नैतिकता र बिश्वास गुमाइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपश्चात् भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्। सोमबार जारी अपिलमार्फत उनले कुनै पनि किसिमको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण र संवादमार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले अपिलमा लेखेका छन्, “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।”
सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री ओलीले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्ष निकाल्नका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरिएको बताएका छन्।
नागरिकलाई संयमित रहन आग्रह
अपिलमार्फत प्रधानमन्त्री ओलीले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयमता अपनाउन विशेष आग्रह गरेका छन्।
यसअघि सोमबार काठमाडौंसहित विभिन्न सहरमा भएको प्रदर्शनमा सुरक्षा निकाय र प्रदर्शनकारीबीचको झडपमा १९ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको थियो। सरकारको दमनविरुद्ध देशव्यापी प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीको यो अपिल सार्वजनिक भएको हो।
अमेरिकी सिनेट डेमोक्र्याटिक नेता तथा न्यूयोर्कबाट निर्वाचित सिनेटर चक शुमरले नेपालमा भइरहेको हिंसात्मक दमन र आन्दोलनकारीको हत्याबारे गहिरो चिन्ता व्यक्त गरेका छन्।
उनले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालमा प्रदर्शनकारीको हत्या भएको समाचार सुनेर आफू स्तब्ध भएको बताए। विशेषगरी अभिव्यक्ति स्वतन्त्रताको अधिकारको संरक्षणका लागि सडकमा उत्रिएका कैयौं युवा आन्दोलनकारीको मृत्यु भएको घटनाप्रति उनले दुःख व्यक्त गरेका छन्।
पीडित परिवारप्रति संवेदना
शुमरले भने, “मेरा भावना पीडित परिवारहरूसँग छन्। यो हिंसात्मक व्यवहार अस्वीकार्य हो र तुरुन्त अन्त्य हुनुपर्छ।”
उनको भनाइमा नेपाल सरकारको यस किसिमको हिंसात्मक दमन अन्तर्राष्ट्रिय मानवअधिकार मान्यताको प्रतिकूल छ।
अन्तर्राष्ट्रिय ध्यानाकर्षण
सिनेटर शुमरको यो वक्तव्यले नेपालमा भइरहेको आन्दोलन र सुरक्षा निकायद्वारा गरिएको दमनले अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण पाएको संकेत गर्दछ। हालैको घटनामा १९ जनाभन्दा बढीको ज्यान गएको र सयौं घाइते भएको विवरण सार्वजनिक भइसकेको छ।
अमेरिकी हस्तक्षेपको सम्भावना
सिनेटर शुमर अमेरिकाको उच्च तहको नेतृत्वमा रहेकाले उनको यस किसिमको वक्तव्यले आगामी दिनमा अमेरिकाले नेपाल सरकारमाथि थप दबाब दिने सम्भावना बढाएको विश्लेषणकर्ताहरू बताउँछन्।
काठमाडौं / सरकारले प्रदर्शनमाथि गरेको दमनमा १९ जनाको ज्यान गएको घटनापछि देशव्यापी आन्दोलन चर्किएको छ। राजधानीदेखि विभिन्न जिल्लासम्मका शहर र गाउँमा आक्रोशित भीड सडकमा ओर्लिएको छ। आन्दोलनकारीले नेताका निवास, सरकारी कार्यालय र प्रहरी बिटलाई निशाना बनाइरहेका छन्।
मंगलबार बिहानै ललितपुर सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आन्दोलनकारीले आगजनी गरे। त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**को खुमलटारस्थित निवासमा तोडफोड गरिएको छ। नजिकै रहेको प्रहरी बिटमा समेत आगजनी भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिकामा, सुनसरीको इटहरी नगरपालिकामा, ललितपुरको ढोलाहिटी र हरिसिद्धीस्थित प्रहरी प्रभागमा आन्दोलनकारीले आगो लगाएका छन्।
काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा आन्दोलनकारीले कर्फ्यू तोड्दै प्रदर्शन जारी राखेका छन्। सातदोबाटो, लगनखेल, कुमारीपाटी, सुकेधारा, गौशाला, कोटेश्वरजस्ता क्षेत्रमा टायर बाल्दै सरकारविरुद्ध नारा लगाइएको छ।
