पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा कारबाही सुरु गरेको घोषणा गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिमा भारतको आक्रमणको प्रत्युत्तरस्वरूप ‘बुनयान-उल-मरसूस’ नामक जवाफी कारबाही सुरु गरिएको उल्लेख गरिएको छ।
अलजजिराका अनुसार, पाकिस्तानी सेनाले भारतको उधमपुर सहरस्थित वायुसेना बेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको दाबी गरेको छ। साथै, पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि प्रभावित भएको बताएका छन्।

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डामा मिसाइल आक्रमण गरे पनि सबै संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन्। उनले रावलपिन्डीको नूर खान एयरबेस, चकवालको मुरीद एयरबेस र झांगको रफीकी एयरबेसमा आक्रमण भएको उल्लेख गरे।
शरीफले भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तानसम्म पुगेको दाबी गरे पनि यसबारे कुनै प्रमाण भने प्रस्तुत गर्न सकेनन्। तर, पाकिस्तानसँग प्रमाण रहेको उनले दाबी गरे।
भारतको रक्षा मन्त्रालयले बारामुलादेखि भुजसम्मका २६ स्थानमा शंकास्पद सशस्त्र ड्रोन देखिएको बताएको छ। यी ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूलाई क्षति पुर्याउन सक्ने सम्भावना मन्त्रालयले औंल्याएको छ।
मन्त्रालयका अनुसार यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका स्थानहरूमा देखिएका हुन्। फिरोजपुरमा एक ड्रोनले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको र यसबाट धेरै स्थानीय बासिन्दाहरू गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको र सुरक्षा निकायहरूले घटनास्थलको अनुसन्धान गरिरहेको मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ, “भारतीय सशस्त्र बलहरू पूर्ण सतर्क अवस्थामा छन् र यस्ता सबै हवाई खतराहरूलाई काउन्टर-ड्रोन सिस्टमबाट सामना गरिँदैछ।”
‘बुनयान-उल-मरसूस’ इस्लामिक सन्दर्भमा एकता, अनुशासन र दृढताको प्रतीक हो। यो नाम कुरानबाट लिइएको हो र राष्ट्रको सुरक्षाका लागि सेनाको एकता, शक्ति र अनुशासनलाई जोड दिन्छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाहका अनुसार, यसको अर्थ ‘सिसाबाट बनेको बलियो पर्खाल’ हो, जसले सुरक्षाको प्रतीकको रूपमा प्रस्तुत गर्छ।
भारत र पाकिस्तानबीचको पछिल्लो तनावले दुई देशबीचको सम्बन्धमा थप तनाव पैदा गरेको छ। दुबै देशले आफ्ना-आफ्ना सुरक्षा रणनीतिहरू सुदृढ पारिरहेका छन् र सीमा क्षेत्रमा कडा निगरानी राखिएको छ।
भारत-प्रशासित कश्मीरमा रहेका आफ्ना तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन हमला भएको भारतीय सेनाले आरोप लगाएको छ। तर पाकिस्तानले भने उक्त आरोपको कडा खण्डन गरेको छ।
भारत–पाकिस्तान तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ ।
भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । यस नोटममा मे १५ बिहान ५ः२९ बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ ।
उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, हिरासर, सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाईका लागि नोटम जारी गरिएको छ ।
एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू मे १५ बिहान ५ः२९ बजेसम्म रद्ध गरिएको जनाएको छ ।
भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिदेशालय (एडीजी पीआई)का अनुसार, मे ८ को मध्यरातपछि पाकिस्तानी सेनाले पश्चिमी सीमामा हमला गरेको थियो। जम्मू, उधमपुर र पन्जाब राज्यको पठानकोटमा रहेका भारतीय सैन्य शिविरमा पाकिस्तानी फौजले गरेको हमलाको प्रयासलाई भारतीय सेनाले विफल बनाएको दाबी गरेको छ।
सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सेयर गर्दै भनेको छ, “पाकिस्तानी सशस्त्र फौजहरूले ८ र ९ मे २०२५ को आधा राति पूरै पश्चिमी सीमामा ड्रोन र अन्य अस्त्र प्रयोग गर्दै हमला गरे। पाकिस्तानी सैनिकहरूले जम्मू तथा कश्मीरमा नियन्त्रण रेखामा कैयौँ पटक युद्धविराम उल्लङ्घन गरे।”
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले भने भारतीय आरोपलाई अस्वीकार गर्दै आफूहरू जिम्मेवार नभएको स्पष्ट पारे। बीबीसीसँगको अन्तर्वार्तामा उनले भने, “हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ। हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ।”
बिहीवार साँझ जम्मू नगरमा विस्फोट भएको विवरण पनि आएको छ। उक्त समयमा बिजुली नभएको कारण थप जानकारी प्राप्त गर्न कठिन भएको बताइएको छ।
भारत र पाकिस्तानबीच पछिल्लो समय कश्मीर मुद्दालाई लिएर तनाव चुलिएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमणको आरोप लगाइरहे पनि सत्यतथ्यबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
विश्लेषकहरूका अनुसार, दुवै पक्षले एकअर्काको हवाई क्षेत्र प्रयोगमा रोक लगाइरहेकाले यसले क्षेत्रीय सुरक्षामा थप जटिलता ल्याउन सक्छ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले आफ्नो भूमि कुनै पनि शक्तिले छिमेकीविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
शुक्रबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्तिको पक्षमा रहेको र सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान राख्ने बताएका छन्। ओलीले भने, “नेपालले पहिल्यै आतंकवादी हमलाको भर्त्सना गरेको छ र कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध भूमि प्रयोग गर्न नदिनेछ।”
भारत–पाकिस्तान तनावबीच विभिन्न तथ्यहरू सार्वजनिक भइरहेका बेला राजदूत श्रीवास्तवले पछिल्लो अवस्थाबारे जानकारी गराउन बालुवाटार पुगेका थिए। भेटका क्रममा उनले पहलगाम हमलाको जवाफमा भारतले आतंकवादविरुद्ध कारबाही गरेको स्पष्ट पारे।
श्रीवास्तवले भने, “यो कारबाही कुनै देशविरुद्ध होइन, आतंकवादविरुद्ध मात्र लक्षित छ। प्रधानमन्त्री ओलीसँग भेटमा यही कुरा राखें र नेपालले आतंकवादविरुद्धको अडानप्रति धन्यवाद व्यक्त गरेँ।”
नेपालको परराष्ट्र मन्त्रालयको वक्तव्यभारतले पाकिस्तानमा हवाई आक्रमण गरेको दुई दिनपछि नेपालको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग एकजुट रहेको बताएको छ। वक्तव्यमा भनिएको छ, “पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गहिरो चिन्ता व्यक्त गर्दछ। हामी यी दुई देशबीचको तनाव चाँडै अन्त्य हुने अपेक्षा गर्दछौं।”
भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालबाट विशेष गरी पश्चिमतर्फ उड्ने कैयौँ विमानहरूलाई समय र खर्चमा वृद्धि भएको छ। दुबै देशले एकअर्काका विमानसेवाविरुद्ध आफ्नो हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लगाएपछि विमानहरूले वैकल्पिक घुमाउरो मार्ग अपनाउन बाध्य भएका छन्।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण क्षेप्यास्त्र तथा अन्य जोखिमहरूबाट जोगिन कैयौँ अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पाकिस्तानको आकाशमार्ग छलेर उडान भरिरहेका छन्। यसले गर्दा सामान्यतया नेपालको आकाश छाडेपछि भारत र पाकिस्तानमाथि हुँदै उड्ने विमानसेवाहरूलाई जोखिमपूर्ण स्थिति सामना गर्नुपरेको छ।
