झण्डै दुई दशक लामो यात्रा पूरा गर्न नजिक पुगेको लोकप्रिय हास्य टेलिसिरियल ‘मेरिबास्सै’ नयाँ ऊर्जासहित अघि बढ्ने भएको छ। कलाकार राजु पौडेल (राजु मास्टर) फेरि टिममा फर्किएका छन् र उनले अब यस सिरियलको लेखन, निर्देशन र अभिनय तीनै जिम्मेवारी सम्हालेका छन्।
मिडिया हवको प्रस्तुतिमा १९ वर्षदेखि निरन्तर प्रसारित ‘मेरिबास्सै’ले राजुलाई कलाकारितामा चिनाएको थियो। उनले सुरुवाती १२ वर्ष यो सिरियलमा निरन्तर अभिनय गरेपछि ६ वर्ष अन्य टेलिसिरियलमा काम गर्दै अनुभव बटुलेका थिए। पुनः आफ्नै टिममा फर्किएको खुशी व्यक्त गर्दै राजु भन्छन्, “मेरिबास्सै मेरो घर हो, यहीँबाट मैले कलाकारिता सिकेँ र यहीँको कारण आज म यहाँसम्म आइपुगेको हुँ। यसपालि लेखन र निर्देशनको जिम्मेवारी पनि सम्हाल्दै फर्किएकोले यो खुशीसँगै ठूलो चुनौती पनि हो।”
राजुले पछिल्लो समय आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियल निर्माण गर्दै आएका थिए, जसले उनलाई थप परिपक्व अनुभव दिलाएको उनले बताउँछन्। अब उनले ‘मेरिबास्सै’को ९२३औं भागदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्। उनका अनुसार यसपटकको कथावस्तु नयाँ मोडमा अघि बढ्नेछ र यसको प्रारम्भिक चार भागको छायांकन सकिएको छ। छायांकन स्थल धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी भदुवारमा रहेको छ।
यो नयाँ यात्रामा राजुसँगै पुरानो परिवार पनि फर्किएको छ, मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) लगायत रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायत कलाकारहरूको अभिनय रहनेछ।
सिरियलको छायांकन घनश्याम पोखरेल र ज्ञानकुमार कट्टेलले गर्नेछन् भने सम्पादनको जिम्मेवारी रविन्द्र भट्ट र अशोक चौधरीले सम्हाल्नेछन्। व्यवस्थापनमा उज्जवल खड्का रहनेछन्। मुख्य सहायक निर्देशक सन्देश लामिछाने (बटारे कान्छो) हुन्, जसले सिरियलमा अभिनय पनि गर्नेछन्। ‘मेरिबास्सै’ प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युब च्यानलमार्फत प्रशारण हुँदै आएको छ।

राजु मास्टर उर्फ राजु पौडेल नेपाली कला, संस्कृतिका क्षेत्रका एक बहुमुखी प्रतिभा हुन्, जो कलाकार, निर्देशक, निर्माता र लेखकको रूपमा लामो समयदेखि नेपाली दर्शकको मनमा बस्न सफल भएका छन्। हास्य, व्यङ्ग्य र यथार्थपरक कथावाचनमा उनी कुशल मानिन्छन्। विशेषगरी लोकप्रिय हास्य टेलिसिरियल ‘मेरिबास्सै’मार्फत उनले लाखौं दर्शकको मन जितेका छन्।
धादिङमा जन्मिएका राजु पौडेलले बाल्यकालदेखि नै अभिनयप्रतिको रुचि पालेका थिए। उनको कलाकारिताको औपचारिक यात्रा ‘मेरिबास्सै’बाट सुरु भएको हो। यस सिरियलमा उनले करिब १२ वर्ष निरन्तर अभिनय गर्दै ‘राजु मास्टर’को पात्रलाई घर–घरमा परिचित बनाएका थिए। उनका संवाद, अभिनय शैली र सरल तर प्रभावकारी प्रस्तुतीले उनलाई दर्शकको प्रिय बनाए। ‘मेरिबास्सै’मा उनको योगदान केवल अभिनयमा मात्र सीमित भएन, उनले पटकथालेखनदेखि कथा विकासमा समेत सक्रिय भूमिका खेले।
अभिनयमा सधैं प्राविण्य देखाएका राजुले केही समय ‘मेरिबास्सै’बाट टाढा रहेर आफ्नै सिर्जनात्मक परियोजना सुरु गरे। उनले ‘सकस’ जस्ता सिरियलमा लेखन, निर्देशन र अभिनय गर्दै नयाँ धारको कथावाचन प्रस्तुत गरे, जसले उनको कलाकारिता मात्र होइन, निर्देशन र निर्माणमा पनि क्षमताको परिचय गरायो।
राजुको कलामा सदैव सामाजिक सन्देश र नेपालीपनको सुगन्ध पाइन्छ। उनले आफ्नो पात्रहरूमा ग्रामीण जीवन, सांस्कृतिक मूल्य र जनजीवनका समस्या–चुनौतीलाई हास्य–व्यङ्ग्यको माध्यमबाट दर्शक सामु प्रस्तुत गर्ने गर्छन्। यही कारण उनका सिर्जनाले मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने क्षमता राख्छ।
हालै फेरि उनी ‘मेरिबास्सै’मा लेखन, निर्देशन र अभिनयको जिम्मेवारी लिएर फर्किएका छन्। उनले नयाँ कथावस्तु र नयाँ ऊर्जा सहित यो सिरियललाई नयाँ मोड दिने तयारी गरेका छन्। आफ्नो कलाकारितालाई निरन्तर निखार्दै आएका राजु नेपाली टेलिभिजन र डिजिटल मिडियामा स्थायी प्रभाव छोड्ने व्यक्तित्वका रूपमा चिनिन्छन्।
राजु पौडेलको यात्रा केवल एउटा टेलिसिरियलको सफलताको कथा होइन, यो मेहनत, प्रतिभा र दर्शकप्रतिको समर्पणको उदाहरण हो। उनी नेपाली कलाक्षेत्रका लागि एउटा प्रेरणादायी नाम मात्र होइन, भविष्यका कलाकारका लागि मार्गदर्शक पनि हुन्।
![]()




(












प्रतिक्रिया