जीवनमा कतिपय सम्बन्ध रगतले बनाउँछ, कतिपय समयले बनाउँछ, कतिपय परिस्थितिले बनाउँछ र कतिपय सम्बन्ध यस्ता हुन्छन्, जसलाई न त रगतको नाता चाहिन्छ, न वर्षौंको चिनजान। मन मिलेपछि, भावना जोडिएपछि र आत्मीयता गाँसिएपछि अपरिचित मान्छे पनि आफ्नै सन्तानजस्तो भएर हृदयमा बस्न पुग्दोरहेछ। मेरो जीवनमा त्यस्तै एउटा सुन्दर, भावुक र अप्रत्याशित सम्बन्ध लिएर आइन् अभिनेत्री अञ्जना बराइली। उनलाई मैले जन्माएको होइन, तर चलचित्र ‘सिन्दुरे जात्रा’ले मलाई अर्की एउटी छोरी जन्माइदियो – मेरी छोरी अञ्जना।
‘सिन्दुरे जात्रा’मा अञ्जना नायिकाको भूमिकामा छिन् र म उनको पिताको भूमिकामा, गाउँको जिम्माल बा। चलचित्रको छायांकन सम्पन्न भएर अहिले सम्पादन, स्वराङ्कनलगायत पोस्ट प्रोडक्सनको चरणमा छ। चलचित्रमा विजय बरालसहित थुप्रै प्रतिभाशाली कलाकारसँग काम गर्ने अवसर मिल्यो। आफ्नो लामो कलाकारिता यात्रामा नयाँ र पुराना दुवै पुस्ताका प्रतिभासँग काम गर्ने अवसर मलाई धेरैपटक मिलेको छ। तर ‘सिन्दुरे जात्रा’ मेरो जीवनमा चलचित्र मात्र बनेर आएन; यसले मलाई एउटा यस्तो भावनात्मक उपहार दिएर गयो, जुन सम्भवतः जीवनभर मसँग रहनेछ।
मलाइ चलचित्रमा अहम भूमिका निभाउने अवसर दिने र अर्की छोरी जन्माइदिने निर्माता दिनेश खड्का र निर्देशक सरोज पौडेल प्रति म सधै सधै आभारी रहने छु ।
अञ्जनाको चलचित्र यात्रा पनि छोटो समयमा उल्लेखनीय रूपमा अघि बढेको छ। ‘महापुरुष’बाट ठूलो पर्दामा प्रवेश गरेकी उनले त्यसपछि ‘पुजार सार्की’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘महाभोज’, ‘परान’लगायतका चलचित्रमा फरक–फरक प्रकृतिका पात्र निर्वाह गर्दै आफूलाई नयाँ पुस्ताकी सम्भावनाशील र सक्षम अभिनेत्रीका रूपमा स्थापित गर्दै लगेकी छन्। ‘पूर्णबहादुरको सारङ्गी’मा समेत विजय बरालसँग अभिनय गरेकी अञ्जना ‘सिन्दुरे जात्रा’मा पुनः उनीसँगै देखिँदैछिन्। तर मैले अञ्जनालाई पर्दामा मात्रै चिनेको होइन; उनलाई नजिकबाट बुझ्ने मौका मैले ‘सिन्दुरे जात्रा’को सेटमा पाएँ। उनका म्युजिक भिडियो र भिडियोहरु भन्छन – उनी एकदम प्रतिभाशाली कलाकार हुन् र यिनले केही गर्छिन ।
सिन्दुरे जात्राको छायांकनका करिब ३५ दिनमा मैले एउटा कलाकार अञ्जनालाई मात्र होइन, एउटा अनुशासित, स्वाभिमानी, संवेदनशील र आत्मीय छोरीलाई क्रमशः चिन्दै गएँ।
अञ्जना अभिनय गर्दा पात्रभित्र यसरी डुब्थिन् कि कहिलेकाहीँ क्यामेरा बन्द भइसकेपछि पनि त्यो भाव हाम्रो मनबाट हट्दैनथ्यो। हामी बाबु छोरीका दृश्यहरू गर्थ्यौं। निर्देशकले “कट” भन्नुहुन्थ्यो, क्यामेरा रोकिन्थ्यो, प्राविधिकहरू अर्को दृश्यको तयारीमा लाग्थे, तर हाम्रो मनमा त्यो दृश्य चलिरहेकै हुन्थ्यो। अभिनय र वास्तविक भावनाबीचको सीमारेखा कतिबेला