वासिङ्टन (एपी) — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंको कार्यकाललाई “अमेरिका पुनः उकास्ने” समय ठान्दै आए पनि, उनले आपतकालीन शक्तिको प्रयोग गर्ने मामलामा अघिल्ला राष्ट्रपतिहरूभन्दा धेरै अगाडि बढेका छन्। ट्रम्पले सीमामा सेना परिचालन गर्ने, वातावरणसम्बन्धी नियमहरू निलम्बन गर्ने वा आयातमा कठोर शुल्क लगाउने कार्यहरू आपतकालीन अधिकार प्रयोग गर्दै गरेका छन् — यस्ता अधिकार सामान्यतः युद्ध, विदेशी आक्रमण वा गम्भीर संकटका अवस्थामा मात्र प्रयोग गरिनुपर्ने हो। एपीको विश्लेषणअनुसार, ट्रम्पका १५० कार्यकारी आदेशमध्ये ३० वटा आपतकालीन अधिकार वा शक्तिमा आधारित छन् — जुन दर अघिल्ला राष्ट्रपति जर्ज डब्ल्यु बुस वा बाराक ओबामाको तुलनामा धेरै उच्च हो।
यस किसिमको अधिकार प्रयोगले राष्ट्रपतिको भूमिका पुनः परिभाषित गरिरहेको छ। अब राष्ट्रपतिले मात्र संकट समाधान होइन, नीति निर्माणमा पनि संसदको ठाउँ लिइरहेका छन्।
“ट्रम्पको शैली विशेषरूपमा फराकिलो र आक्रामक छ,” कानुनी विज्ञ इल्या सोमिनले भने, जसले ट्रम्पको ट्यारिफ नीति विरुद्ध मुद्दा लडिरहेका पाँच अमेरिकी व्यवसायको प्रतिनिधित्व गरिरहेका छन्। ती व्यवसायहरूले अदालतमा प्रमाणित गरे कि ट्रम्पले अर्थतन्त्रमा आपतकाल देखाएर गलत रूपमा ट्यारिफ लगाएका थिए। अहिले उक्त निर्णय अपिल अदालतमा रोकिएको छ।
ब्रेनन सेन्टरकी एलिजाबेथ गोइतिन भन्छिन्, “पहिले त्यति व्यापक दुरुपयोग थिएन। अहिलेको युग भने फरक छ।”
रिपब्लिकन सांसद डन बेकनले त स्पष्ट रूपमा भने, “८० देशहरूमाथि ट्यारिफ नीति बनाउनु नीति निर्माण हो, आपतकालीन कदम होइन। यो संविधानविपरीत हो।”
तर ट्रम्प प्रशासनले भने आफूमाथि लगाइएका आलोचनालाई अस्वीकार गर्दै भन्यो, “बाइडनको असफलताको विरासत — खुला सीमाना, युक्रेन र गाजामा युद्ध, चरम जलवायु नियम, मुद्रास्फीति, र व्यापार घाटाबाट उत्पन्न सुरक्षा संकट — सुधार गर्न राष्ट्रपतिले आपतकालीन शक्ति प्रयोग गर्नु जायज हो।”
ट्रम्पले सबैभन्दा धेरै प्रयोग गरेको ऐन हो – अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (IEEPA), जसले राष्ट्रपतिको आयात–निर्यात नियन्त्रण गर्ने अधिकार दिन्छ।
यो ऐन मूलतः विदेशी खतरा वा असामान्य संकटको अवस्थामा मात्र प्रयोग गर्ने भनिए पनि, ट्रम्पले यसलाई सामान्य व्यापार विवादमा समेत प्रयोग गरेका छन्। उनले पहिलो कार्यकालमा मात्र २१ पटक यस ऐनलाई उद्धृत गरे, जुन ९/११ पछिको आपतकाल झेलिरहेका बुस वा महामन्दी पछिको अर्थतन्त्र सम्हालिरहेका ओबामाको तुलनामा निकै बढी हो।
त्यस्तै, १८औं शताब्दीको एलियन एनिमीज एक्ट समेत प्रयोग गर्दै ट्रम्पले भेनेजुएलाका आप्रवासीहरूलाई डिपोर्ट गर्ने निर्णय गरे, जसमा खुफिया निकायले समर्थन नगरेको आधार दिइएको छ।
अमेरिकी संसदले आपतकालीन अवस्थाको लागि १५० भन्दा बढी छुट अधिकार राष्ट्रपतिलाई प्रदान गरेको छ। जसमार्फत राष्ट्रपति वातावरणीय नियमहरू हटाउन, नयाँ औषधि अनुमोदन गर्न, यातायात नियन्त्रण गर्न वा यहाँसम्म कि मानिसमाथि रासायनिक परीक्षणसमेत गर्न सक्ने हैसियतमा छन्।
बाइडनले पनि यस्तो अधिकार प्रयोग गर्दै ऋण मिनाहा गर्न खोजेका थिए तर सर्वोच्च अदालतले अस्वीकार गर्यो।
कंग्रेसले उक्त घोषणा रद्द गर्न मत दियो, तर पर्याप्त रिपब्लिकन समर्थन नभएकाले ट्रम्पको भेटो कायम रह्यो।
पूर्व कानुनी सल्लाहकार जोन यू भन्छन्, “अब राष्ट्रपतिहरू नसोचेको संकटको प्रतिक्रिया दिन हैन, राजनीतिक गतिरोधलाई तोड्न आपतकाल प्रयोग गरिरहेका छन्। ट्रम्पले त यसलाई अझै उच्च स्तरमा पु¥याएका छन्।”
उप–राष्ट्रपति जे.डी. भ्यान्स भन्छन्, “हाम्रो औषधिको कच्चा पदार्थ, उत्पादन आपूर्ति श्रृंखलाको अवरोध – यी सबै कुराले अमेरिकालाई खतरामा पारेका छन्। त्यो आफैँमा राष्ट्रिय आपतकाल हो।”
यद्यपि, दुई वर्षअघि कंग्रेसमा राष्ट्रपतिको आपतकाल घोषणालाई ३० दिनमै रोक्ने प्रस्ताव आएको थियो, तर त्यो अघि बढ्न सकेन।
राष्ट्रपति ट्रम्पले आपतकालीन शक्तिको प्रयोग व्यापक रूपमा गर्दै आफ्नो नीति लागू गर्न संसदलाई बाइपास गरिरहेका छन्। ट्रम्पको समर्थकहरू यो उचित ठान्छन् भने आलोचकहरू यसलाई लोकतन्त्रका लागि खतरनाक संकेत मानिरहेका छन्। आगामी समयमा अदालत र कंग्रेसको भूमिका यस मामिलामा निर्णायक बन्न सक्नेछ।
प्रतिक्रिया