Updated :
रसुवा जिल्लामा लगातार परेको भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने अझै २० जना बेपत्ता छन्। प्रहरीले दिएको जानकारी अनुसार बेपत्तामध्ये ३ जना सुरक्षाकर्मी, ६ जना चिनियाँ नागरिक र ११ जना स्थानीय सर्वसाधारण छन्।
बाढीपछि सुरु गरिएको उद्धार कार्य अहिले पनि जारी छ। सुरक्षाकर्मी तथा स्थानीयको सहकार्यमा हालसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ।
सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाको वडा नं. १, २, ४ र ५, उत्तरगया गाउँपालिकाको वडा नं. २, ४ र ५ तथा कालिका गाउँपालिकाको वडा नं. १ रहेका छन्।
बाढीले नेपाल–चीन सिमा जोड्ने मितेरी पुल बगाएको छ। यस्तै, ईभी चार्जिङ स्टेशन पूर्णरूपमा ध्वस्त भएको छ भने रसुवागढी भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा समेत ठूलो क्षति पुगेको छ। रसुवागढी जलविद्युत आयोजनाको ड्यामसमेत क्षतिग्रस्त भएको प्रहरी स्रोतले जनाएको छ।
त्यसैगरी, गोसाइँकुण्ड–पासाङल्हामु सडकखण्डमा समेत बाढीले गम्भीर असर पुर्याएको छ। सडकका विभिन्न भाग चिराचिरा परेका छन् भने धुन्चेबाट टिमुरेसम्मको सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा गएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति अनुसार बाढीका कारण १८ जना कामदार बेपत्ता भएका छन्। बेपत्तामध्ये ८ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन्।
बाढीले निर्माणाधीन सुक्खा बन्दरगाहको लगभग ६० प्रतिशत संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। विशेष गरी रिटेनिङ वाल करिब ४ सय मिटर बगाएको छ भने बेचिङ प्लान्टसमेत पूरै बगाइसकेको छ। लिटिगेसन सेड, वेयरहाउस, इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लकमा समेत गम्भीर क्षति पुगेको छ। वेयरहाउसको आधार (foundation) नै बगाइसकेको छ भने पार्किङ क्षेत्र बालुवा र गिट्टीले पुरिएको छ।

इन्ट्री रोडको रिटेनिङ वालमा क्षति पुगेको छ र मुख्य कम्प्लेक्स भवन बाहेकका अधिकांश पूर्वाधार प्रभावित भएका छन्। एक्जिट रोड भने हालसम्म सुरक्षित रहेको समितिले जनाएको छ।
पार्किङ यार्ड फेसिलिटी र रिटेनिङ वाल पनि पूर्ण रूपमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कुल संरचनाको झण्डै ६० प्रतिशत क्षति भइसकेको छ। उद्धार तथा पुनर्निर्माणको कार्य तत्काल थालिनुपर्ने आवश्यकता देखिएको छ।
चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवागढी क्षेत्रमा ठूलो असर पुर्याएको छ। विशेष गरी रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका ५५ जनालाई उद्धार गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले मंगलबार दिउँसो साढे ३ बजेसम्म उनीहरूको सकुशल उद्धार गरेको हो। उद्धार गरिएकामध्ये ४ जना महिला र ५१ जना पुरुष रहेका छन्। उद्धारका क्रममा एकजना चिनियाँ नागरिकसमेत सुरक्षित निकालिएको प्रहरीले जनाएको छ।

फसेकाहरूलाई झोलुङ्गे पुलमार्फत हिँडाएर सुरक्षित स्थानमा पुर्याइएको हो।
तर, बाढीले अझै पनि चिन्ता बढाइरहेको छ। अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने बाढीले १०० भन्दा बढी सवारी साधन बगाएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रहरी, सेना र सशस्त्रको टोली अहिले पनि खोज तथा उद्धारमा खटिएको छ। बाढी प्रभावित क्षेत्रमा सतर्कता र तत्कालीन राहत कार्यहरूलाई तीव्र पारिएको छ।
असार २४, मंगलबार बिहान करिब ३ बजे चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले रसुवामा ठूलो विनाश निम्त्याएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो बाढी हालसम्म रसुवामा देखिएको सबैभन्दा ठूलो बाढी हो।
विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार, विभागको पछिल्ला ३०–४० वर्षका रेकर्डअनुसार यस्तो भीषण बाढी रसुवामा पहिलोपटक आएको हो। “पुराना रेकर्ड नभएकाले निश्चित भन्न सकिन्न, तर उपलब्ध विवरण अनुसार यो अहिलेसम्मकै ठूलो हो,” पराजुलीले बताए।
खासगरी, बाढी आउने बेलामा रसुवा वा तिब्बत दुवैतर्फ ठूलो वर्षा नभएको पाइएको छ। प्रारम्भिक विश्लेषण अनुसार, यो बाढी भारी वर्षाका कारण होइन, सम्भवतः कुनै हिमताल विस्फोट, नदी थुनिनु वा भूस्खलनका कारण भएको अनुमान गरिएको छ।
पराजुलीले भने, “हिमताल विस्फोटको आशंका छ, तर यकिन भइसकेको छैन। अर्को सम्भावना पहिरोले नदी थुनेर पछि फूटेको हो कि भन्ने पनि हो। सबै अध्ययनको विषय हुन्।”
चीनतर्फबाट कुनैपनि आधिकारिक सूचना नआएको विभागले जनाएको छ। नेपाल र चीनबीच मौसम तथा बाढी सम्बन्धी पूर्वसूचना आदानप्रदान गर्न हालसम्म कुनै औपचारिक सम्झौता नभएको पराजुलीले स्पष्ट गरे।
उनका अनुसार, जिल्ला प्रशासन कार्यालयलाई पनि चीनतर्फबाट अग्रिम जानकारी आएको देखिएको छैन। “बाढी बिहान ३ बजे आएको थियो, त्यसको जानकारी हामीलाई पछि मात्र प्राप्त भयो। त्यसलाई पुष्टि गर्न करिब तीन घण्टा लाग्यो,” उनले भने।
वेत्रावती, नुवाकोटको जलमापन केन्द्रमा बाढी पुगिसकेपछि मात्र विभागले बिहान ६ बजेतिर बाढी ‘भेरिफाई’ गरी तल्लो भूभागका लागि ‘अलर्ट’ जारी गर्न सकेको थियो।
रसुवाको टिमुरेमा रहेको स्वचालित जलमापन केन्द्रसमेत बाढीले बगाएपछि विभागलाई सघन सूचना संकलन र विश्लेषण गर्न कठिन भएको छ। पराजुलीका अनुसार, भोटेकोसीमा बहाव साढे तीन मिटरले एक्कासि बढेको थियो, तर अहिले घट्दो अवस्थामा छ।
यद्यपि बहाव घट्दै गएको देखिए पनि नदी माथि कतै थुनिएको र फेरि फूट्ने सम्भावना रहेकोले सतर्कता जरुरी रहेको हाइड्रोलोजिस्ट पराजुलीले चेतावनी दिएका छन्। “आज बेलुकासम्म पनि सतर्कता अपनाउन हामीले अपिल गरेका छौं,” उनले भने।
यस बाढीबाट नेपालतर्फ मात्रै होइन, चीनतर्फ पनि ठूलो क्षति भएको प्रारम्भिक सूचना आएको छ। विस्तृत अध्ययनपछिमात्र वास्तविक कारण र क्षतिको परिमाण पूर्णरूपमा स्पष्ट हुने बताइएको छ।

प्रतिक्रिया