काठमाडौं । लोकप्रिय कलाकार, निर्माता तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले नयाँ नेपाली फिल्म ‘गोबर गणेश’ शुभमुहूर्त कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रममा मरिचमान श्रेष्ठका गुरु केदार माग्ने बुुढाले परम्परागत विधिबाट शुभमुहूर्त गरेका थिए। शुभमुहूर्तपछि मरिचमानले आफ्नो नयाँ प्रोजेक्टबारे जानकारी दिँदै नेपाली कथावाचन र मौलिकतामा आधारित फिल्म बनाउन लागिएको बताए।
मरिचमान श्रेष्ठलाई नेपाली दर्शकहरूले ‘बल्छी धुर्बे’ टेलिश्रृंखलाबाट विशेष रूपमा चिनेका छन्। उनले अभिनय मात्र नभई हास्य, व्यङ्ग्य र सामाजिक सन्देश मिश्रित सामग्रीमार्फत ठूलो दर्शक वर्ग बनाएका छन्। पछिल्लो समय उनले निर्माता र निर्देशकका रूपमा पनि सक्रियता बढाएका छन्।
फिल्मको कथावस्तु ग्रामीण भेगको जीवनशैली, समाजका समस्या र हास्यरससँग जोडिएको रहने प्रारम्भिक जानकारी दिइएको छ। मरिचमानले नेपाली फिल्म उद्योगमा मौलिकपन ल्याउने उद्देश्यले यस परियोजना अघि बढाइएको बताए। उनले भने, “दर्शकलाई हसाउने मात्र होइन, सोच्न बाध्य पार्ने खालको फिल्म बनाउने मेरो प्रयास हुनेछ।”
शुभमुहूर्तमा गुरु केदार माग्ने बुुढाले मरिचमानलाई सफलताको शुभकामना दिँदै नेपाली कला–संस्कृतिलाई विश्वमञ्चमा पुर्याउन सधैं कर्मठ भएर लागिरहन आग्रह गरे। उनले मरिचमानलाई अनुशासित, मेहनती र मौलिक कलाकारको उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गोबर गणेश’ सफल हुने विश्वास व्यक्त गरे।
‘गोबर गणेश’ निर्माणको घोषणा भएपछि नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह देखिएको छ। मरिचमानको लोकप्रियता, उनको सामाजिक व्यङ्ग्यात्मक शैली र गाउँ–घरको कथा भन्ने क्षमता यस फिल्मलाई चर्चामा ल्याउने अपेक्षा गरिएको छ। फिल्मको कलाकार, प्राविधिक टोली र प्रदर्शन मिति बारे थप जानकारी आउन बाँकी छ। तर मरिचमानले यसलाई बिग प्रोजेक्टका रूपमा अघि बढाउने संकेत दिएका छन्।
प्रतिक्रिया