इरान–इजरायल युद्ध तीव्र गतिमा अगाडि बढिरहेका बेला इरानले ठूलो मानवीय, सैन्य र रणनीतिक क्षति व्यहोर्नु परेको छ। पछिल्लो पाँच दिनभित्र इजरायली आक्रमणबाट इरानका धेरै शीर्ष सैन्य कमाण्डरहरू, आणविक प्लान्टहरू र प्रमुख सैन्य अड्डाहरू ध्वस्त भएका छन्। यिनै घटनाक्रमबीच, मंगलबार इजरायली सेनाले अर्को शीर्ष इरानी कमाण्डर अली शादमानीको हत्या गरेको पुष्टि गरेको छ।
इजरायली सेनाको आक्रमणमा मारेका अली शादमानी इरानको सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए। चार दिनअघि मात्रै यो जिम्मेवारी सम्हालेका उनले, गत शुक्रबार इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको ठाउँ लिएका थिए। तेहरानको मध्य भागमा गुप्तचर सूचनाका आधारमा गरिएको लक्षित हवाई आक्रमणमा शादमानीको ज्यान गएको बताइएको छ।
इजरायली आक्रमणहरूले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको सुरक्षा घेारो कमजोर बनाइदिएको छ। खामेनीका धेरैजसो प्रमुख सैन्य र गुप्तचर सल्लाहकारहरूको मृत्यु भएसँगै, उनको आन्तरिक सल्लाहकार बोर्डमा शून्यता देखिएको छ। राजनीतिक विश्लेषकहरू भन्छन्, “अब खामेनी रणनीतिक निर्णयहरूमा थप असहज हुनेछन्,” किनभने उनी सधैं निर्णय लिनुअघि आफ्ना सल्लाहकारहरूको गहिरो राय लिने गर्दथे।
गत शुक्रबारदेखि इजरायली आक्रमणमा निम्न वरिष्ठ अधिकारीहरू मारिएका छन्:
हुसेन सलामी – इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) प्रमुख
अमिर अली हाजिजादेह – ब्यालिस्टिक मिसाइल र हवाई सुरक्षा प्रमुख
मोहम्मद काजमी – गुप्तचर प्रमुख
गुलाम अली रशिद – आपतकालीन कमाण्डका पूर्वप्रमुख
अली शादमानी – वर्तमान युद्धकालीन प्रमुख
यी सबै खामेनीको साना तर शक्तिशाली १५–२० जनाको रणनीतिक सल्लाहकार समूहका हिस्सा थिए, जसको रायले राष्ट्रिय सुरक्षा र विदेश नीतिका ठूला निर्णयहरूमा प्रभाव पार्ने गर्दथ्यो।

इरानी संविधानले अयातुल्लाह खामेनीलाई सशस्त्र सेनाको सर्वोच्च कमाण्ड, युद्ध घोषणा, प्रमुख नियुक्ति तथा बर्खास्ती गर्ने अधिकार प्रदान गरेको छ। तर, उनले यस्ता निर्णय लिँदा धार्मिक नेताहरू, IRGC का अधिकारीहरू र आफ्ना नजिकका सल्लाहकारहरूको राय अनिवार्य रूपमा लिने परम्परा छ। अहिले त्यही सल्लाहकार सञ्जाल तहसनहस भएसँगै खामेनी पहिलेभन्दा झन् एक्लो, दबावमा र असुरक्षित भएको आँकलन गरिएको छ।
इरानको सैन्य र गुप्तचर नेतृत्वमा आएको अचानक शून्यताले देशको रक्षा रणनीतिमा गम्भीर खालको असर पारेको छ। आणविक पूर्वाधार ध्वस्त भएसँगै र एकपछि अर्को शीर्ष नेतृत्वको हत्या भएपछि खामेनी नेतृत्वमाथि गहिरो संकट उत्पन्न भएको देखिन्छ। अबको इरानी प्रतिक्रिया र खामेनीको भावी निर्णयले यो युद्ध कुन दिशा लिन्छ भन्ने निर्धारण गर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलद्वारा इरानमाथि भइरहेको आक्रमणमा अमेरिका सहभागी हुनेबारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै भने,
“म गर्न सक्छु, नगर्न पनि सक्छु। कसैले जान्दैन म के चाहन्छु। तर एक कुरा भन्न सक्छु — इरान समस्यामा छ र वार्ताको चाहना राख्छ।“
ट्रम्पको यो बयानलाई इरानले कडा प्रतिक्रिया दिएको छ। इरानको परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ,