मेटिन्थ्यो, हामी आफैँलाई थाहा हुँदैनथ्यो। मलाई चलचित्र छायांकन अबधिभर धेरै पटक अभिनयले रुवाएकी छन छोरी अञ्जनाले । उनी त्यो दिन आंधीखोलाको अन्तिम दृश्य जहाँ उनलाई बाबुको हैसियतले मैले दागबत्ती दिनु पर्ने सिन थियो । उनी त्यो दिन त्यहाँ थिइनन, उनको पुत्ला बनाएर तर उनका सारी लगायतका लुगा सहित जलाउंदै गरेको सिनमा म धेरै रोएँ, मेरा अभिनयका आँशु बग्ने ठाउँमा बास्तबिक आँशु थामिएनन, कुनै पनि बाबुले छोरीको यस्तो दिन देख्ने नपरोस, कल्पनै गर्न नपरोस।
एक दिनको त्यो क्षण म सायद जीवनभर भुल्न सक्दिनँ। दृश्य सकिएको थियो, तर मनमा बसेको बाबु छोरीको पीडा र माया सकिएको थिएन। अञ्जना र म एकअर्कालाई बाबु छोरीकै रूपमा अँगालो हालेर रोयौँ। त्यो रुवाइ अभिनयको थिएन। त्यो संवाद थिएन। त्यो कुनै पटकथाको पाना पनि थिएन। त्यो त दुई मानिसबीच जन्मिसकेको एउटा नयाँ सम्बन्धको मौन घोषणा थियो।
त्यही क्षण मलाई लाग्यो, कलाकारिता कति अद्भुत संसार रहेछ! कहिले यसले हामीलाई हँसाउँछ, कहिले रुवाउँछ, कहिले आफूभन्दा बिल्कुलै फरक पात्र बनाउँछ र कहिलेकाहीँ त जीवनमा नसोचेको सम्बन्ध नै उपहार दिन्छ।
अञ्जनामा मैले मेरी आफ्नै छोरी सुष्माको धेरै झल्को पाएँ। स्वभावमा, व्यवहारमा, आत्मसम्मानमा, आफ्नो कामप्रतिको गम्भीरतामा र बाबुप्रतिको आत्मीयतामा। मेरी छोरी सुष्माले जसरी मलाई माया गर्छिन्, मेरो छेउमा बस्न खोज्छिन्, बाबुको ख्याल गर्छिन्, अञ्जनामा पनि मैले पटक पटक त्यही भाव पाएँ। हरेक दिन अञ्जनाले मलाई बुवा के खानु भयो ? कस्तो छ हजुर लाई ? खाना बस्न गाह्रो भा छ कि ? आदि इत्यादि सोध्थिन, यता अमेरिकाबाट मेरी आफ्नै छोरी सुष्माले जस्तै ।
म सुटिङ सेटमा पुग्नासाथ उनी म बसेको ठाउँ खोज्दै आइपुग्थिन “बुवा, दर्शन!” भन्दै ढोग्थिन्। त्यो शब्दमा औपचारिकता थिएन, माया थियो, बिश्वास थियो ।
जहाजमा यात्रा गर्दा होस् वा गाडीमा, “बुवा, म हजुरसँग बस्छु” भन्दै मेरो छेउको सिट खोज्थिन। कहिलेकाहीँ म आफैँ अचम्म पर्थें, यो चलचित्रको सम्बन्ध हो कि वास्तविक जीवनको? बिस्तारै उत्तर पनि आफैँ भेटिन थाल्यो, चलचित्रले सुरु गरिदिएको सम्बन्ध वास्तविक जीवनमै प्रवेश गरिसकेको थियो।
उनमा मैले अर्को एउटा अत्यन्त मन परेको गुण पाएँ, अनुशासन। सबैसँग सम्मानपूर्वक बोल्ने, तर अनावश्यक हेलमेल नगर्ने। आफ्नो मर्यादा बुझ्ने। आफ्नो सीमारेखा थाहा पाउने। सही कुरामा दृढ रहने। आफूलाई गलत लागेको कुरामा केवल कसैलाई खुसी पार्न सम्झौता नगर्ने। बाहिरबाट हेर्दा सरल र शान्त, तर आफ्नो मान्यता र आत्मसम्मानमा चट्टानजस्तै अडिने।
आजको कलाकारिता क्षेत्रमा प्रतिभासँगै यस्तो आत्मअनुशासन हुनु अझ ठूलो सम्पत्ति हो भन्ने मलाई लाग्छ जुन अन्जनामा छ ।
