Updated … जर्जियास्थित फोर्ट स्टुअर्ट सैन्य बेसमा आज बिहान एक सैनिकले आफ्नै साथीसिपाहीहरूलाई गोली हानेको घटनापछि उनीलाई हिरासतमा लिइएको छ। फोर्ट स्टुअर्टका अधिकारीहरूका अनुसार ती सैनिकले व्यक्तिगत हातहतियार प्रयोग गरेर, र पाँच जना अन्य सैनिकलाई गोली प्रहार गरेका हुन्। तेस्रो इन्फेन्ट्री डिभिजनका कमाण्डिङ जर्नेल ब्रिगेडियर जनरल जोन लुबासले संकास्पद आक्रमणकारीको नाम क्वोर्नेलियस रेडफोर्ड रहेको पुष्टि गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले घटनाको पछाडिको उद्देश्य अझै स्पष्ट नभएको जानकारी दिए। घाइते भएका पाँचै जना सैनिकको अवस्था हाल स्थिर रहेको र उनीहरू निको हुने अपेक्षा गरिएको लुबासले बताएका छन्। फोर्ट स्टुअर्ट सैन्य तालिम र सैनिक परिचालनका लागि प्रयोग हुने प्रमुख बेस हो, जुन सवाना शहरबाट करिब ४० माइल दक्षिणपश्चिममा पर्छ।
जर्जियास्थित फोर्ट स्टुअर्ट सेनामा पाँच जना सैनिकलाई गोली हानी घाइते बनाएको अभियोगमा पक्राउ परेका २८ वर्षीय सैनिक सार्जेन्ट क्वोर्नेलियस स्यामेन्ट्रियो रेडफोर्ड अहिले सेनाको आपराधिक अनुसन्धान विभाग (CID) को हिरासतमा छन्। सेनाका अनुसार रेडफोर्डले निजी ९ एमएम ह्याण्डगन प्रयोग गरी आफ्नै कार्यक्षेत्रमा साथीसँग पहिले विवाद गरेका एक सैनिकलाई छातीमा गोली हानेपछि चार जनालाई थप गोली प्रहार गरेका थिए। घटनापछि अन्य सैनिकले उनलाई नियन्त्रणमा लिएका थिए। घटनास्थलबाट हतियार र कैयौँ गोलीको खोका बरामद गरिएको छ।
घटनाको अनुसन्धानका क्रममा सेनाले रेडफोर्डले उक्त हतियार मे महिनामा फ्लोरिडाबाट खरिद गरेको पुष्टि गरेको छ। उनलाई सेनाको विशेष अभियोजन कार्यालय (Office of Special Trial Counsel) मार्फत आरोप तय गरी कोर्ट मार्शल गरिने तयारी भइरहेको छ। सेनाको आचारसंहिता (Uniform Code of Military Justice – UCMJ) अन्तर्गत अब उनीमाथि सैनिक अदालतबाट मुद्दा चलाइनेछ, जुन नागरिक अदालतको तुलनामा फरक प्रणाली हो। यदि दोषी ठहरिए भने उनलाई सैन्य जेलमा राखिनेछ।
ब्रिगेडियर जनरल जोन लुबासले रेडफोर्डको विगतमा कुनै अनुशासनहीन व्यवहार नदेखिएको बताए पनि मे महिनामा उनी मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा पक्राउ परेको खुलासा भएको छ, जुन सूचना कमाण्डलाई थाहा नभएको उनले बताए। रेडफोर्ड २०१८ मा सेनामा भर्ती भएका थिए र उनको कुनै पनि युद्ध अनुभव छैन। उनी दोस्रो ब्रिगेड कम्ब्याट टिममा स्वचालित लगिस्टिक विशेषज्ञका रूपमा कार्यरत थिए।
घाइते भएका पाँचै जना सैनिकको अवस्था अहिले स्थिर छ। तीन जनाको सर्जरी गरिएको छ भने दुई जनालाई सावानास्थित मेमोरियल हेल्थ युनिभर्सिटी मेडिकल सेन्टरमा लगिएको थियो। बाँकी तीन जना सेनाको अस्पतालमा उपचाररत छन्।

Win McNamee/Getty Images
राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई “कायरतापूर्ण आक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले दोषीमाथि कानूनअनुसार कडा कारबाही हुने बताएका छन्। ट्रम्पले ह्वाइट हाउसबाट दिएको मन्तव्यमा भने, “सम्पूर्ण राष्ट्र पीडित र उनका परिवारप्रति प्रार्थनामा छ। यस्ता घटनालाई हामी कहिल्यै बिर्सने छैनौं र अपराधीमाथि कारबाही हुनेछ।”
रक्षा मन्त्री पीट हेगसेथले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनालाई “कायरता” भनेका छन् र सुरक्षाकर्मीले देखाएको साहसको प्रशंसा गरेका छन्।
अहिलेसम्म घटनाको ठोस उद्देश्य पत्ता लाग्न सकेको छैन। सेनाले थप अनुसन्धान गरिरहेको छ कि कसरी एक सक्रिय सैनिकले व्यक्तिगत हतियार बेसभित्र ल्याउन सके। सेनाको अनुसार घटना तालिमसँग सम्बन्धित नभएको हो र यो आफ्नै सहकर्मीमाथि केन्द्रित थियो। घटनाका बेलामा उक्त क्षेत्र करिब एक घण्टासम्म बन्द गरिएको थियो र सुरक्षाकर्मीको सक्रियताले थप क्षति हुनबाट जोगिएको थियो।
यो घटना अमेरिका भित्र यस वर्षको २६२ औं सामूहिक गोलीकाण्ड रहेको छ, जसले पुनः अमेरिकी समाजमा बढ्दो बन्दूक हिंसाप्रति गम्भीर चिन्ता पैदा गरेको छ।
प्रतिक्रिया