काठमाडौँ । सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै आफूविरुद्ध उठेका विभिन्न प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्यागेको घोषणा गरेका हुन्।
२०७८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर सम्बन्धी विषयलाई लिएर नागरिकस्तरबाट उठेका टिप्पणी, आलोचना र शंकाहरूलाई ध्यानमा राख्दै स्वतन्त्र र निष्पक्ष छानबिनका लागि बाटो खुला गर्न राजीनामा दिएको बताएका छन्। पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखिन नदिन तथा अनुसन्धान प्रक्रियामा कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिएको उनको भनाइ छ।
गुरुङले आफ्नो वक्तव्यमा “पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास हो” भन्ने उल्लेख गर्दै सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र स्वच्छताको आवश्यकता अझ बलियो रूपमा महसुस भएको बताएका छन्। उनले पछिल्लो समय देशमा उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको भन्दै नेतृत्व जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताएका छन्।
उनले वर्तमान सरकार जनताको बलिदान र संघर्षको जगमा बनेको उल्लेख गर्दै त्यसमाथि उठ्ने प्रश्नहरूको उत्तर नैतिक आचरणबाटै दिनुपर्ने धारणा राखेका छन्। साथै, सञ्चारमाध्यम, नागरिक समाज र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न आह्वान गरेका छन्।
राजीनामा वक्तव्यको अन्त्यमा गुरुङले देश, सुरक्षाकर्मीहरूको सम्मान र नेपाली युवाहरूको भविष्यप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनका अनुसार अब सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र सत्य तथ्य सार्वजनिक हुनुपर्नेमा जोड दिएका छन्।
सरकार गठन भएको एक महिना नपुग्दै लगातार दुई मन्त्री पदबाट बाहिरिएका छन्। पछिल्लो घटनाक्रममा सुदन गुरुङ ले बुधबार गृह मन्त्री पदबाट राजीनामा दिएका छन्, जसले सरकारभित्रको अस्थिरता र विवादलाई थप गहिरो बनाएको छ।
यसअघि दीपक कुमार साह लाई पदको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चैत २६ गते पदमुक्त गरेका थिए। आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको आरोपपछि उनलाई स्पष्टीकरणको अवसरसमेत नदिई बर्खास्त गरिएको थियो।
त्यसैबीच रवि लामिछाने को सिफारिसमा मन्त्री नियुक्तिसँग जोडिएको विषयमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निशा मेहेता लाई पनि सचेत गराइएको थियो। ती नियुक्ति प्रक्रियामा गृह मन्त्री गुरुङको सक्रिय भूमिका रहेको चर्चा पनि चलेको थियो।
राजीनामाअघि गुरुङले पार्टी सभापति लामिछानेलाई भेटेका थिए। उनी मंगलबार मात्रै दुईपटक बूढानीलकण्ठस्थित निवास पुगेर छलफल गरेका थिए। यद्यपि, त्यसपछिको मन्त्रिपरिषद् बैठकमा भने उनको विषयमा औपचारिक छलफल नभएको स्रोतले जनाएको छ।
गुरुङमाथि विवाद चर्किनुको मुख्य कारण सम्पत्ति र सेयर लगानीसँग जोडिएको विषय हो। सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट समूहसँग सम्बन्धित लघु बीमा कम्पनीमा गुरुङ स्वयं सेयरधनी रहेको तथ्य सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो। उनले सार्वजनिक रूपमा सेयर खरिद गर्नु गैरकानुनी नभएको र ऋण लिएर लगानी गरेको स्पष्टिकरण दिएका थिए।
तर यो विवाद गुरुङका लागि नयाँ भने होइन। जेनजी आन्दोलनदेखि नै उनी निरन्तर विवादको केन्द्रमा रहँदै आएका थिए। आन्दोलनमा आफ्नो भूमिका, त्यसपछिका अभिव्यक्ति र संवैधानिक व्यवस्थासम्बन्धी टिप्पणीले उनलाई आलोचनाको घेरामा राखेको थियो।
मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरण पनि विवादित बन्यो। उनले उल्लेख गरेको ठूलो परिमाणको सुन, विभिन्न जिल्लामा रहेको जग्गाजमिन र त्यसको स्रोतबारे प्रश्न उठ्यो। त्यसमा थप, सामाजिक सञ्जालमा उनले लेखेको “गरिब जन्मिनु गल्ती होइन, तर गरिब मर्नु गल्ती हो” भन्ने भनाइले युवा पुस्ताबाट व्यापक आलोचना खेप्नुपरेको थियो।
त्यस्तै, पद सम्हालेको केही दिनमै पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न निर्देशन दिएको, फेसबुकमार्फत पक्राउ पुर्जी सार्वजनिक गरेको लगायतका गतिविधिले पनि उनको कार्यशैलीमाथि प्रश्न उठेको थियो। सुरक्षा निकायका कतिपय अधिकारीहरूले यस्तो कार्यलाई गैरव्यावसायिक र कानुनविपरीत भएको टिप्पणी गरेका थिए।
पछिल्लो समय उनी आवद्ध संस्था ‘हामी नेपाल’ र व्यक्तिगत खातामा भएका आर्थिक कारोबारको स्रोत अस्पष्ट रहेको भन्दै आलोचना चुलिएको थियो। साथै, दुई माइक्रोइन्स्योरेन्स कम्पनीमा करिब ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोपसमेत लागेको थियो।
यी सबै विवादबीच गुरुङले अन्ततः प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा दिएका हुन्। उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीसँग जोड्दै निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न पद त्यागेको बताएका छन्।
सुदन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिनुअघि पार्टी नेतृत्वसँग असामान्य रूपमा बारम्बार भेटघाट गरिरहेको तथ्य खुलेको छ। स्रोतका अनुसार उनले रवि लामिछाने लाई दिनमै दुईदेखि तीनपटकसम्म भेट्ने गरेका थिए।
गुरुङले गृह मन्त्रालयका दैनिक कामकाजको ‘ब्रिफिङ’ नियमित रूपमा लामिछानेलाई सुनाउँदै आएका थिए। पछिल्लो समय आफ्नो सेयर लगानी र वित्तीय विवाद चर्किएसँगै उनले पार्टी सभापतिसँगको भेटघाट अझ तीव्र बनाएको स्रोतको दाबी छ। “दैनिकजसो उहाँ सभापति निवास पुग्नुहुन्थ्यो, कतिपय दिनमा दुई–तीनपटकसम्म पनि जानुहुन्थ्यो,” लामिछानेनिकट एक स्रोतले जनाएको छ।
यसैबीच, गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग पनि लगातार छलफल गर्दै आएका थिए। स्रोतका अनुसार प्रधानमन्त्रीले नै नैतिक आधारमा राजीनामा दिन सुझाव दिएपछि गुरुङले अन्ततः पद त्याग्ने निर्णय गरेका हुन्।
गुरुङको राजीनामासँगै सरकारले गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री स्वयंले सम्हाल्ने निर्णय गरेको छ। नयाँ गृहमन्त्री तत्काल नियुक्त नगर्ने संकेत दिँदै स्रोतहरूले विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी भइरहेको बताएका छन्।
राजीनामापछि प्रधानमन्त्री बालेनले सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई सिंहदरबार बोलाएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग का प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन्। सुरक्षा अवस्था र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ।
राजीनामाअघि नै गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सँग पनि भेट गरेका थिए। त्यसपछि केही घण्टामै उनले औपचारिक रूपमा पद त्यागेका हुन्।
सरकार गठन भएको छोटो समयमै गृह मन्त्रालयजस्तो संवेदनशील जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्नुपर्ने अवस्था सिर्जना भएपछि राजनीतिक वृत्तमा यसको दीर्घकालीन प्रभावबारे चासो बढेको छ।
चैत १३ गते मात्र मन्त्रिपरिषद् विस्तार गरेको सरकारले छोटो अवधिमै दुई मन्त्री गुमाएपछि राजनीतिक वृत्तमा सरकारको स्थायित्व र नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया