राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाइएका आरोपहरूलाई नियोजित षड्यन्त्रको हिस्सा भएको बताएका छन्। सार्वजनिक रूपमा जारी एक अपिलमार्फत उनले अहिले भइरहेको घटनाक्रम राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई राजनीतिको मूलधारबाट हटाउने योजनाको अङ्ग भएको दाबी गरेका छन्।
अपिलमा लामिछानेले जनताबाट प्राप्त समर्थन र राष्ट्रभक्तिको मूल्य चुकाउन आफूलाई दण्डित गर्ने प्रयास भइरहेको स्पष्ट रूपमा उल्लेख गरेका छन्। उनले तीन वर्षदेखि केही समूहले योजनाबद्ध ढंगले आफ्नो चरित्र हत्या गर्न लागेको आरोप लगाएका छन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेपछि निरन्तर रूपमा जनतासँग सरोकार राख्ने मुख्य मुद्दा उठाइरहेको उनले दाबी गरेका छन्।
त्यस्तै, लामिछानेले आफू अमेरिकामा बस्दाको समयको वैवाहिक सम्बन्धलाई नियोजित रूपमा सार्वजनिक गरिँदै आफूलाई बदनाम गर्न खोजिएको बताएका छन्। उनले यो विषय आफ्नै व्यक्तिगत जीवनसँग जोडिएको भन्दै त्यसलाई अनावश्यक रूपमा राजनीतिक प्रयोजनमा प्रयोग गरिएको आरोप लगाएका छन्।
अपिलमार्फत जनतालाई धैर्य गर्न आग्रह गर्दै लामिछानेले भनेका छन्— आफू फेरि जनताको बीचमा फर्किन र जिम्मेवारी वहन गर्न तयार रहेको बताउँदै अहिले सिर्जना गरिएको परिस्थिति आफूलाई जनताबाट टाढा पार्ने षड्यन्त्र भएको बताए।
अपिलको अन्त्यमा उनले यो सबै सस्तो राजनीति र जनतालाई झुक्याउने खेल भएको टिप्पणी गर्दै लेखेका छन्, “तर म टुक्रिन तयार छु, झुक्न सक्दिन।”

प्रतिक्रिया