राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटन डीसीमा बढ्दो अपराधको आरोप लगाउँदै, यदि तत्काल सुधार नभए संघीय नियन्त्रण लागू गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रकाशित एक पोस्टमा ट्रम्पले १४ देखि १६ वर्ष उमेर समूहका स्थानीय युवाहरू र गिरोह सदस्यहरूले निर्दोष नागरिकहरूलाई आक्रमण गर्ने, लुटपाट गर्ने, गोली हान्ने जस्ता गम्भीर अपराधहरू गरिरहेको दाबी गरे।
उनका अनुसार, ती अपराधीहरू कानुनी कारबाहीबाट उन्मुक्त हुने विश्वासका साथ अपराधमा संलग्न छन्, र उनीहरूलाई कुनै डर छैन किनभने कानूनले तिनीहरूलाई सामान्यतया छोडिदिन्छ। ट्रम्पले डीसीको कानून परिवर्तन गरेर १४ वर्षदेखि नै नाबालिग अपराधीहरूलाई वयस्कसरह कारबाही गर्नुपर्ने र लामो समयसम्म थुनामा राख्नुपर्ने बताएका छन्।
ट्रम्पले भने, “वाशिंगटन, डीसी सुरक्षित, सफा र सुन्दर हुनुपर्छ, अमेरिकाका लागि मात्र होइन, संसारले हेर्ने सहरका रूपमा। यदि शहरले तुरुन्त सुधारको बाटो नअंगाले, हामी संघीय सरकारमार्फत नियन्त्रण लिन बाध्य हुनेछौं।” उनले अपराध नियन्त्रणका लागि अपराधीहरूलाई स्पष्ट सन्देश दिनुपर्ने बताए।
उनको भनाइमा, यस्ता कडा कदम निकै पहिल्यै चालिनु पर्ने थियो, जसले गर्दा पछिल्लो समय हिंसाको शिकार भएका युवाहरूले यस्तो पीडा भोग्नु पर्ने थिएन। अन्त्यमा ट्रम्पले भने, यदि डीसी प्रशासनले सुधार गर्न सकेन भने आफूले आफ्नो अधिकार प्रयोग गरेर सहरलाई संघीयकरण (federalize) गर्ने निर्णय गर्नसक्ने छन्।
उनको यो चेतावनीले राजधानी डीसीमा संघीय हस्तक्षेपको सम्भावना तीव्र बनाएको छ, जुन राजनीतिक रूपमा पनि निकै विवादास्पद विषय बन्न सक्ने देखिन्छ।


प्रतिक्रिया