Updated : नारायणचौर प्रदर्शनका क्रममा दिउँसो गिरफ्तार भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य सांसद दिपक बहादुर सिंह अहिले भरखर रिहा भएका छन् । रिहाइपछि दुवै लाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा स्वागत गरेका छन् । अहिले भोलिको उपत्यका बन्दको बिषयमा छलफल भैरहेको छ।
यस्तो छ कमल थापाको प्रतिक्रिया:
नारायणचौरमा भेला भएर बालुवाटारतर्फ जाने क्रममा धेरै ठूलो संख्यामा प्रहरी तैनाथ गरेर हामीलाई त्यहाँ रोक्ने काम भयो । त्यसपछि हामीले अगाडि बढ्न खोज्दा अकस्मात लाठ्ठिचार्ज गरियो । स्वयं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि लाठ्ठिको प्रहार पर्यो । केही साथि घाइते भए । त्यहाँबीचमा मैले अघि बढ्न खोज्दा, परिस्थितिलाई संयमित बनाएर लैजाने प्रयास गर्दा एकजना प्रहरी जवानले पटकपटक मेरो खुट्टामा, घुँडामा बुटले हिर्काए । त्यसपछि मैले अघि बढ्न खोज्दा र सम्बन्धित प्रहरीलाई उसले मलाई खुट्टामा हान्यो भनेर कराउँदा अचानक मेरो कठालोमा समातेर लडाइयो । केही समय घिसार्दै र पछि हात र खुट्टा समाएर प्रहरीको भ्यानमा लगेर जिल्ला प्रहरी परिसरमा राखियो ।
वास्तवमा गत जेठ १५ गतेदेखि आन्दोलन सुरु भएदेखि नै हामीले घोषित रुपमा नै शान्तिपूर्ण रुपमा आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यही अनुसार अघि बढेका थियौं । हिजो दरबारमार्गमा निषेधित क्षेत्र घोषित गरेपछि हामीले त्यो निषेधित क्षेत्र तोड्न चाहेनौं । निषेधित क्षेत्र नभएको बालुवाटारमा कार्यक्रम राख्यौं । हिजो जुन ठाउँमा कार्यक्रम गरेका थियौं, आज पनि त्यहीँ कार्यक्रम गर्न खोजेको हो । निषेधित क्षेत्र पनि थिएन । सरकारले जुन किसिमको आज हाम्रो आन्दोलनमाथि दमन गर्यो, बर्बरतापूर्वक र अमानवीय ढंगबाट म आफैंलाई जुन किसिमबाट अभद्र व्यवहार गर्ने, लछारपछार गर्ने र कयौं कार्यकर्ता साथिहरूमाथि भएको आक्रमणको भत्र्सना गर्दछु ।
हाम्रो आन्दोलन रोकिने पनि होइन । सरकारले जति दमन गर्दै जान्छ, स्वाभाविक रुपमा आन्दोलनको उचाइ बढ्दै जान्छ । अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्छौं । मलाई परिसरमा भेट्नका लागि आउनुभएका माननीय सांसद दीपक सिंहलाई मसँग भेटिसकेपछि बाहिर जाँदा नियन्त्रणमा लिएर राखियो ।
एक जना कुनै पार्टीसँग आबद्ध नभएको महिला बैनीलाई पनि पक्राउ गरेर राखिएको थियो । झण्डै ६ ७ घन्टा राखेपछि बिना शर्त रिहा गरिएको छ । यस अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई विशेष रुपमा धन्यवाद दिन चाहन्छु । राप्रपा र राप्रपा नेपालका सबै कार्यकर्ता साथिहरूमा आभार व्यक्त गर्न चाहन्छु ।



संयुक्त जनआन्दोलन समितिले सोमबार (जेठ १९) का लागि काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमार्फत सरकारले आन्दोलनमाथि गरेको दमनको विरोधस्वरूप उपत्यका बन्दको निर्णय गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारको बर्बर दमनले हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ।” आइतबारको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको र राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरूलाई अमानवीय ढंगले नियन्त्रणमा लिएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ। सुवेदीले आन्दोलनमा सहभागी सबै सहयोद्धाहरूलाई आ–आफ्नो टोल, चोक र वस्तीमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै भनेका छन्, “सरकारको निरंकुश व्यवहारको विरोधस्वरूप हामीले जेठ १९ गते काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छौँ।” समितिले बन्द सफल बनाउन जनस्तरबाटै प्रतिरोध र सहभागिताको आग्रह गरेको छ।

राप्रपाको विज्ञप्ति :
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज २०८२ जेठ १८ गते जारी गरेको आदेशमा जेठ १९ गते देखि लागू हुने गरी २ महिनाको लागि बल्खु क्षेत्र, सिफल चौर र कोटेश्वरको आकाशे पुल देखि बालकुमारी क्षेत्रमा मात्र प्रदर्शन गर्न पाउने गरी चक्रपथभित्र र वरपरका सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको विषयमा राप्रपाको गम्भीर आपत्ति रहेको छ । लोकतान्त्रिक सरकारको दुहाई दिने दुई तिहाईको सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको छ। सरकारको यस निर्णय घोर अलोकतान्त्रिक, सर्वसत्तावादी, ग़ैर संवैधानिक र पराजित मानसिकताको उपज रहेको राप्रपाको ठहर छ। सरकारको यस निर्णयबाट शान्तिपूर्वक बिना हातहतियार भेला हुन पाउने, आफ्नो विचार राख्न पाउने र राजनैतिक दलले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको गम्भीर उल्लङ्घन गरेको छ। हामी सरकारको यस कदमको घोर विरोध गर्दछौं, सरकारको यस निर्णय नेपाली जनालाई किमार्थ स्विकार्य छैन। सरकारको उक्त आदेश तत्काल फिर्ता लिन आग्रह गर्दछौं। साथै, सरकारको लोकतन्त्र विरोधी यस निरंकुश कदमको विरुद्धमा उभिन र स्वतन्त्र सुपरिवेक्षण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, लोकतान्त्रिक अगुवा, बुद्धिजीवि, आम सञ्चारमाध्यम र आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछौं ।
राजेन्द्र लिङ्देन
अध्यक्ष
१८ जेठ २०८२

राप्रपाको प्रेस विज्ञप्ति :
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले,
राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाण्डौंमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आज निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति राप्रपा घोर भत्सर्ना गर्दछ ।
प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा.दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ।
राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसंग माग गर्दछ। गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख

प्रतिक्रिया