बिहान बिहानै
मन्दिरको टुँडालमा
माकुर माकुर गर्दै
ठुड जोड्दै गरेका
परेवाका जोडी झस्काउने गरि
ट्वाङ् ट्वाङ् ढङ् ढङ् बजेका
घण्टीको चर्को आवाजले
झस्काईदिन्छ
अनि टुट्छ प्रेमिल पल
घण्टीको आवाजले
पोथीलाई गुँडमै छोडेर
भुर्र उडेर अर्को टुँडालमा पुगेको भाले परेवा
पोथी र दुई बचेरालाई अलपत्र छोडेर
अर्को पोथीसँग ठुँड जोड्न पुग्छ।
भालेले छोडेरका परेवाका बचेराहरु
पोथीले धिकिर धिकिर हुर्काउँदैछे
भाले परेवाको सम्बन्ध
नयाँ पोथीसँग पनि टिकेन
उ फेरी अर्को टुँडाल पुग्यो
मन्दिर भरि ख्याति कमाएकी
अर्की पोथीको गुँडमा भुरभुराउन थालेकोछ
तेस्री पोथीलाई मन्दिर वरिपरी
सबैले चिन्छन्
त्यसैले दाना दिन्छन् पानी दिन्छन्
भाले परेवा तेस्री पोथीको दानापानीमै दँङ्ग छ
एकदिन तेस्री चञ्चले पोथीले
भालेको विगत र नियत
थाहा पाउँछे र उ मन्दिरको टुँडाल छोडेर
गाउँको घर फर्किन्छे
भाले परेवा पनि पछि पछि गाउँ फर्कियो
गाउँमा जुरेली, गौँथलीलाई
गिद्धे नजर नडुलाएको कहाँ हो र उसले
एकदिन जिम्माल बाको घरको धुरीमा
एउटी पोथी परेवा फुरफुर गरेको देख्यो उसले
जिम्माल बाको आँगनै भरि
असरल्ल छरिएका बिस्कुन
फकाई फकाई आ….. आ…. भन्दै
जिम्माल बाले पुल्पुल्याएकी पोथी परेवा
चोटा र बुईँगलमा फुरुक फुरुक गर्दै
मस्केको पनि देखेकै हो उसले
आखिर माकुर माकुर गर्दै
फकाई छोड्यो जिम्माल बाको पोथी परेवालाई
हेर्दा जुरेलाको जुरो जस्तो सिउर भएको
चिभे चरो जस्तै हल्ला गर्न सक्ने
भँगेरो जस्तै आफ्नै चल्ला
गुँडबाट लखेट्ने
भाले परेवा पाएर
यता जिम्माल बा दँङ्ग
उता पोथी परेवा दँङ्ग
उ त झन् दँङ्गदास!
आज भाले परेवा
पिँन्जडामा छ
माग्नेले मागेको मानो
गरिबले मकै पोलेर किनेको बिस्कुन
कतिको बचेराको गास काटेर बचाएको अन्न
सबै सबै,
कसैको केही बाँकी नराखेर
खाने, छर्ने र पोख्ने गरेपछि
गाउँलेले छोपेर थुनिदिएकाछन्!
घण्टी मुहूर्तको बेलामा मात्र बज्नु पर्छ !
पूजामा मात्र बज्नु पर्छ !
साबधान
चोकमा घण्टी बजाउनेहरुसँग
बेला न कुबेला घण्टी बजाउनेहरुसँग
आज पनि घण्टी बज्दा झस्किन्छन्
भाले परेवाले छोडेका
पोथीको छातीमा
हुर्कदै गरेका बचेराहरु!
प्रतिक्रिया