
वीरे चोर – देश छोड, पम्फादेवी ठकुरानी – स्वीजरल्याण्डमा लुकाएको पैसा फिर्ता ले, राजतन्त्र – मुर्दावाद, पञ्चायती व्यवस्था – मुर्दावाद भन्दै जान्ने भए देखी २०५४ साल सम्म यिनै देशद्रोही नेता र दलले सिकाएका भरमा नाराबाजी गर्ने, अरूलाई पनि यस्तै गर्न सिकाउँदै हिँड्ने मूर्ख मनुष्य मध्ये म पनि एक हुँ किन ढाँट्नु । इमान्दारितापुर्बक भन्दै छु – त्यो बेला मलाई ब्रेनवास गर्ने गराउने, मेरो तातो रगत र युवा जोसलाई दुरुपयोग गर्ने गराउने भ्रष्ट, अपराधी नेताहरू र दलहरू सम्झँदा तिनीहरूलाई थुक्न मन मात्र लाग्दैन २०५४ साल अघि म आफै कति अबुझ रहेछु, मलाई कति गलत प्रयोग गरेछन् यी कथित लोकतन्त्र गणतन्त्रवादी हौँ भन्ने अपराधीहरूले भनेर पश्चात्ताप पनि गर्दछु ।
पञ्चायतकालमा, त्यो बेला हामी विद्यार्थी, युवा थियौँ, रगत तातो थियो । तत्कालीन हाम्रा नेता भनाउँदाहरूले हामीलाई पञ्चायत, राजा र राजतन्त्र नै देशको मुख्य शत्रु हो भनेर सिकाए, हामीहरू नेताका अन्धभक्त भयौँ । अराजक नारा लगाउनु, देश भर पञ्चायत, राजा रानीका विरुद्ध जहर फैलाउनु हामी अन्धाहरूले राम्रो काम ठान्यौँ । तर ठिक उल्टो रहेछ वास्तविकता जुन आज देखिँदै छ भोगिँदै छ । ती राजा वीरेन्द्र, राजासंस्था होइन हामीलाई राजनीतिक जहर पिलाउने नेताहरू अपराधी रहेछन्, देशका शत्रु रहेछन् । आज मैले मात्र होइन लुटेराहरूका केही स्वार्थी मतियारहरू बाहेक हरेक नेपाली जन जनले पश्चात्ताप मान्ने दिन आएको छ ।
आज जेठ १९, इतिहासको कालो दिन । राजा वीरेन्द्र र सम्पूर्ण परिवारको राजदरबार भित्रै बीभत्स हत्या गरिएको र नेपाललाई २०० वर्ष पछाडि धकेलिएको दिन ।
राजन, तिमी र तिम्रो परिवार मात्र लगेनन् पापी, अधर्मी, अपराधीहरूले । तिमी सँगसङै स्वर्ग जस्तो नेपाल देश, संस्कृति, हर कुरा ओरालो लाग्दै गइरहेका छन् । तिम्रा विरुद्ध नाराबाजी गर्ने म लगायतका म जस्ता हरेक जन जनले अहिले पश्चात्तापको आगो पिएर बाँचिरहेका छौं । तिमी र तिम्रो योगदान स्मरण गरिरहेका छौँ । हामीलाई पाप लागे जस्तै भएको छ जसले तिमी र देशलाई माया गर्ने त्यो धुरी आज निकै मिस गरिरहेका छौँ ।
राजन, तिमी र तिम्रो परिवारको स्वर्गमा बास होस, हार्दिक श्रद्धा सुमन । हामीलाई सराप नदिए राजन । हामी यहाँ भन्दा बढी सराप भोग्न सक्ने अवस्थामा छैनौँ अब । तिम्रो सम्पूर्ण परिवारको आत्माले शान्ति पाओस् । हामी बाँचुन्जेल तिमी र तिम्रो परिवार, तिम्रो योगदान र देशभक्तिलाई सम्झिरहने छौँ, सलाम गरिरहने छौँ ।

प्रतिक्रिया