नेपालको राजनीति दशौँ वर्षदेखि एउटै घृणित रोगले ग्रस्त छ – मान्छेलाई जबरजस्ती “भगवान्” बनाउने र त्यसैको नाममा आरती उतार्ने प्रवृत्ति। जब हामी कुनै व्यक्तिलाई आलोचना, समीक्षा र प्रश्नबाट मुक्त गरी अन्ध-आराधनामा लपेट्छौँ, त्यतिबेला त्यही व्यक्तिमा आफू साँच्चै ‘अपरिहार्य’, ‘अविनाशी’ र ‘भगवान् समान’ भएको भ्रम पलाउन थाल्छ। यहीँबाट फोहोरी राजनीतिक खेलको यात्रा सुरु हुन्छ, जसको अन्त्य प्रायः देशको विगार र जनताको निराशामा हुन्छ।
हामी नेपालीहरूले यो गल्ती पटक–पटक गरेका छौँ। २०४६ सालको राजनीतिक परिवर्तनदेखि आजसम्म हामीले पुराना “भगवान्” हरूलाई बोकेर, पालेर, पूजा गरेर आफ्नो राजनीतिक चेतनालाई बन्धक बनायौँ। परिणामस्वरूप, देशको आधा जनसंख्या लाहुरे बन्न बाध्य भयो, विदेशमा पसिना बगाएर आफ्नो परिवारको जीवन धान्नु सामान्य कुरा जस्तो भयो, र आफ्नै भूमिमा रोजगारी र सुरक्षाको भविष्य ध्वस्त पारियो।
तर यो चेत जाग्नुको सट्टा, फेरि–फेरि नयाँ “भगवान्” बनाउने खेल चलिरहेछ। कुनै दिन क्रान्तिकारी भनेर चिनिनेहरू, अर्को दिन ‘जनताको रक्षक’ को रूपमा चित्रित हुनेहरू, अनि केही समयपछि त्यही शक्ति–पिपासु, स्वार्थी र भ्रष्ट शासकमा परिणत हुनेहरू — सबैलाई हामीले आफ्नै हातले सिंहासनमा चढायौँ। अनि जब उनीहरूले ‘लुटको राज्य’ चलाए, हामी फेरि अर्को ‘उद्धारकर्ता’ खोज्न थाल्यौँ, मानौँ यो चक्र कहिल्यै नटुट्ने हो।
अब समय आएको छ — पुराना ‘भगवान्’ हरूलाई मात्र होइन, नयाँ ‘नक्कली भगवान्’ उत्पादन गर्ने मानसिकता र संस्कारलाई नै अन्त्य गर्ने। राजनीति व्यक्तिको आराधना होइन, प्रणाली र सिद्धान्तको सुदृढीकरण हो भन्ने कुरा बुझ्नुपर्छ। जबसम्म हामी आलोचना गर्न डराउँछौँ, प्रश्न गर्न सक्दैनौँ, र अन्ध-समर्थनलाई ‘भक्ति’ ठान्छौँ, तबसम्म यो मुलुकको भविष्य हामी आफैले होम खाडीमा स्वाहा पारिरहनेछौँ। चेतना भया — अब कुनै पनि मान्छेलाई ‘भगवान्’ नबनाऔँ, नत्र हाम्रो सन्ततिको भाग्य फेरि यिनै नक्कली देवताहरूको आहुति बन्नेछ।


प्रतिक्रिया