अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको विकास र निगरानीका लागि ‘AI Force’ गठन गर्ने तथा नयाँ ‘AI Czar’ नियुक्त गर्ने घोषणा गरेका छन्। शनिबार ट्रुथ सोसलमार्फत घोषणा गर्दै ट्रम्पले एआईलाई अमेरिकी आर्थिक र प्राविधिक भविष्यका लागि महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाइने बताएका हुन्। यद्यपि प्रस्तावित ‘AI Force’ को संरचना, अधिकार, बजेट तथा नयाँ एआई सल्लाहकारको जिम्मेवारीबारे विस्तृत योजना सार्वजनिक गरिएको छैन।
ट्रम्पले एआईलाई “अर्को औद्योगिक क्रान्ति” को संज्ञा दिँदै यसको विकासलाई अनावश्यक रूपमा रोक्ने वा दबाउने नीति आफ्नो प्रशासनले नलिने बताएका छन्। सम्भावित दुरुपयोग वा गैरकानुनी गतिविधि नियन्त्रण गर्न विद्यमान आपराधिक तथा नागरिक कानुनी प्रणाली प्रयोग गर्न सकिने उनको धारणा छ। उनले प्रस्तावित ‘AI Force’ लाई आफ्नो पहिलो कार्यकालमा स्थापना गरिएको अमेरिकी Space Force सँग तुलना गरेका छन्।
यसअघि भेन्चर क्यापिटलिस्ट डेभिड स्याक्स ट्रम्प प्रशासनका एआईसम्बन्धी प्रमुख सल्लाहकार थिए। उनी उक्त भूमिकाबाट हटेर अहिले बाह्य सल्लाहकारका रूपमा संलग्न छन्। नयाँ नियुक्ति भएपछि यो ट्रम्प प्रशासनको दोस्रो प्रमुख एआई सल्लाहकार व्यवस्था हुनेछ।
ट्रम्पको घोषणा एआईको तीव्र विकास, सुरक्षा, रोजगारी, ऊर्जा खपत तथा विशाल डेटा सेन्टरहरूको प्रभावबारे अमेरिकाभित्र बहस बढिरहेका बेला आएको हो। अर्कोतर्फ, अमेरिका र चीनबीच एआई, सेमिकन्डक्टर र उन्नत प्रविधिमा प्रतिस्पर्धा तीव्र छ। अमेरिकी अधिकारीहरूले एआई सुरक्षालाई चीनसँगको उच्चस्तरीय वार्ताको प्रमुख विषय बनाइरहेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सेप्टेम्बर २४ मा वासिङ्टन भ्रमण र ट्रम्पसँगको भेटअघि एआईसम्बन्धी यो घोषणा विशेष चासोका साथ हेरिएको छ।
ट्रम्पले एआई उद्योगबारे भनेका छन् कि अमेरिका यसको विकासलाई रोक्ने होइन, प्रवर्द्धन गर्ने र सँगसँगै निगरानी गर्ने बाटोमा जानेछ। उनको नयाँ घोषणाले अमेरिकी एआई नीति अब प्रविधिको तीव्र विकास, चीनसँगको प्रतिस्पर्धा र सुरक्षा तथा नियमनबीचको सन्तुलनमा केन्द्रित हुने संकेत दिएको छ।
प्रतिक्रिया