ठूलो संख्यामा भेला भई आगामी सरकारको नेतृत्वबारे नाराबाजी र असन्तुष्टि जनाएका छन्।
सेनाका प्रतिनिधिहरूले माइकिङ गर्दै जेनजी प्रतिनिधिहरूलाई शान्त रहन र भोलि बिहान सम्पर्कमा आउन आग्रह गरे।
“को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,”
— नेपाली सेनाका प्रतिनिधि
सुशिला कार्कीको नाम प्रस्ताव, तर युवाहरू विभाजित
जेनजी आन्दोलनका प्रतिनिधिहरूले बुधबार दिउँसो पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई आगामी सरकारको नेतृत्वका लागि औपचारिक रूपमा प्रस्ताव गरेका थिए।
-
कार्कीलाई समर्थन जनाउनेहरूमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि छन्।
-
तर, जंगीअड्डाबाहिर भेला भएका केही युवाहरूले यो प्रस्तावलाई अस्वीकार गर्दै नाराबाजी गरे।
-
केही समूहहरूले बालेन शाहलाई समेत सम्भावित प्रधानमन्त्रीको नामका रूपमा अगाडि सारे।
यसरी युवाहरूबीच भिन्न–भिन्न धारणा देखिँदा जेनजी आन्दोलनको एकीकृत नेतृत्वमा चुनौती देखिएको छ।
सेनाको आह्वान : समूहगत सहमति र नाम सूची पेश गर्न आग्रह
जंगीअड्डाबाट जारी सूचना अनुसार, सेना आगामी चरणमा सबै पक्षसँग समन्वय गरेर सरकार गठन प्रक्रियामा सहयोग गर्न तयार देखिन्छ। सेनाले नेतृत्वकर्ताहरूको स्पष्ट सूची माग गर्दै भनेको छ कि “अराजक अवस्थाबाट देशलाई निकाल्न समन्वय र एकता अपरिहार्य छ।”
सेनाले भोलि बिहानसम्म:
-
ग्रुप लिडरहरूको नाम र सम्पर्क नम्बर बुझाउने,
-
नेतृत्वका लागि सहमति भएका उम्मेदवारहरूको नाम पेश गर्ने,
-
शान्तिपूर्ण ढंगले सम्पर्कमा आउने—भन्ने स्पष्ट सन्देश दिएको छ।
मृत्यु संख्या र मानवअधिकार चिन्ता
आन्दोलन सुरु भएकोदेखि अहिलेसम्म ३० जनाको ज्यान गइसकेको पुष्टि भएको छ। मानवअधिकारकर्मी र नागरिक समाजका अगुवाहरूले उच्चस्तरीय छानबिन र पारदर्शी प्रक्रियाका लागि दबाब दिइरहेका छन्।
काठमाडौँका विभिन्न स्थानमा आज पनि विरोध प्रदर्शन जारी रहेकाले परिस्थिति अझै तनावपूर्ण छ।
बालेन शाह र अन्य नामबारे बहस
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नामसमेत युवाहरूले उठाउन थालेपछि जेनजी आन्दोलनले अब राजनीतिक पुस्तान्तरण र नयाँ नेतृत्व निर्माणको बहसलाई थप गहिरो बनाएको देखिन्छ।
कुन नाममा एकमत हुन्छ भन्ने स्पष्ट नभएको र अझै पनि युवाहरूबीच छलफल र विवाद जारी रहेको छ।
जेनजी आन्दोलनले नेपालमा सत्ता संरचना परिवर्तनको बहसलाई निर्णायक चरणमा पुर्याएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि सार्ने प्रस्तावले एक खेमामा उत्साह जगाए पनि युवा पुस्ताबीचको विभाजनले आगामी राजनीतिक प्रक्रियामा थप जटिलता ल्याएको छ। सेनाले आह्वान गरेको समन्वय र समूहगत सहमतिले मात्र स्थिति स्थिर हुन सक्ने संकेत देखिएको छ।
जंगीअड्डामा उच्चस्तरीय भेट–वार्ता
भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा बुधबार धरानका मेयर हर्क साम्पाङ र व्यवसायी दुर्गा प्रसाईं पुगे। प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग लामो भेट गरेर देशको वर्तमान संकट र “निकास”बारे छलफल भएको बताए।
प्रसाईंको भनाइमा, “मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही प्राथमिकता हो। जेनजी पुस्ताको आवाज सम्मान गर्छु—बालेन होस् वा सुशिला कार्की, स्वीकार्य छ।” हर्क साम्पाङ जंगीअड्डामै रहे पनि उनको छलफलबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।