ललितपुरमा बिहानैदेखि अशान्ति बढेको नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले बताए। उनका अनुसार आन्दोलनको प्रभाव गाउँ–गाउँसम्म पुगेको छ र भित्री सडकसमेत सुनसान छन्।
प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन्। उनीहरू नेकपा (एमाले)को पार्टी कार्यालयतर्फ अगाडि बढेका छन्।
‘जेनजी’ पुस्ताको नेतृत्वमा सुरु भएको आन्दोलन सरकारको दमन र उच्च संख्यामा भएको मृत्युका कारण देशव्यापी बन्दै गएको छ। आन्दोलनकारीले नेताहरूलाई प्रत्यक्ष जिम्मेवार ठहराउँदै उनीहरूको निवासमा आक्रमण गर्ने रणनीति अपनाएका छन्।
राजधानी र बाहिर जिल्लाहरूमा चोक–चोकमा भिड जम्मा भइरहेको छ। टायर बाल्दै, नाराबाजी गर्दै प्रदर्शनकारीले सरकारविरुद्ध आक्रोश पोखिरहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**को खुमलटारस्थित निवासमा मंगलबार बिहानदेखि प्रदर्शनकारीले लगातार ढुंगामुढा गरिरहेका छन्। घरका अधिकांश सिसा फुटेका छन्। प्रहरीको प्रयास असफल भएपछि स्थिति अझै तनावपूर्ण बनेको छ। प्रचण्ड भने बिहानै विपक्षी दलको बैठकमा सहभागी हुन घरबाट निस्किएका थिए।
ललितपुरका सातदोबाटो, लगनखेल, कुमारीपाटी लगायतका ठाउँमा आन्दोलनकारीले टायर बाल्दै विरोध प्रदर्शन गरे। ‘जेन–जी’ पुस्ताको नेतृत्वमा भएको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाइएको छ।
कीर्तिपुरस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा समेत तोडफोड भएको छ। प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाए पनि भवनमा सामान्य क्षति पुगेको पुष्टि गरिएको छ।
देशमै मात्र होइन, विदेशमा रहेका नेपाली युवाले पनि विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्।
ड्यालस, टेक्ससमा आयोजित दीप प्रज्वलन कार्यक्रममा करिब पाँच हजार जेन–जी विद्यार्थी सहभागी भए।
न्यूयोर्कमा करिब १,०००–१,५०० नेपाली भेला भई मौन श्रद्धाञ्जली अर्पण गरे।
क्यानडामा सिटी हल अगाडि करिब ४–५ हजार नेपालीको सहभागितासहित कार्यक्रम सम्पन्न भयो।
सहभागीहरूले ‘भ्रष्टाचार रोक’, ‘जनता मार्न पाइँदैन’, ‘मानव अधिकार हनन भयो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध आक्रोश पोखेका थिए।
झापाको बिर्तामोडमा युवाहरू बिहानैदेखि आन्दोलनमा उत्रिए।
मुक्तिचोकमा करिब ३०० जना युवाले सडक अवरुद्ध गर्दै टायर जलाए।
पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामग्री र प्रहरी पोष्टमा आगजनी गरियो।
नेकपा (एमाले)को पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी भयो।
यसले गर्दा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीलाई पार्टी बैठक तत्काल बोलाउन माग गरेका छन्। उनीका अनुसार, ‘जेन–जी’ पुस्ताको आन्दोलनले सिर्जना गरेको असामान्य परिस्थिति पार्टीले औपचारिक रूपमा छलफल गरेर निर्णय गर्न आवश्यक छ।
जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा समेत ढुंगामुढा भएको छ। बिहानैदेखि आन्दोलनमा उत्रिएका युवाले कार्यालयलाई निशाना बनाएका हुन्।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मानव अधिकारकर्मी घाइतेको अवस्था बुझ्न र आन्दोलनकारीलाई समर्थन जनाउन सडकमा उत्रिएका छन्।
प्रदर्शन नियन्त्रणका लागि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
भक्तपुर: जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू।
काठमाडौं: चक्रपथभित्र सम्पूर्ण क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू।
ललितपुर: वडा नं २, ४, ९, १८ र २५ का केही क्षेत्रमा बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यू लागू।
ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। स्कुलकी अध्यक्ष हालकी परराष्ट्रमन्त्री आरजु राणा देउवा हुन्।
