काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ले कम्पनीलाई नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक एयर अपरेटर सर्टिफिकेट (एओसी) प्रदान गरेसँगै यो बाटो खुलेको हो ।
कम्पनीका प्रवक्ता अनिल मानन्धर का अनुसार लामो समयदेखि अन्तरराष्ट्रिय सेवाका लागि पूर्वतयारी गरिरहेको श्री एयरलाइन्सले अब नियमित उडानतर्फ कदम बढाएको हो । यसअघि भने कम्पनीलाई सीमित रूपमा चार्टर्ड उडान मात्र सञ्चालन गर्ने अनुमति थियो ।
आगामी चरणमा कम्पनीले न्यारोबडी जहाजमार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ । प्रारम्भिक रूपमा काठमाडौँ–कोलकाता, काठमाडौँ–नयाँ दिल्ली र काठमाडौँ–ढाका गन्तव्यलाई लक्षित गरी उडान सञ्चालन गर्ने तयारी गरिएको छ । तर, सम्बन्धित देशबाट उडान स्वीकृति प्राप्त गर्ने प्रक्रिया भने अझै जारी रहेको कम्पनीले जनाएको छ ।
व्यवसाय विस्तारसँगै कम्पनीले पुँजी बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी भइरहेको र यसका लागि आवश्यक आन्तरिक प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ । सन् २०२३ जुलाईमा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको श्री एयरलाइन्स अहिले विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको छ ।
हाल फिक्स्ड विङ्स तथा रोटर विङ्स दुवै माध्यमबाट सेवा दिँदै आएको कम्पनीसँग बम्बार्डियर जहाजहरूको फ्लीट छ । कम्पनीमा मुख्य लगानीकर्ता सुधीर मित्तल रहेका छन् । पछिल्लो वित्तीय मूल्यांकनअनुसार कम्पनीको सञ्चालन आम्दानी क्रमशः बढ्दो क्रममा रहेको देखिएको छ, जसले अन्तरराष्ट्रिय बजारमा प्रवेशको आधार अझ बलियो बनाएको छ ।
प्रतिक्रिया