निसन्तान केपी ओली लाई के थाहा सन्तानको माया र तिनीहरुलाई गुमाउँदाको पिंडा कस्तो हुन्छ भन्ने। आज जस जसले ज्यान गुमाए तिनका बाउ आमाको लागि र अधिकार खोज्नेका लागि आजको दिन कालो दिन बनेर रहिरहने छ इतिहासमा।
मान्छे मार्दै, रगतको आहालमा डुब्दै र पालैपालो सत्तामा पुगेका नेताहरूको प्रवृत्ति फेरि पनि दोहोरिएको छ। १६ जना नागरिकले ज्यान गुमाए, दुई सयभन्दा बढी घाइते भए, बालबालिकासमेत सुरक्षाकर्मीको गोलीबाट सुरक्षित रहन सकेनन्। यो दृश्य केवल सडकमा भएको झडपको कथा होइन, यो लोकतन्त्रकै अनुहारमा लागेको कालो दाग हो।
सत्ताको मोहमा अन्धा भएका शासकहरू फेरि पनि नागरिकमाथि दमन गरिरहेका छन्। उनीहरू आज पनि रगतकै भोका छन्।
आज फेरि सडकमा रगत बग्यो। १६ जना नागरिकले ज्यान गुमाए, अझ थप संख्या बढ्ने संकेत छ। दुई सयभन्दा बढी घाइते छन्। गोली बालबालिकासम्मलाई छेड्दै गएको छ। अस्पताल युद्धभूमि बनेका छन्। यो केवल राजधानीको कथा होइन, देशभर दमनको ताण्डव मच्चिएको छ।
आजको नेपालले फेरि पञ्चायत र द्वन्द कालका दमनकारी दिनहरूको सम्झना गराएको छ। जनताले बलिदान गरेर ल्याएको भनिने लोकतन्त्रकै पालामा नागरिकको रगत बगाइन्छ भन्ने कसैले कल्पना गरेको थिएन। तर सत्ताको कुर्सीमा अड्किनका लागि ओली र देउवाको सरकार त्यही बाटोमा हिँडेको छ।
जेंजी अर्थात नयाँ पुस्ताको यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको प्रतिक्रियामा सीमित छैन। यो आक्रोश भ्रष्टाचार, असमानता, अवसरको अभाव र राजनीतिक सत्ताको एकाधिकारविरुद्ध हो। फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, डिस्कर्ड र रेडिट प्रयोग गर्ने भनेर हेला गरिएको पुस्ताले आज देखाएको दृढताले उनीहरूलाई अब राजनीतिक रूपमा अज्ञानी भन्न सकिँदैन भन्ने प्रमाणित गरेको छ।
स्कुल–कलेजको पोशाकमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका ती युवायुवतीले आफ्ना मागलाई भावुक नारा र क्रियाशील उपस्थितिबाट प्रमाणित गरे। उनीहरूको लक्ष्य कुनै दलको निर्देशनमा आधारित थिएन, बरु आफ्नै चेतनामा निर्मित स्वतन्त्रताको खोज थियो।
राज्यले उनीहरूको आवाज सुन्नुको सट्टा गोली र अश्रुग्यासको जवाफ दियो। फूल पाउने ठाउँमा गोली चले, संवाद हुने ठाउँमा हवाई फायर भयो। अस्पतालहरू युद्धक्षेत्रजस्ता बने। पत्रकारसमेत सुरक्षित रहेनन्। यो केवल दमन होइन, लोकतान्त्रिक मूल्य–मान्यताको खुला उल्लङ्घन हो।
विगतमा भएका आन्दोलनहरू प्रायः दल र नेतामै केन्द्रित थिए। तर यो आन्दोलन फरक छ। यसमा कुनै ठोस नेतृत्व देखिँदैन, तर त्यसलाई ‘लिडरलेस मुभमेन्ट’ भनेर मात्र व्याख्या गर्न सकिँदैन। यसको आत्मा स्पष्ट छ— स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिताको खोज।
गणतन्त्रको नाममा दुई दशकभन्दा बढी समयसम्म आलोपालो सत्तामा बसेका नेताहरूको नैतिक अधिकार यो घटनाले समाप्त गरिदिएको छ। उनीहरूले तत्काल राजीनामा दिनुपर्छ, किनभने अब जनताले स्वीकार्ने अवस्था बाँकी छैन।
‘कलर रेभोलुसन’ सम्झाउने यो विद्रोह नयाँ पुस्ताको स्वतन्त्रताप्रतिको घोषणा हो। राज्यले मच्चाएको रक्तपात लामो समयसम्म जनताको स्मृतिमा पोलिरहनेछ। एउटा माफी वा क्षतिपूर्ति घोषणाले यो पीडा मेटिँदैन।
अबको नेपाल नयाँ पुस्ताले बनाउनेछ—रगत बगाउनेहरूको होइन, बरु रगत रोक्नेहरूको नेतृत्वमा। पुराना दलका नेताहरूसँग अब जनताले सहनशीलता गुमाइसकेका छन्। स्पष्ट सन्देश छ : तपाईंहरूलाई सत्ता चलाउने अधिकार सकिएको छ, जनताको आवाजलाई दबाउने अधिकार छैन।
प्रतिक्रिया