दमकल पुगे पनि प्रदर्शनकारीले फर्काएका कारण आगो नियन्त्रणमा लिन सकिएको छैन। फायर फाइटर कमाण्डर राजकुमार ठकुरीका अनुसार, ‘सातदोबाटोमा आधा घण्टा कुर्दा पनि आन्दोलनकारीले फर्किन आग्रह गरेपछि दमकल फर्कियो।’
जेनजी आन्दोलन चर्किँदै गएपछि कोशी प्रदेशको राजधानी विराटनगरमा कर्फ्यू आदेश जारी गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहान ११ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागु हुनेछ।
प्रदेशसभा वरपर, मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास, अस्पताल र चोक–चोकलाई समेट्दै विस्तृत क्षेत्रमा कर्फ्यू लागू भएको हो।
कर्फ्यू आदेश लागू भएको भए पनि काठमाडौंमा प्रदर्शन रोकिएको छैन।
बानेश्वर क्षेत्रमा युवाहरू भेला भएर नाराबाजी गर्दै छन्।
मीनभवन क्याम्पस अगाडि करिब २०० जना ‘प्रधानमन्त्री मुर्दावाद’, ‘हाम्रा भाइ–बहिनी फिर्ता दे’ जस्ता नारा लगाइरहेका छन्।
चाबहिलमा तीन तर्फबाट—गौशाला, मित्रपार्क र जोरपाटीबाट—जुलुस प्रबेश गरेको छ।
प्रहरीले संसद भवनतर्फ जान खोज्ने युवालाई रोक्दै नियन्त्रणमा लिन थालेको छ। कतिपयलाई बानेश्वर पुग्नै नदिई बाटैमा रोकेर राखिएको छ।
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरी भीड तितरबितर पारेको हो।
यसअघि केही युवाहरू संसद भवन अगाडि पुगेर पनि प्रदर्शन गरेका थिए।
काठमाडौं, ललितपुर र भक्तपुरमा चोक–चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ।
कलंकी, बल्खु, पुरानो बानेश्वरलगायत स्थानमा ठूलो संख्यामा मानिस भेला भएका छन्।
तीनै जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेका भए पनि जनआक्रोश कम भएको छैन।
यसबीच नेपाली कांग्रेसका मन्त्रीहरू भैंसेपाटीस्थित मन्त्री निवासमा छलफलमा जुटेका छन्।
स्रोतका अनुसार कृषि मन्त्री रामनाथ अधिकारीले इमेलमार्फत राजीनामा घोषणा गरिसकेका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि ‘सामूहिक छलफल चलिरहेको र केही निर्णयमा पुगिने’ बताएका छन्।
तर सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने पार्टीको आधिकारिक बैठक नभएको र सामूहिक राजीनामाबारे कुनै निर्णय नभएको बताए।
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। गृह मन्त्रालयले जिल्ला सुरक्षा समितिमार्फत प्रहरी, सशस्त्र प्रहरी र सैनिक निकायलाई समन्वयात्मक रूपमा ‘हाइअलर्ट’मा रहन र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, देशभरका सुरक्षाकर्मीलाई सतर्कता अपनाउन र नियन्त्रण कायम गर्न आदेश दिइएको छ।
जेनजी पुस्ताले सोमबार गरेको आन्दोलनका क्रममा झडप भएपछि उपत्यकाका तीनै जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ।
त्यसको पालना गर्न सुरक्षाकर्मीलाई कडा निगरानीमा खटाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौंलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज र सरोकारवालाहरूलाई संयमता र धैर्यता अपनाउन आग्रह गरेका छन्।
उनले शान्ति र स्थिरता कायम गर्न सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
अभिनेत्री करिश्मा मानन्धरले आफू अब नेकपा एमालेसँग आबद्ध नरहेको घोषणा गरेकी छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी परित्यागको जानकारी दिँदै आफू जनताको कलाकार बनेर निरन्तर योगदान दिने इच्छा व्यक्त गरेकी हुन्।
मानन्धरले लेखेकी छन्,
“अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु।”
उनले आफूलाई सदैव जनताकै कलाकारका रूपमा चिनाउन चाहेको उल्लेख गरेकी छन्।
करिश्मा मानन्धर पछिल्लो समय एमालेसँग आवद्ध भएर राजनीतिक यात्रामा सक्रिय भएकी थिइन्। त्यसअघि उनले नेपाली कांग्रेससँग समेत नजिकको सम्बन्ध राखेकी थिइन्। तर, फेरि राजनीतिक दल त्यागेर कलाकारकै पहिचानमा फर्किने घोषणा गरेकी हुन्।
प्रतिक्रिया