नेपालमा पश्चिमतिरबाट (खाडी क्षेत्रबाट) आउने विमानहरूले इरान, इराक, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै सिमराको आकाशमार्ग प्रयोग गर्थे। पश्चिमतिर जाँदा चाहिँ सिमरा, दिल्ली, कराची, अफगानिस्तान हुँदै महेन्द्रनगरको मार्ग अपनाइन्थ्यो।
तर, भारत र पाकिस्तानले हवाई क्षेत्रमा प्रतिबन्ध लगाएपछि यी मार्गहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, “अहिले पाकिस्तानको आकाश भएर आउनेजाने विमानहरूले त्यो मार्ग प्रयोग गरेका छैनन्।”
वैकल्पिक मार्ग अपनाउँदा उडान समयमा वृद्धि हुनुका साथै ईन्धन खर्च पनि बढेको छ। यसले यात्रुहरूलाई पनि प्रत्यक्ष असर परेको छ। जानकारहरूका अनुसार, यो समस्या दीर्घकालीन भए नेपालका अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिकूल प्रभाव पर्न सक्नेछ।
भारत र पाकिस्तानबीचको तनाव निरन्तर बढ्दो क्रममा छ, जसले पाकिस्तानको आर्थिक अवस्था झन् कमजोर बनाउन सक्ने संकेत देखिएको छ। यो संकट त्यति बेला आएको छ, जब पाकिस्तानको अर्थतन्त्र गहिरो मन्दीबाट निस्कन संघर्षरत थियो।
पाकिस्तानको अर्थतन्त्रमा आयात बिलको वृद्धि, विदेशी मुद्रा सञ्चिति घट्दै जानु र तीव्र मुद्रास्फीति मुख्य चुनौती बनेका छन्। सन् २०२३ मा यी समस्याहरूका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी)मा मुस्किलले थोरै मात्र वृद्धि भएको थियो।
एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपणअनुसार २०२४ मा पाकिस्तानको जीडीपी वृद्धि २.५ प्रतिशतमा रहनेछ भने २०२५ मा यो ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। तर, भारतसँगको तनावपूर्ण सम्बन्धले आर्थिक वृद्धिमा थप अवरोध सिर्जना गर्ने सम्भावना बढेको छ।
एडीबीले पाकिस्तानले आर्थिक सुधारका उपायहरू अवलम्बन गरेमा वृद्धि सम्भव हुने बताएको थियो। स्थिर मुद्रा बजार, निजी क्षेत्रमा लगानीको प्रवर्द्धन र आर्थिक संरचनामा सुधारका प्रयासहरू हुँदै थिए। तर, बदलिएको सुरक्षा परिस्थितिका कारण यी आर्थिक प्रक्षेपणहरू अस्थिर देखिएका छन्।
पाकिस्तानी रुपैयाँ डलरको तुलनामा लगातार अवमूल्यन हुँदै गएको छ। सेयर बजारमा लगानीकर्ताहरू पनि अस्थिरताका कारण चिन्तित छन्। युद्धको सम्भावना देखेर लगानीकर्ताहरू नयाँ परियोजनामा लगानी गर्न हिचकिचाइरहेका छन्।
यदि दुई देशबीचको तनाव अझै चुलियो भने पाकिस्तानको वित्तीय सन्तुलन सुधार गर्ने प्रयासमा थप समस्या आउन सक्छ। क्रेडिट रेटिङ एजेन्सी मुडीजले यसले पाकिस्तानको आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्ने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि पाकिस्तानको आर्थिक अवस्थाबारे समीक्षा बैठक बोलाएको छ। सात अर्ब डलरको बेलआउट प्याकेजको अर्को किस्ता दिने वा नदिनेबारे निर्णय हुन बाँकी छ। वर्तमान तनावले आईएमएफको निर्णयलाई पनि प्रभावित गर्न सक्छ।
भारत–पाकिस्तानबीचको तनावले पाकिस्तानको अर्थतन्त्रमा थप जोखिम सिर्जना गरेको छ। आर्थिक सुधारका प्रयासमा यो नयाँ संकट बाधक बन्न सक्छ। पाकिस्तानले आर्थिक स्थायित्वका लागि अन्तर्राष्ट्रिय सहयोगको आशा गरे पनि बदलिँदो राजनीतिक र सुरक्षा अवस्थाले यो चुनौतीपूर्ण देखिएको छ।
प्रतिक्रिया