काठमाडौं — राजसंस्थाको पुनःस्थापनाका पक्षमा गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आगामी आन्दोलनलाई जिल्ला केन्द्रित बनाउने निर्णय गरेको छ। ४५ वटा दल, समूह र अभियन्ताहरू संलग्न समितिको बुधबार बसेको संयुक्त बैठकले पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै भावी कार्यक्रमहरू परिमार्जन गर्ने निर्णय गरेको हो। बैठकमा हालसम्मको आन्दोलनबाट प्राप्त अनुभवका आधारमा आन्दोलनलाई स्थानीय तहसम्म लैजाने र सशक्त बनाउने रणनीति तय गरिएको संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संयुक्त जनआन्दोलन समितिले आगामी चरणका लागि निम्न छ बुँदे कार्यक्रम तय गरेको छ:
काठमाडौं उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनलाई निरन्तरता दिने
देशभरका प्रमुख शहरहरूमा विरोधसभा, धर्ना र जनप्रदर्शन गर्ने
स्थानीय तहदेखि संयुक्त जनआन्दोलन समिति गठन गर्दै आन्दोलनलाई सुदृढ बनाउने
जिल्लास्तरमा जुझारु युवा कार्यकर्ता समूह निर्माण गर्ने
निजामति, सेना, प्रहरी सेवामा कार्यरत पूर्व राष्ट्रसेवकहरू र विभिन्न वर्ग तथा पेशा समूहहरूको सहभागिता सुनिश्चित गर्ने
जिल्ला कार्यक्रमहरू सम्पन्न गरेपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गर्ने
विज्ञप्तिमा संयोजक सुवेदीले आगामी कार्यक्रमहरूमा आम जनताको साथ साथै राष्ट्रको हितमा कार्य गरेका पूर्व राष्ट्रसेवकहरू लगायत सबैको व्यापक सहभागिताका लागि अपिल गरेका छन्।
यसअघि काठमाडौं केन्द्रित आन्दोलनलाई थप व्यापक बनाउने प्रयासस्वरूप राजधानीबाहिर पनि संघर्षको मोर्चा खोल्ने रणनीति तय गरिएको हो।

प्रतिक्रिया