
काठमाडौं/‘सत्य र न्यायको खोजी अभियान’ले विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुंवरविरुद्ध गम्भीर आरोपसहित न्याय परिषद् सचिवालयमा उजुरी दर्ता गरेको छ। उजुरीमा कुंवरले विशेष अदालत ऐन, २०५९ र नेपालको संविधानको धारा १५३ अनुसारको कानूनी व्यवस्था तथा न्यायिक आचरण संहिता, २०७५ को उल्लङ्घन गर्दै राजनैतिक प्रभावमा पर्ने गरी कार्य गरेको दाबी गरिएको छ।
अभियानका अध्यक्ष ध्रुवलाल श्रेष्ठले दर्ता गरेको उजुरीमा कुंवरले विशेष अदालतमा कार्यरत रहँदा नेपाली कांग्रेसका नेता गगनकुमार थापाको सम्पर्क कार्यालयमा उपस्थित भई, राजनीतिक व्यक्तिसँग प्रत्यक्ष सम्पर्क राखेको, न्यायिक निष्पक्षताविरुद्धको गतिविधि गरेको र यस सम्बन्धी समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत आएको उल्लेख छ।
उजुरीमा अदालतको कार्यप्रणाली, आदेश, पुर्पक्ष र फैसलामा कानूनी पक्षलाई कमजोर पार्ने गरी कार्य भएको, साथै विशेष अदालत ऐन र नियमावली विपरीत भावनात्मक तथा राजनीतिक पक्षपाती व्यवहार देखिएको आरोप लगाइएको छ। यसैगरी, कुंवरको क्रियाकलापले न्यायपालिकाको गरिमा, निष्पक्षता र विश्वासमा आघात पु¥याएको भन्दै कारबाहीको माग गरिएको छ।
अभियानले न्याय परिषद्लाई तत्काल छानबिन गरी कुंवरलाई न्यायिक पदबाट हटाउन, कानूनी कारबाही गर्न र यस्ता कार्य दोहोरिन नदिने व्यवस्था मिलाउन आग्रह गरेको छ। यस प्रकरणले न्यायपालिकाको निष्पक्षता र स्वायत्तताप्रति गम्भीर प्रश्न उठाएको भन्दै कानूनी तथा न्यायिक वृत्तमा चासो बढेको छ।






प्रतिक्रिया