‘नागरिक सरकार’को प्रस्ताव : सुशिला कार्की अगाडि
दिनभरको परामर्शपछि जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव प्रधानसेनापति सिग्देलसमक्ष बुझाए। जंगीअड्डाबाहिर युवाहरूबीच नेतृत्वबारे मतभेद देखिए पनि सेना पक्षले माइकिङ गर्दै,
“समूह–समूहका नेतृत्वकर्ता भोलि बिहान नाम र सम्पर्क नम्बर सहित आउनुहोला,”
भन्ने सूचना दिएको छ।
मधेशका तीन जेलमा ‘जेलब्रेक’ : ९८३ कैदी फरार
आन्दोलनको आवरणमा मधेश प्रदेशका तीन जेलमा सामूहिक जेलब्रेक भएको छ।
-
जलेश्वर कारागार (महोत्तरी) : ५७६ कैदी एकैचोटि भागे।
-
गौर कारागार (रौतहट) : २३३ कैदी फरार, २४ मात्र भित्र।
-
राजविराज कारागार (सप्तरी) : २०५ कैदी भाग्दा ३१ पुन: नियन्त्रणमा।
प्रशासनका अनुसार धेरै कैदी खुला सीमा हुँदै भारततर्फ गएको शंका छ। मलंगवा कारागार (सर्लाही) मा भने सुरक्षाकर्मीले आगजनी र भाग्ने प्रयास असफल पार्दै नियन्त्रणमा लिएका छन्। वीरगञ्ज कारागारमा सेनाले हवाई फायरसहित स्थिति सम्हालेको छ।
बैंक तथा वित्तीय क्षेत्र : भौतिक क्षति, नगद सुरक्षित
काठमाडौँसहित देशका धेरै सहरमा आक्रोशित समूहले बैंकका शाखा, एटीएम र कार्यालयमा तोडफोड गरे।
-
राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर–तोडफोड र लुट प्रयास सेना उपस्थितिले रोकेको।
-
एटीएम: केही मेसिन फुटाइए पनि नगद निकाल्न नसकिएको बैंकर्सको दाबी।
नेपाल बैंकर्स एसोसिएसन र डेभलपमेन्ट बैंकर्स संघका अनुसार कर्मचारी र नगदमा क्षति छैन, तर धेरै शाखामा झ्याल–ढोका, फर्निचर जस्ता संरचनागत नोक्सानी भएको छ। शाखाहरू बन्द रहेकाले सम्पूर्ण विवरण संकलन जारी छ।
सिंहदरबार–संसद–न्यायालय : अभूतपूर्व विनाश
मंगलबार दिउँसोदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत, सरकारी वकिलको कार्यालय, विशेष/जिल्ला अदालतसहित धेरै सरकारी निकायमा आगजनी र तोडफोड भयो।
-
सिंहदरबारका धेरै मन्त्रालय भवन जले; ऐतिहासिक अभिलेख नष्ट भएको आशंका।
-
संसद सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरेको छ।
-
रातभर सेना, सशस्त्र र प्रहरी परिचालन भए पनि क्षति विशाल रहेको प्रत्यक्षदर्शीहरूको भनाइ।
सुरक्षाबलको स्थिति र नागरिकलाई आह्वान
नेपाली सेनाले मंगलबार राति १० बजेदेखि देशव्यापी कमाण्ड कडा बनाएको छ। भीड नियन्त्रण, संवेदनशील संरचना सुरक्षा र लुट/आगजनी सूचनाका लागि हटलाइन ०१–५९७९२२३ / ०१–५९७९२२४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
सेनाले “विनाकाम बाहिर ननिस्किनु” सूचित गर्दै आकस्मिक सेवामा संलग्नलाई पहिचानपत्रका आधारमा आवतजावत अनुमति दिएको छ। प्रहरीले पनि राष्ट्रहितका लागि सहकार्य गर्न सबैलाई अपिल गरेको छ।
जेनजी आन्दोलन : मृत्यु संख्या ३०, नेतृत्वमा मतभेद
हिंसात्मक घटनामा मृत्यु हुने ३० पुगेको उल्लेख छ। सरकार–विरोधी जेनजी आन्दोलनले सोसल मिडिया प्रतिबन्ध, भ्रष्टाचार, शासन–प्रणालीको विफलता लगायत मुद्दा उठाउँदै आएको छ।
नेतृत्वको सवालमा कार्की बनाम बालेन नाम बढी चर्चामा छन्। सेना पक्षले समन्वयका लागि एकीकृत टोली र सहमत नामावली मागेको छ।
बैंक–बजार र सहरको अवस्था
काठमाडौँका केही क्षेत्रमा बिहानैदेखि किराना, डेरी, तरकारी पसल खुलेका छन्। मुख्य सडकमा सेनाको गस्ती बाक्लो छ। संसद, सिंहदरबार र अन्य संवेदनशील क्षेत्र निषेधित छन्। सफाइका लागि ब्रुमर चलाइएको छ।
बाटो कहाँ?
