प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित भएका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित सांसदको संख्या तीन पुगेको छ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित बस्नेतसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिहीबार मुद्दा दायर भएपछि बस्नेतको पद स्वतः निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले मुद्दा दायर भएपछि स्वतः निलम्बन हुन्छ।
मोहनबहादुर बस्नेत (नेपाली कांग्रेस)

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएसँगै पद निलम्बनमा।
रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)

चितवन क्षेत्र नं. २ बाट निर्वाचित, सहकारी बचत रकम हिनामिनामा मुद्दा चलिरहेका कारण निलम्बन।
०८१ पुस ७ मा कास्की जिल्ला अदालतमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी पूरक अभियोग दर्ता। संसद सचिवालयले पुस ८ मा निलम्बन सूचना जारी।
टोपबहादुर रायमाझी (नेकपा एमाले)

अर्घखाँचीबाट निर्वाचित, नक्कली भुटानी शरणार्थी प्रकरणपछि २२ महिनाअघि निलम्बनमा परेका।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ अनुसार तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ थुनामा परेका सांसदहरू स्वतः निलम्बनमा पर्छन्। यस अवधिमा उनीहरू संसदमा कुनै अधिकार वा सुविधा पाउँदैनन्।
लक्ष्मी महतो कोइरी (महोत्तरी–१) ०८० वैशाख १९ मा निलम्बनमा, ०८० पुस ८ मा फुकुवा।
टेकबहादुर गुरुङ (मनाङ) निलम्बन २०८१ वैशाख १२ मा फुकुवा।
प्रतिक्रिया