अञ्जना नृत्यमा उत्तिकै सिपालु छिन्। अभिनयमा भाव समात्ने उनको क्षमता अझ विशेष लाग्छ। संवाद बोल्नु मात्रै अभिनय होइन, आँखाले बोल्न सक्नु, मौनताबाट भाव बुझाउन सक्नु, पात्रको पीडा आफ्नै पीडाजस्तो महसुस गराउन सक्नु र दर्शकलाई त्यो पात्रसँग जोड्न सक्नु वास्तविक अभिनय हो। अञ्जनामा मैले त्यस्तो प्रत्यक्ष देखेँ।
मैले करिब चार दशक गीतसंगीत, पत्रकारिता, साहित्य, चलचित्र र कलाकारिताको क्षेत्रमा बिताउँदा धेरै प्रतिभासँग भेटेँ। धेरै भाइबहिनी पाएँ। धेरै छोरा छोरीजस्ता कलाकार पाएँ। थुप्रै चेलाचेली बने। जहाँसम्म सकेँ, उनीहरूको सुख दुःखमा आफ्नो जिम्मेवारी सम्झेर उभिने प्रयत्न गरेँ। उमेर बढ्दै जाँदा आफ्ना सन्तान केवल आफूले जन्माएका दुई जना मात्र हुँदैनन् भन्ने कुरा अझ बढी बुझिँदोरहेछ। कसैलाई ज्ञान दिन सकियो भने ऊ पनि सन्तान, कसैलाई बाटो देखाउन सकियो भने ऊ पनि सन्तान, कसैलाई अप्ठ्यारोमा हात दिन सकियो भने ऊ पनि आफ्नै मान्छे बन्छ ।
तर यसपटकको नेपाल बसाइ र चलचित्र यात्राले मलाई फरक अनुभव दियो। नयाँ पुस्ताका धेरै प्रतिभाशाली कलाकारसँग काम गर्ने अवसर पाएँ। उनीहरूको काम गर्ने शैली, सोच, ऊर्जा र सिर्जनशीलता नजिकबाट देखेँ। नयाँ पुस्तामाथि कहिलेकाहीँ हतारमा अनेक टिप्पणी गरिन्छ, तर उनीहरूसँग बसेर काम गर्दा मैले अर्को पाटो पनि देखेँ ,अत्यन्त मेहनती, सिक्न चाहने, आफ्नो पहिचान आफैँ बनाउन संघर्ष गरिरहेका असंख्य प्रतिभावान युवाहरु । अञ्जना त्यही पुस्ताको एउटा सुन्दर प्रतिनिधि लाग्छिन्।
‘महापुरुष’बाट सुरु भएको उनको ठूलो पर्दाको यात्रा ‘पुजार सार्की’ हुँदै नेपाली चलचित्र इतिहासमै ठूलो दर्शकीय सफलता पाएको ‘पूर्णबहादुरको सारङ्गी’सम्म पुग्यो। त्यसपछि पनि उनले एकपछि अर्को फरक विषय र चरित्रका चलचित्रमा आफूलाई परीक्षण गरिरहेकी छिन्। सफलता पाएपछि उड्नेभन्दा पनि आफ्नो काममार्फत अगाडि बढ्ने कलाकारको यात्रा लामो हुन्छ। छोरी अञ्जनाले पनि यही बाटो समातिरहोस् भन्ने मेरो चाहना छ।
‘सिन्दुरे जात्रा’मा हाम्रो सम्बन्ध पर्दामा बाबु छोरीको हो। तर चलचित्रको अन्तिम दृश्यसँगै त्यो सम्बन्ध समाप्त भएन। प्याकअप भयो, सेट छुट्यो, सबै आआफ्नो बाटो लाग्यौँ, तर अञ्जना मेरो मनबाट चलचित्रको पात्र बनेर बाहिरिइनन्। उनी त्यहीँ छोरी बनेर बसिरहिन्।
अब उनका गीत हेर्दा, अभिनय हेर्दा आफ्नै छोरीको काम हेरेजस्तो लाग्छ। उनका चलचित्रका समाचार पढ्दा आफ्नै सन्तान अघि बढेको खबर पढेजस्तो लाग्छ। उनको राम्रो कामको चर्चा हुँदा मनभित्र गर्वको एउटा लहर उठ्छ। कतै कुनै कठिनाइ आएको सुन्दा बाबुको मन चिन्तित हुन्छ।
उनी मलाई “बुवा” भन्छिन्, म उनलाई “छोरी” भन्छु। यति नै पर्याप्त छ हाम्रो सम्बन्धलाई परिभाषित गर्न।