“हामी व्हाइट हाउसको ढोका अगाडि घुँडा टेक्ने छैनौं।“
यसअघि, इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ट्रम्पलाई कडा चेतावनी दिएका थिए। उनले भने,
“यदि अमेरिका इजरायली आक्रमणमा सहभागी भयो भने, त्यसको परिणाम अपूरणीय हुनेछ।“
त्यस्तै, उनले इरान कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट संकेत पनि दिएका छन्।
इजरायलले अझै पनि इरानका महत्वपूर्ण संरचनाहरूमा आक्रमण गरिरहेको बताएको छ। पछिल्लो आक्रमणमा इरानको आन्तरिक सुरक्षा मुख्यालय पनि लक्षित गरिएको जनाइएको छ।
यता, इरानले पनि चेतावनी दिँदै इजरायलको हाइफा शहरका नागरिकहरूलाई तत्काल शहर खाली गर्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार:
धेरै इरानीहरू सरकारप्रति गुनासो राखे पनि विदेशी आक्रमणको सन्दर्भमा राष्ट्रवादी भावनाले एकजुट हुने गर्छन्।
इजरायलले अहिले हमला गर्न थालेको कारण भनेको, इरानको आणविक कार्यक्रमलाई रोक्नु, र हालै इरानद्वारा इजरायली भूभागमा गरिएको हमला हो।
अमेरिकाका इजरायलका राजदूत माइक हकबीले बुधबार एक ‘अत्यावश्यक सूचना’ जारी गर्दै इजरायलमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षितरूपमा देश छाड्न आग्रह गरेका छन्।
अमेरिकी दूतावासले उडान र क्रुज जहाजमार्फत उद्धार कार्यक्रम सुरु गरिरहेको जानकारी दिइएको छ।
इच्छुक नागरिकहरूले Smart Traveler Enrollment Program (STEP) मा दर्ता गर्नुपर्नेछ।
त्यही माध्यमबाट उनीहरूलाई उद्धारका अपडेटहरू पठाइनेछ।
अमेरिकी रक्षा सचिव पीट हेगसेथले सेनाको एक सुनुवाइमा सांसदको प्रश्नमा यस्तो जवाफ दिए:
“राष्ट्रपतिलाई मैले इरानमाथि आक्रमणका विकल्पहरू दिएको छु कि छैन, म यो खुलाउन सक्दिन।”
उनले थपे:
“मेरो काम राष्ट्रपतिलाई सबै सम्भावित विकल्पहरूको जानकारी दिनु हो, त्यसको परिणाम के हुन सक्छ भन्ने चेतावनीसहित।”
एक अमेरिकी अधिकारीले Fox Newsलाई जानकारी दिँदै भने:
अमेरिकी विमानवाहक युद्धपोत USS Gerald R. Fordलाई युरोपियन कमान्डतर्फ पठाइँदैछ।
हालसम्म मध्यपूर्व पठाउने कुनै योजना छैन।
त्यस क्षेत्रतर्फ USS Carl Vinson र USS Nimitz पहिले नै खटिइसकेका छन् वा बाटोमा छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलनमा भने:
“मैले इरानलाई अल्टिमेट अल्टिमेटम दिएको छु।”
उनले स्पष्ट भनेका छैनन् कि अमेरिकाले इजरायलसँग मिलेर आक्रमण गर्ने कि नगर्ने।
ट्रम्पले इरानलाई “परमाणु हतियार कहिल्यै बनाउन दिइने छैन” भनेका छन्।
इरानलाई “निर्दोष र असहाय” भनेर चिर्पट पनि हाने।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति ट्रम्पको “अविवादित आत्मसमर्पण” को मागलाई खारेज गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखे:
“इरानी राष्ट्रले कुनै पनि जबर्जस्ती शान्ति स्वीकार गर्दैन।”
इरानको संयुक्त राष्ट्रसंघस्थित प्रतिनिधिमण्डलले भने:
“इरान कुनै पनि दबाबमा वार्ता गर्दैन, न त कुनै पराजित युद्धकामीसँग घुँडा टेक्छ।”
इजरायली सेनाले अझै पनि तेहरानस्थित आन्तरिक सुरक्षा मुख्यालय र अन्य लक्ष्यहरूमा आक्रमण जारी राखेको बताएको छ।
यता इरानले इजरायलको हाइफा शहर खाली गर्न नागरिकहरूलाई चेतावनी दिएको छ।
प्रतिक्रिया