भर्जिनिया / परिवारिक जनधनको विभत्स घटना : एकै परिवारका ४ जनाको गोली प्रहारबाट मृत्यु
मनासस पार्कमा बिहीबार राति भएको एक सम्भावित हत्या–आत्महत्या (murder-suicide) घटनाको अनुसन्धान भइरहेको छ। म्यानासस पार्क प्रहरी विभागका अनुसार, राति करिब १०:४० बजे लाने लेन (Lanae Lane) को ९४०० ब्लकमा रहेको एउटा घरमा अचेत अवस्थामा मानिसहरू भेटिएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुग्यो। प्रहरी घरभित्र पसेर तल्लो तलामा रहेको अपार्टमेन्टमा पुगेको र त्यहाँ दुई वयस्क र दुई बालबालिकाको शव भेटिएको जानकारी दिएको छ। चारै जनाको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ।
प्रहरीले वयस्क मृतकहरूलाई ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठको रूपमा पहिचान गरेको छ। दुई बालबालिकामध्ये एउटाको उमेर २ वर्ष र अर्कीको ८ वर्ष भएको जनाइएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले यो हत्या–आत्महत्या भएको सम्भावना देखाएको छ।
शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले भन्यो – “हालसम्मको अनुसन्धानका आधारमा यो घटना सम्भावित हत्या-आत्महत्या (murder-suicide) भएको देखिन्छ।” प्रहरीले भनेको छ – अनुसन्धान अझै जारी छ र थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार चारै जनाको मृत्यु गोली लागेर भएको देखिन्छ। घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको छ।
मनासस पार्क प्रहरी विभाग, म्यानासस पार्क सिटी
३२९ म्यानासस ड्राइभ, म्यानासस पार्क, भर्जिनिया २०१११, फोन: ७०३-३६१-११३६ | फ्याक्स: ७०३-३३०-००३७
www.manassasparkpolice.com
प्रेस विज्ञप्ति :
२०२५ जुन ५ को साँझ करिब १०:४० बजे, एक घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूको हेरचाह गर्न म्यानासस पार्क प्रहरीलाई अनुरोध गरे। प्रहरी घटनास्थलमा पुगेपछि तलको अपार्टमेन्टमा प्रवेश गरे र सन्तोष परियार (उमेर ३८), अञ्जु श्रेष्ठ (उमेर ३६), एक २ वर्षीय बालक र एक ८ वर्षीय बालिका मृत अवस्थामा भेटिए, जसको मृत्यु गोली लागेर भएको देखिन्छ। घटनास्थलमै एउटा बन्दुक फेला परेको थियो।
सबै शवहरूलाई म्यानाससको मेडिकल एक्जामिनर कार्यालयमा पठाइएको छ।
म्यानासस पार्क प्रहरी विभागले यो घटनालाई हत्या–आत्महत्या भएको आशंकामा अनुसन्धान जारी राखेको छ।

विद्यालयको विज्ञप्ति
८ वर्षीया बालिका म्यानासस पार्क सिटी स्कूलमा अध्ययनरत थिइन् भन्ने पुष्टि भएपछि विद्यालय प्रशासनले एक सम्वेदनशील विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छः
“हामीले एक विद्यार्थी गुमाएका छौं भन्ने खबर अत्यन्त दुःखका साथ बाँड्दैछौं। यो क्षति विद्यालय समुदायभरि गहिरो रूपमा महसुस गरिएको छ र हामी सबै पीडित परिवारप्रति समवेदना व्यक्त गर्छौं।”
विद्यालयले विद्यार्थी र कर्मचारीहरूका लागि परामर्शदाता र सहयोगी कर्मचारीहरू उपलब्ध गराउने जनाएको छ। साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकासँग खुला संवाद गर्न, शोक व्यक्त गर्न दिन र आवश्यक परे थप मानसिक स्वास्थ्य सहयोग लिन प्रोत्साहन गरिएको छ।
मानसिक स्वास्थ्य सहयोगका लागि सन्देश:
म्यानासस पार्क सिटी स्कूलले ‘Care Solace’ सँग साझेदारी गरेर विद्यार्थी, कर्मचारी र उनीहरूको परिवारका लागि निशुल्क र गोप्य मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
यदि तपाईं वा तपाईंको परिवारको कुनै सदस्यलाई मानसिक स्वास्थ्य वा दुर्व्यसन (substance use) सन्दर्भमा सहायता चाहिएको छ भने, तपाईं तलका माध्यम प्रयोग गर्न सक्नुहुन्छः
☎ ८८८-५१५-०५९५ मा २४/७/३६५ फोन गरेर
🌐 www.caresolace.com/mpark मा गएर आफैं खोजी गर्नुहोस् वा “Book Appointment” क्लिक गरेर भिडियो, इमेल वा फोनमार्फत सहयोग लिनुहोस्।
महत्वपूर्ण:
यदि तपाईं वा तपाईंले चिनेको कुनै व्यक्तिले आत्महत्या वा गहिरो मानसिक तनावको सामना गरिरहेको छ भने, ९८८ मा डायल गरी ‘सुसाइड एण्ड क्राइसिस लाइफलाइन’ बाट सहयोग लिन सकिन्छ।
– डा. कारा ग्रासर, म्यानासस पार्क सिटी स्कूल सुपरिन्टेन्डेन्ट



प्रतिक्रिया