यसरी हेर्दा मेरो घरमा पनि एउटा नयाँ नाता थपिएको छ। मेरी छोरी सुष्माले बहिनी पाइन्। छोरा ज्ञानेन्द्रले अर्की बहिनी पायो। अनि तिर्थाले नौ महिना कोखमा नराखीकनै अर्की छोरी पाइन् – अञ्जना।
जीवनका सुन्दर सम्बन्धहरू सायद यस्तै हुन्छन्। तिनलाई कानुनी कागज चाहिँदैन, वंशावली चाहिँदैन, प्रमाणपत्र चाहिँदैन। मनले स्वीकारेपछि सम्बन्ध आफैँ वैधानिक हुँदोरहेछ।
आज मेरी त्यही प्यारी छोरी अञ्जनाको जन्मदिनको अवसर रहेछ।
छोरी अञ्जना,
तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना, माया र आशीर्वाद।
तिमीले कलाकारिताको आकाशमा अझ धेरै उचाइ प्राप्त गर। सफलताको चमकले तिम्रो सरलता कहिल्यै नछोपोस्। लोकप्रियताले तिम्रो अनुशासन नबिगारोस्। प्रशंसाले तिमीलाई अहंकारी नबनाओस् र आलोचनाले तिमीलाई कमजोर नबनाओस्। आफ्नो आत्मसम्मान, मेहनत, संस्कार र प्रतिभालाई सधैँ साथमा लिएर अगाडि बढिरहनू।
कलाकारको जीवनमा सफल चलचित्र आउँछन्, असफल चलचित्र पनि आउँछन्। ताली बज्ने दिन आउँछन्, आलोचना हुने दिन पनि आउँछन्। तर असली कलाकारलाई एउटा शुक्रबारको व्यापारले परिभाषित गर्दैन। उसको चरित्र, निरन्तरता, साधना र समयसँगै छाडेको प्रभावले परिभाषित गर्छ।
मेरो कामना छ, तिमी केवल सफल अभिनेत्री मात्र होइन, असल कलाकार र असल मानिस बनेर नेपाली चलचित्र क्षेत्रमा लामो यात्रा गर।
तिम्रो प्रतिभाले अझ धेरै पात्रलाई जीवन देओस्। तिम्रो नृत्यले दर्शकको मन जितोस्। तिम्रो अभिनयले दर्शकलाई कहिले हँसाओस्, कहिले रुवाओस्, कहिले सोच्न बाध्य पारोस्। नेपाली चलचित्रले तिमीमाथि गर्व गर्ने दिन अझ धेरै आऊन्।
तर यी सबैभन्दा माथि, सेटमा “बुवा, दर्शन” भन्दै मेरो नजिक आउने त्यो सरल अञ्जना कहिल्यै हराउन नदिनू।
छोरी, तिम्रो यो बुवा टाढा भए पनि तिम्रा हरेक राम्रा पाइला हेर्न चाहन्छ। तिम्रो उन्नति, प्रगति र समृद्धिको खबर सुन्न चाहन्छ। तिमी लड्यौ भने उठेको हेर्न चाहन्छ, थाक्यौ भने फेरि हिम्मत बटुलेको हेर्न चाहन्छ र सफलताको चुचुरोमा पुगेपछि पनि आजकै जस्तो सरल मुस्कानसहित उभिएको देख्न चाहन्छ। तिम्रा हरेक पाइलाले सफलता चुमून्।
तिम्रा सपना सगरमाथाभन्दा अग्ला बनून् र ती सपना पूरा गर्ने तिम्रो हिम्मत त्योभन्दा पनि अग्लो बनोस्। तिम्रो जीवनमा सुख, शान्ति, स्वास्थ्य, सम्मान, माया र सफलताको कहिल्यै कमी नहोस्। मैले जन्म नदिएकी तर मनले आफ्नै छोरी मानेकी मेरी प्यारी छोरी अञ्जना, तिमीलाई फेरि पनि जन्मदिनको असंख्य शुभकामना र बुवाको हृदयभरिको आशीर्वाद।
मेरी छोरी अञ्जनाको सधै जय होस्।
चलचित्र रिलिज नहुँदै छायांकनका क्रममा खिचिएका फोटोहरु सार्बजनिक गर्न नमिल्ने हुँदा सार्बजनिक गरिएको छैन । पछि हामी बाबु छोरीका फोटोहरु सार्बजनिक गर्ने नै छु जसले मेरो यो आलेखलाई सहजै प्रमाणित गर्नेछन ।






प्रतिक्रिया