उखान टुक्का, कथन भन्न, ब्यङ्ग गर्न र जगत हँसाउन माहिर प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ समुदायका हुन सक्ने संकेत गरेका छन्। असार २३ गते काठमाडौंमा नेकपा (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले हलेसीलाई शिवजीले खेलेको ओडार क्षेत्र भएको उल्लेख गर्दै भने, “हलेसी भन्ने स्थान चाम्लिङहरूको थलो हो। त्यसैले कहिलेकाहीँ लाग्छ— भगवान् शिव चाम्लिङ थिए कि क्या हो।” यद्यपि उनले यसलाई प्रमाणित दाबी भने नगरेको स्पष्ट पारे। “म दाबी गर्दिनँ त्यसमा, अनुमान मात्रै हो,” उनले भने।
प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी र गौतम बुद्ध सबै नेपालमै जन्मिएका ऐतिहासिक तथा आध्यात्मिक सन्दर्भ उल्लेख गर्दै भने, “वेदव्यास तनहुँका थिए, कपिलमुनी कपिलवस्तुका र सिद्धार्थ गौतम लुम्बिनीका थिए।” यसै सन्दर्भमा उनले हलेसीलाई ऐतिहासिक चाम्लिङ थलो भएको उल्लेख गर्दै भगवान् शिवको सम्भावित जातीय सम्बन्धबारे अनुमान गरेका हुन्।
उनले धार्मिक स्थलहरूको ऐतिहासिकता र सांस्कृतिक गहिराइलाई टेकेर पर्यटन विकास गर्नुपर्ने धारणा समेत राखे। हलेसी जस्तो पवित्र स्थानको प्रवर्धनका लागि वैज्ञानिक र संस्कृतिक आधारमा अनुसन्धान र प्रचारको आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
उता अर्का “क्रिकेट आबिस्कारक” अर्थात राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेटको पछिल्लो प्रगति सराहनीय भएको भन्दै देशमा दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
सोमबार शीतलनिवासमा एसिसी यु–१६ इस्ट जोन कप विजेता नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपालीहरूमा क्रिकेटप्रतिको बढ्दो आकर्षण तथा राष्ट्रिय टोलीको सफलता अत्यन्तै प्रेरणादायी रहेको बताए।
उनले परम्परागत खेलहरूलाई सुधार र परिष्कार गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सके राष्ट्रिय प्रतिष्ठा बढ्ने र खेलाडीहरूले नयाँ कीर्तिमान राख्न सक्ने उल्लेख गरे।
राष्ट्रपति पौडेलले बाल्यकाल सम्झिँदै भने,
“हामी सानोमा बाख्रा चराउन जाँदा ‘किर’ खेल्थ्यौँ। त्यही ‘किर’को विकास हुँदै अहिले आएर क्रिकेट भएको हो। हामीले पनि त्यसरी नै खेल्थ्यौँ, अहिले त्यो खेल अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ।”
उनका अनुसार, देशभित्रै खेल पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण विस्तार गरेर मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी उत्पादन गर्न सकिन्छ।
नेपालले एसिसी यु–१६ इस्ट जोन कप अन्तर्गत शनिबार सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो। नेपाली टोली आइतबार साँझ स्वदेश फर्किएको थियो। नेपालले यसअघि सन् २०१७, २०१९ र २०२३ मा पनि यो उपाधि जितिसकेको छ।
राष्ट्रपतिले युवा खेलाडीहरूको उत्साह, समर्पण र सफलतालाई प्रेरणाको स्रोत मान्दै उज्यालो भविष्यको शुभकामना समेत व्यक्त गरे।
प्रतिक्रिया