लुम्बिनीमा २५६९औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानलाई लडाइँ विस्तार नगर्न आग्रह गरेको दाबी गरेका छन्। उनले दुबै मुलुकलाई संयम अपनाउन धन्यवाद दिँदै लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, “हाम्रै छिमेकमा भारत र पाकिस्तानबीच झन्डै हात हालाहालको अवस्था आएको थियो। तर, परिस्थिति लडाइँमा परिणत हुन पाएन। हामीले सुरुदेखि नै विवाद विस्तार हुन नदिन आग्रह गरेका थियौँ। अहिले पनि खचपचको अवस्था कायमै छ तर दुबै मुलुकले लडाइँमा नजाने प्रतिबद्धता जनाएको छ।”

राजाले देशलाई कंगाल बनाएको आरोप
यसअघि काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाए।
प्रधानमन्त्री ओलीले भने, “देशलाई गरिब बनाएर राख्नेहरूले अहिले आएर साथ देउ भन्दैछन्। अचम्म त के भने, देशलाई कंगाल बनाएर ल्याउने यिनीहरू नै हुन्। अहिलेको विकासलाई तथ्यांकले प्रमाणित गर्छ। हामीले देशलाई बस्न लायक र विकसित बनाउनै पर्छ।”
ओलीले नेपाललाई पर्यावरणीय हिसाबले बस्न योग्य बनाउनु पर्नेमा जोड दिंदै भने, “नेपाल हिमाल, पहाडले सुशोभित देवभूमि हो। यस्तो स्वच्छ र पवित्र ठाउँमा फोक्साको व्यापारी कसरी आयो?”
राजावादीको आन्दोलन निस्तेज पार्न प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूले घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
वाईसीएल नेपालको कर्णाली प्रदेशको सम्मेलनमा बोल्दै प्रचण्डले भने, “पूर्वपञ्चहरूले जेठ १५ देखि आन्दोलन गर्ने घोषणा गरेका छन्। उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्न गाउँ-गाउँमा पुग्नुपर्छ।”
प्रचण्डले वर्तमान सरकारले जनतामा निराशा ल्याएको आरोप लगाउँदै भने, “सरकारको गलत क्रियाकलापका कारण राजावादीहरूले त्यसको फाइदा उठाउन खोजेका छन्। यिनीहरूको दुस्साहसलाई देशभरका जनताले प्रतिवाद गर्नैपर्छ।”
प्रचण्डले राजावादीहरूको आन्दोलनलाई देशको प्रगतिको विरुद्ध रहेको भन्दै उनीहरूको षड्यन्त्रलाई परास्त गर्न जनतालाई संगठित हुन आग्रह गरे।
प्रतिक्रिया