मेटा प्लेटफर्म्स (Meta Platforms) का प्रमुख मार्क जकरबर्ग, वर्तमान र पूर्व बोर्ड सदस्य तथा अधिकारीहरूविरुद्धको गोपनीयता उल्लंघनसम्बन्धी ८ अर्ब डलर क्षतिपूर्तिको मुद्दा अन्ततः मेलमिलापमा टुंगिएको छ। मुद्दा झिकेका सेयरधनीहरूको कानुनी प्रतिनिधिले बिहीवार डेलावेयरको एक न्यायाधीशलाई जानकारी दिएका हुन्।
डेलावेयर कोर्ट अफ चान्सरीकी न्यायाधीश क्याथलिन म्याककोर्मिकले मुद्दाको दोस्रो दिन सुरु हुनुअघि नै सुनुवाइ स्थगन गरिन् र पक्षहरूलाई बधाई दिइन्। मेलमिलापको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन र प्रतिवादीका वकिलहरूले न्यायाधीशसमक्ष कुनै टिप्पणी गरेनन्।
सेयरधनीहरूका तर्फबाट अधिवक्ता साम क्लोसिकले “यो सहमति एक्कासी र छिटो तय भएको” बताए।
यो मुद्दामा अरबपति लगानीकर्ता र मेटा बोर्ड सदस्य मार्क आन्द्रेसेन, पूर्व प्रमुख सञ्चालन अधिकृत (COO) शेरिल स्यान्डबर्ग लगायत ११ जना प्रतिवादी थिए। उनीहरूलाई कम्पनीले विगतमा भोग्नुपरेको कैयौं अर्ब डलर जरिवाना र कानुनी खर्चमा व्यक्तिगत रूपमा जिम्मेवार बनाउने माग गरिएको थियो।
सन् २०१९ मा अमेरिकी फेडरल ट्रेड कमिसन (FTC) ले फेसबुकलाई प्रयोगकर्ताको डाटा सुरक्षामा लापरवाही गरेको आरोपमा ५ अर्ब डलर जरिवाना गरेको थियो। त्यो जरिवाना कम्पनीले सन् २०१२ मा FTC सँग गरेको सहमतिको उल्लंघन मानेर लगाइएको थियो।
सेयरधनीहरूले प्रतिवादीहरूलाई व्यक्तिगत सम्पत्तिबाट कम्पनीलाई क्षतिपूर्ति तिर्न माग गरेका थिए। प्रतिवादीहरूले आफूहरूलाई लगाइएको आरोपलाई “चरम र निराधार” भन्दै अस्वीकार गर्दै आएका थिए।
फेसबुकले सन् २०२१ मा आफ्नो नाम परिवर्तन गरी मेटा राखेको थियो, तर कम्पनी स्वयं भने प्रतिवादी थिएन।
मेटाले यो विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गर्यो भने प्रतिवादी पक्षका वकिलहरूले पनि तत्काल प्रतिक्रिया जनाएनन्।
सार्वजनिक जवाफदेहिताको गुमेको अवसर
डिजिटल कन्टेन्ट प्रदायकहरूको संस्था “डिजिटल कन्टेन्ट नेक्स्ट” का प्रमुख जेसन किन्टले भने, “यो मेलमिलापले सम्बन्धित पक्षहरूलाई केही राहत दिलाउँला तर सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्ने अवसर भने गुमेको छ।”
मुद्दामा मार्क जकरबर्ग सोमबार र शेरिल स्यान्डबर्ग बुधबार अदालतमा उभिने कार्यक्रम तय गरिएको थियो। मुद्दा अर्को हप्ता समाप्त हुने तालिका अनुसार अघि बढिरहेको थियो।
पूर्व बोर्ड सदस्यहरू पिटर थिएल (Palantir का सह-संस्थापक) र रीड ह्यास्टिङ्स (Netflix का सह-संस्थापक) का साक्ष्य पनि सुन्ने तयारी थियो।
सेयरधनीहरूले मेटाका वर्तमान र पूर्व बोर्ड सदस्यहरूले FTC सँगको २०१२ को सहमतिको निगरानीमा असफल भएको र जकरबर्ग–स्यान्डबर्गले फेसबुकलाई गैरकानुनी डाटा सङ्कलन गर्ने मेसिन जस्तै सञ्चालन गरेको आरोप लगाएका थिए।
यो मुद्दा क्याम्ब्रिज एनालिटिका प्रकरणपछि सुरु भएको हो, जहाँ लाखौं प्रयोगकर्ताको डाटा अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन अभियानमा संलग्न राजनीतिक परामर्श कम्पनीले अवैध रूपमा प्रयोग गरेको खुलासा भएको थियो। त्यस घटनाक्रमले FTC जरिवानासम्मको प्रक्रिया अघि बढाएको थियो।
बुधबार मुद्दाको सुनुवाइमा सेयरधनी पक्षका विज्ञले फेसबुकको गोपनीयता नीतिमा “गहिरा कमजोरी” रहेको बताए पनि FTC सँगको सहमति उल्लंघन भएको प्रमाण भने ठाडो रूपमा दिएनन्।
पूर्व बोर्ड सदस्य जेफ्री जाइन्त्सले अदालतमा फेसबुकले जकरबर्गको कानुनी जाँचबाट जोगिनको लागि FTC सँग जरिवाना तिर्ने सहमति गरेको भन्ने आरोप अस्वीकार गरेका थिए।
फेसबुकले आफ्नो वेबसाइटमा सन् २०१९ यता प्रयोगकर्ताको गोपनीयता सुरक्षाका लागि अर्बौं डलर लगानी गरिएको दाबी गरेको छ।
यदि मुद्दा मेलमिलाप नभएको भए, यो अवसर मेटाका लगानीकर्ताहरूका लागि पहिलोपटक जकरबर्गलाई शपथसहित कठोर प्रश्नको जवाफ दिन बाध्य पार्ने ऐतिहासिक क्षण हुने थियो। यसअघि सन् २०१७ मा जकरबर्ग फेसबुकको दुई तहको सेयर संरचनालाई लिएर पनि अदालतमा बोलाइएका थिए तर त्यो मुद्दा पनि उनी अदालत उभिनुअघि नै मेलमिलापमा टुंगिएको थियो।
जेसन किन्टले भने, “फेसबुकले ‘क्याम्ब्रिज एनालिटिका’ काण्डलाई केही खराब पात्रहरूको गल्ती मात्र बनाउँदै आएको छ, जब कि यो पूरै निगरानीमा आधारित व्यापार मोडेलको विफलता थियो। अब त्यो मुद्दा फेरि अनुत्तरित रह्यो।”
प्रतिक्रिया