उच्च–स्तरीय छलफलहरू जंगीअड्डामा निरन्तर भइरहेका संकेत छन्। नागरिक सरकार गठनको प्रस्ताव, जेल सुरक्षा, वित्तीय क्षेत्रको स्थिरता र ऐतिहासिक अभिलेख जोगाउने कार्य—यी सबै एकैसाथ सम्बोधन नगरे संकट थप जटिल हुने चिन्ता सरोकारवालाको छ।
हालको प्राथमिकता, सुरक्षाबलको भनाइमा—शान्ति, समन्वय र ढाँचा–पुनर्स्थापना हो; राजनीतिक रूपमा भने विश्वसनीय, समावेशी र एकीकृत नेतृत्वमा सहमति हुनु निर्णायक रहनेछ।
सुन्धारा कारागार तोडफोड : टोपबहादुर रायमाझीसहित तीन हजारभन्दा बढी कैदी फरार
काठमाडौँको सुन्धारा कारागारमा भएको आक्रमणपछि एमाले नेता टोपबहादुर रायमाझी, बेचन झा लगायत तीन हजारभन्दा बढी कैदीहरू फरार भएका छन्।
गेट खोलेर भीड प्रवेश
कारागारका जेलर कृष्ण कटवालका अनुसार, बाहिरबाट आएका आन्दोलित समूहले तीव्र प्रदर्शन गर्दै गेट खोल्न दबाब दिएपछि भीड भित्र छिरेर गेट तोडफोड गर्यो।
“बाहिरबाट आएको टोलीले गेट खोल्न दबाब दिए, अनि सबै भित्र प्रवेश गरे। भित्र भएकामध्ये करिब तीन हजार बाहिर निस्किए,” कटवालले भने।
कारागारमा करिब ३८ सय कैदी थिए। उनीहरूको भनाइमा, स्वतःस्फूर्त रूपमा बस्न चाहने थोरै बाहेक सबै फरार भएका छन्।
जेनजी आन्दोलनको प्रभाव
यो घटना देशव्यापी जेनजी आन्दोलनले चरम रुप लिन थालेको समयमा भएको हो। समाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको प्रदर्शन मंगलबार राजधानीलगायत देशभर हिंसात्मक रूप लिँदा धेरै सरकारी संरचना, पार्टी कार्यालय र नेताहरूका घरमा आगजनी तथा तोडफोड भएको छ।
सुरक्षा चुनौती थपियो
तीन हजारभन्दा बढी कैदी फरार भएपछि उपत्यकाको सुरक्षा चुनौती थपिएको छ। प्रशासन र सुरक्षाबलले काठमाडौँ उपत्यका तथा आसपासका नाकाहरूमा कडा निगरानी थालेका छन्। धेरै फरार कैदी खुला सीमा हुँदै भारततर्फ भाग्न सक्ने अनुमान सुरक्षा निकायको छ।
सेना र प्रहरीको खोजी अभियान
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रातिदेखि नै काठमाडौँ उपत्यका वरपर सघन खोजी अभियान सुरु गरेको छ। राजधानीका प्रमुख प्रवेश नाकाहरू, राजमार्ग र बसपार्कमा चेकजाँच कडा पारिएको छ।
राजनीतिक तरङ्ग
रायमाझी एमालेका पूर्व मन्त्री तथा हाल भ्रष्टाचार प्रकरणमा विवादित नेतामध्ये एक हुन्। उनको भाग्ने घटनाले राजनीतिक तरङ्ग थप उग्र बनाएको छ। यो घटनाले कैदी नियन्त्रण र कारागार सुरक्षाको तयारीबारे गम्भीर प्रश्न उठाएको छ।
प्रशासनको अपिल
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्क रहन र फरार कैदीबारे सूचना पाए तत्काल नजिकको प्रहरी कार्यालय वा सेनाको हटलाइनमा जानकारी दिन अपिल गरेको छ।
सेनाले आकस्मिक सम्पर्कका लागि ०१-५९७९२२३ र ०१-५९७९२२४ नम्बर उपलब्ध गराएको छ।
जेनजी आन्दोलनमा तीन प्रहरीको मृत्यु, कुल मृतक संख्या २२ पुग्यो
काठमाडौं, भदौ २५ – जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनले सुरक्षा निकायलाई गहिरो चोट पुर्याएको छ। बुधबार उपचारकै क्रममा घाइते भएका तीन प्रहरीको मृत्यु भएपछि आन्दोलनमा ज्यान गुमाउनेको संख्या २२ पुगेको नेपाल प्रहरीले पुष्टि गरेको छ।
मृत्यु भएका प्रहरीको विवरण
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, मृत्यु हुनेमा –
-
महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राई,
-
प्रहरी जवान उत्तम थापा, र
-
कोटेश्वरका प्रहरी जवान अमृत गुरुङ रहेका छन्।
उनीहरू मंगलबारको प्रदर्शनमा गम्भीर घाइते भएका थिए र राजधानीका विभिन्न अस्पतालमा उपचाररत थिए।
कुल मृतक र घाइतेको संख्या
यसअघि भदौ २३ गतेको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो। नयाँ मृत्युहरूसँगै कुल मृतकको संख्या २२ पुगेको घिमिरेले बताए। आन्दोलनका क्रममा ४०० भन्दा बढी नागरिक र सुरक्षाकर्मी घाइते भएका छन्।
कारागारहरूबाट सामूहिक फरार
प्रवक्ता घिमिरेले हालसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० भन्दा बढी कैदी र करिब ५०० थुनुवा फरार भएको पुष्टि गरे।
“तीमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ, तर ठूलो संख्यामा फरार कैदीको खोजी जारी छ,” उनले बताए।
धादिङ कारागारमा गोली, दुईको मृत्यु
धादिङस्थित कारागारमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।
-
गोली लागेर सात जना घाइते भएका छन्।
-
घाइते सबैलाई उपचारका लागि काठमाडौं स्थानान्तरण गरिएको छ।
कारागारमा भएका अशान्तिपछि कैदीहरूले “देशभरका जेलबाट कैदी रिहा भए, हामीलाई पनि रिहा गर” भन्दै आगजनी र तोडफोड गरेका थिए।
सुरक्षा निकाय उच्च सतर्कतामा
देशभर फैलिएका हिंसात्मक गतिविधि र जेलब्रेक घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सतर्कता अपनाएका छन्।
-
राजधानी काठमाडौंसहित प्रमुख शहरमा गस्ती र निगरानी कडा पारिएको छ।
-
नागरिकलाई संयमित रहन, अफवाहमा नफस्न र आपत्कालीन अवस्थामा प्रहरी वा सेनालाई खबर गर्न आग्रह गरिएको छ।
-
हर्क साम्पाङ : “साथ दिनुभयो भने देशको नेतृत्व गर्न तयार छु”
काठमाडौं, भदौ २५ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका छन्। बुधबार जंगी अड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै साम्पाङले जनसमर्थन पाए नेतृत्व गर्न कुनै हिच्किचाहट नरहेको स्पष्ट पारे।
“मलाई साथ दिनुहुन्छ भने देशको नेतृत्व लिन तयार छु,” साम्पाङले भने, “देश संकटमा छ, अब सही बाटो देखाउने काम गर्नुपर्छ।”
प्रतिक्रिया